चार महिना सकियो : योजनाको ठेक्का प्रक्रिया नै सुरु भएन

शेयेर गर्नुहोस


टीकापुर ११ मंसिर/
चालू आर्थिक वर्षको साढे चार महिना बित्नै लाग्दा पनि टीकापुर नगरपालिकामा चालू आर्थिक वर्षका लागि विनियोजन भएको विकास बजेट कार्यान्वयनमा आउन सकेको छैन ।
आर्थिक वर्षको साउन महिनाबाटै कार्यान्वयन हुनुपर्ने बजेट नगरपालिकाले मंसिरसम्म कार्यान्वयनमा ल्याउन नसकेको हो । बजेट विवाद देखि प्रमुख प्रशासकीय अधिकृतको समस्याबाट गुज्रिएको नगरपालिकाले पहिलो चौमासिकमा एउटा आयोजनाको समेत ठेक्का प्रक्रिया अगाडि बढाउन सकेको छैन । “अहिलेसम्म कुनै आयोजनाको ठेक्का प्रक्रिया नै सुरु भएको छैन ।” योजना शाखा प्रमुख इन्जिनियर राजेन्द्र रावलले भने, “प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रक्रिया अगाडि बढ्न नसकेको हो ।”
बर्सेनि विकासका काममा ढिलाइ गर्दै आएको टीकापुर नगरपालिकामा गत आर्थिक वर्ष पनि प्रमुख प्रशासकीय अधिकृतकै समस्याले कार्तिक मसान्तसम्म विकास आयोजनाको कुनै प्रक्रिया अगाडि बढेको थिएन । मंसिर १ गते सुमन धिताल नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएपछि नगरपालिकाले मंसिर ४ गते आयोजनाको पहिलो ठेक्का सुचना जारी गरेको थियो । यसवर्ष मंसिर ११ गतेसम्म पनि विकास आयोजना कार्यान्वयनमा कुनै चालचुल नगरपालिकाको छैन ।
नगरपालिकामा चालू आर्थिक वर्षमा झण्डै २५ करोड विकास बजेट छ । एउटा आयोजनाको ठेक्का प्रक्रिया पुरा गर्न डेढ महिनादेखि दुई महिनासम्म लाग्ने इन्जिनियर रावलको भनाई छ । उनका अनुसार मंसिरमै ठेक्का भए आयोजनाको कार्यान्वयन अब फागुनमा हुनेछ । “ठेक्का सुचना देखि सम्झौतासम्म डेढ देखि दुई महिना लाग्छ ।” उनले भने, “त्यसो गर्दा पनि बजेट र योजना कार्यान्वयन फागुनबाट मात्रै हुने देखिन्छ ।”
फागुनबाट योजना कार्यान्वयन हुँदा चार महिनामा काम पाएको निकायले चार महिनामा काम सम्पन्न गर्नुपर्ने छ । चार महिनामा २५ करोडको काम सम्पन्न गर्न नसक्ने स्थानीय बताउँछन् । “चार महिनासम्म काम नै भएको छैन । दुईतीन महिना प्रक्रियामै लाग्छ । चारपाँच महिनामा के काम होला ?” स्थानीय चक्र बोहराले भने, “छोटो समयमा काम सम्पन्न गर्दा हरेक वर्ष कामको गुणस्तरमा प्रश्न उठ्दै आएको हो ।”
उसो त नगरपालिकाले चालू आर्थिक वर्षको साउनमै योजनाको ठेक्का प्रक्रिया सुरु गर्ने तयारी गरेको थियो । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत धितालको सरुवा भएपछि त्यो काम अगाडि बढ्न नसकेको इन्जिनियर रावल बताउँछन् । विवादित बजेटका कारण लम्बिएको समय प्राविधिक समस्याले पनि थप बढाएको उनको भनाइ छ । “दशै र तिहारको बीचमा ठेक्का सुचना जारी गर्ने भनिएको थियो । वेबसाईटमा समस्या आएपछि कागजी प्रक्रियाबाट विवाद हुने देखिएपछि काम गर्न सकिएन ।” उनले भने, “तिहार पछि हाकिम आउनु भएको छैन, उहाँ आएपछि प्रक्रिया अगाडि बढ्छ ।”
नगरपालिकामा अहिले पनि प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोला बिदामा छन् । परिक्षा बिदामा रहेकी उनी तिहार पछि कार्यालयमा हाजिर भएकी छैनन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाका महत्त्वपूर्ण कामकाज अहिले पनि ठप्प छन् । कर्मचारी फुर्सदिला छन् । कैयौं कर्मचारी हाजिर गरेर आफ्नो व्यक्तिगत काममा पनि व्यस्त हुने गरेको पनि देखिन्छ । प्रमुख प्रशासकीय अधिकृत बास्तोलाले पनि नगरपालिकामा बस्न मन नगरेको स्रोत बताउँछ । स्रोतका अनुसार उनले सरुवाको लागि मन्त्रालयसँग समन्वय गरिरहेकी छन् । त्यसो हुँदा नगरपालिकाको बजेट कार्यान्वयनमा झनै समस्या आउने देखिन्छ । उता स्थानीय तहको निर्वाचनले पनि बजेट कार्यान्वयन प्रभावित हुनसक्ने सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *