शेयेर गर्नुहोस
पदम राज जैशी, भजनी ३१ भदौ /
भजनी नगरपालिका वडा नं. ५ पगियाप्रसारमा मोहना नदीको कटान सुरु गरेपछि स्थानीयले जनश्रमदान मार्फत जैविक तटबन्धनको काम थालेका छन् ।
बर्सेनि बाढी र डुवानको जोखिममा झेल्दै आएको सो क्षेत्रमा यसवर्ष पुनः नदीले कटान गर्न थालेपछि भजनी नगरपालिकाको सहयोगमा स्थानीय जनश्रमदानबाट जैविक तटबन्धनको काम सुरु भएको हो । उसो त भजनी नगरपालिकामा बर्सेनि जनश्रमदानबाट जैविक तटबन्धनको काम हरेक वर्ष हुने गरेको छ । यसवर्ष मात्रै मोहना नदीले ले सो क्षेत्रमा एक किलोमीटर भन्दा बढी कटान गरेको स्थानीयको भनाइ छ । नदीले कटान गरेपछि त्यहाँ रहेका झण्डै दुई हजार घरधुरी उच्च जोखिममा रहेका छन् भने झण्डै एक हजार बिघा धान खेती बगर बन्ने चिन्ता बढेको छ ।
हाल अल्पकालीन रोकथामका लागि नगरपालिकाले दुई हजार बोरा र जेसेभी उपलब्ध गराएपछि स्थानीय नागरिक त सशस्त्र प्रहरीको संयुक्त प्रयासबाट नदी कटान रोक्न जैविक तटबन्धनको काम थालिएको छ । “नदीले कटान गर्दै जाँदा वस्ती नै जोखिममा परेपछि तत्काल रोकथामको प्रयास गरेका छौँ ।” वडा नं. ५ का वडा अध्यक्ष केशव बहादुर बुढाले भने, “दीर्घकालीन समाधानका लागि नगरपालिकाको स्रोतले सक्दैन । संघ र प्रदेश हाम्रो समस्या सुन्दैन र बुझ्दैन ।”
कैयौंपटक संघ र प्रदेश सरकारलाई नदी नियन्त्रणको लागि लिखित, मौखिक आग्रह गर्दा पनि सुनुवाइ नभएको वडा अध्यक्ष बुढाको गुनासो छ । “हरेक वर्ष बजेट बन्ने समयमा योजनाको फाइल बोकेर संघ र प्रदेश सरकारका मन्त्रालय धाउने काम कैयौंपटक भएको छ ।” उनले भने, “त्यहाँ पुग्दा आश्वासन सधैं पाइन्छ, तर बजेट आएपछि बजेटमा कहिल्यै देख्न पाइँदैन ।” वडा अध्यक्ष बुढाले चालू आर्थिक वर्षमा महाकाली सिँचाइ परियोजना अन्तर्गत बजेट विनियोजन भएर टेन्डर भएको अपुष्ट खबर भने सुन्नमा आएको बताएका छन् ।
नगरपालिकाका नगर प्रमुख केवल चौधरीले भजनीको प्रमुख समस्या नै बाढी, डुवान र कटान रहेको बताएका छन् । उनले बर्सेनि हजारौं बिघा खेतीयोग्य जमिन नदी कटानले बगर बन्दै गएको उल्लेख गर्दै हजारौं परिवार बाढी र डुवानको उच्च जोखिममा रहने गरेको बताएका छन् । “चारैतिरबाट नदीले घेरिएको भजनीको प्रमुख समस्या नै बाढी, डुवान र कटान हो ।” उनले भने, “यो समस्या समाधान भएको दिन भजनी नगरपालिकाको नयाँ अध्याय सुरु हुनेछ ।”
गतवर्ष मात्रै नगरपालिकाको वडा नं. ४ स्थित कान्द्रा नदीमा डेढ किलोमीटर जैविक तटबन्ध गरिएको थियो । त्यसमध्ये एक किलोमीटर स्थानीयले जनश्रमदान मार्फत तटबन्ध गरेका थिए । यसवर्ष वर्षा कम हुँदा नदीको बहाव विगतका वर्षहरूमा जस्तो नबढेका कारण अहिलेसम्म जोखिम देखिएको छैन ।










