शेयेर गर्नुहोस
टीकापुर १४ असोज /
वीरेन्द्र बिद्या मन्दिर क्याम्पस व्यवस्थापन समितिको नयाँ निर्वाचित पदाधिकारीको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष धनन्जय रिमाल फकिर सहितका पदाधिकारीहरुको पदस्थापन तथा सपथ ग्रामिण कार्यक्रम मंगलबार सम्पन्न भएको हो । कार्यक्रमम वीरेन्द्र बिद्या मन्दिर सार्वजनिक शैक्षिक गुठीका गुठीयार प्रमुख नवराज रावलले एउटा गति लिएको क्याम्पस पुनः खस्किँदो अवस्थामा पुग्ने हो कि भन्ने ठूलो चुनौती रहेको उल्लेख गर्दै त्यसमा गम्भीर भएर क्याम्पस प्रशासन र व्यवस्थापन समितिलाई दृढताका साथ लाग्न आग्रह गरेका छन् ।
क्याम्पस व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष महेन्द्र सिंह बमले संरचनागत रुपमा क्याम्पसलाई आवश्यक संरचना अभाव नरहेको बताउँदै बिद्यार्थी संख्या र शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने औल्याएका छन् । क्याम्पसका पुर्व अध्यक्ष ललित थापा शिवले पदकै लागि मरिहत्ते गर्नुभन्दा पाएको पदको गरिमा बढाउन संघसंस्थाको हितमा हुने काम गर्न आग्रह गरेका छन् । क्याम्पस व्यवस्थापन समितिका निवर्तमान उपाध्यक्ष दयाराम सञ्ज्यालले क्याम्पसको हितका लागि जुनसुकै बेला पनि आफुले सक्ने सहयोग गर्न तयार रहेको बताउँदै त्यसका लागि समन्वय गर्न क्याम्पस प्रशासन र व्यवस्थापन समितिलाई आग्रह गरेका छन् ।
क्याम्पस व्यवस्थापन समितिका निवर्तमान सदस्य जगदिश्वर पण्डितले क्याम्पसको प्रणालीलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताएका छन् । क्याम्पस प्रमुख हर्कबहादुर भण्डारीले क्याम्पसको दिगो चुनौती बिद्यार्थी संख्यामा देखिएको बताएका छन् । उनले अधिकांश बिद्यार्थीहरु प्रवीणता प्रमाणपत्र तह उतिर्ण गरेर विदेश पलायन हुने परिपाटीले क्याम्पसमा विद्यार्थी पाउन मुस्किल भएको उल्लेख गरे ।
निर्वाचित व्यवस्थापन समिति अध्यक्ष रिमालले क्याम्पसको समग्र विकास र शैक्षिक गुणस्तरका विषयमा सबैसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । उनले शैक्षिक गुणस्तरका विषयमा कसैसँग बार्गेनिङ नहुने धारणा राखे । व्यवस्थापन समितिको पहिलो बैठकले वीरेन्द्र बहादुर साउँदलाई उपाध्यक्षमा मनोनीत गरेको छ ।










