अस्पतालको व्यवहारले नागरिक दिक्क

शेयेर गर्नुहोस

 
टीकापुर २६ असार/
सधैं विवादमा रहने टीकापुर अस्पतालका प्रयोगशाला इञ्चार्ज उमेश बजगाईमाथी अस्पतालमा कार्यरत फिजियोथेरापिष्ट अनिल तिवारीले आक्रमण गरेपछि झन चर्चामा आएको छ । मंगलबार फिजियोथेरापिष्ट तिवारीले प्रयोगशाला इञ्चार्ज बजगाईंमाथि अस्पताल प्रशासन कक्षमै कुटपिट गरेको भिडियो बुधबार सार्वजनिक भएपछि अहिले त्यसको अनुसन्धान सुरु गरिएको छ । तिवारीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ भने, उनीमाथि बजगाईले मुद्दा दर्ता गराइसकेका छन् । उता अस्पताल विकास समितिले पनि सदस्य सुरेश रिमालको संयोजकत्वमा छानबिन समिति बनाएर अनुसन्धान अगाडि बढाएको छ । अस्पतालमा बनेको छानबिन समितिले घटनाको कारण सहित सिसिटिभी फुटेज सार्वजनिक भएको विषयलाई लिएर छानबिन गर्न जनाएको छ । “बुधबारदेखिको एक हप्तामा प्रतिवेदन सार्वजनिक गर्ने गरी काम सुरु भएको छ ।” संयोजक रिमालले भने, “अनुसन्धान नगरेर अहिले नै यो भएको हो भन्न सकिन्न ।”
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर भण्डारीले अस्पताल प्रशासनको कमजोरी देखाएका छन् । उनले कुटपिटको घटना अस्पताल व्यवस्थापन समितिमा नभई कानुनी प्रक्रियामा गैसकेकोले त्यसको फैसला कानुनले गर्ने बताए । “कुटपिटको घटना कानुनी रुपमा अगाडि गैसक्यो । उनले भने, “अन्य अस्पताल भित्रका केही कम्जोर पक्षको अध्ययन गर्न समिति बनेको छ, त्यसको प्रतिवेदनले बाँकी कुरा ल्याउला ।”
हुन त अस्पतालमा केही चिकित्सक कर्मचारीको व्यवहारले सेवाग्राही निकै हैरान छन् । सर्वसुलभ रुपमा पाउनुपर्ने सेवा सेवाग्राहीले पाउन नसकेको गुनासो पटकपटक आउने गरेको छ । फिजियोथेरापिष्ट तिवारी र प्रयोगशाला इन्चार्ज बजगाई प्रती पनि समुदायको धारणा सकारात्मक छैन । अझै तिवारी सेवाग्राही मात्रै नभई स्थानीय नागरिकहरूका अगाडि निकै आलोचित बनेका छन् । तिवारीले सेवाग्राही माथी गर्ने व्यवहार माथी प्रश्न उठ्दा बजगाईले नातागोतालाई अस्पतालमा ज्यालादारी कर्मचारीको रुपमा राखेको कुरा चर्चामा छ । “सर्वसुलभ सेवा दिने कुरामा कहिल्यै कोहि जिम्मेवार छैनन् ।” स्थानीय संजय विष्टले भने, “अझ तिवारीको व्यवहार निकै तुच्छ छ ।”
उसो त अस्पताल प्रशासनमा निकै भद्रगोल छ । त्यहाँ धेरै कुरा भगवान भरोसा चलिरहेका छन् । खासगरी प्रशासन प्रमुखको असक्षमताको पराकाष्ठा मंगलबारको कुटपिटलाई लिन सकिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भण्डारी स्वयम बताउँछन् । अस्पतालमा लामो समयदेखि प्रशासन प्रमुखको जिम्मेवारीमा मेडिकल सुपरिटेन्डेन्ट डा. रेम कुमार राई छन् । उनको कार्यालय समय भनेको बिहान ९ बजेदेखि साझ ५ बजेसम्म मात्रै हो । त्यो पनि उनलाई प्रशासनमा भेट्न मुस्किल हुन्छ । अस्पताल पुगेपछि ओपिडी पुगेर कैयौं दिन प्रशासन शाखा नगएरै निजि अस्पतालका बिरामीको उपचारमा जान हतार हुन्छ । “कार्यालय समयमा अस्पताल पुग्ने कुरा ठूलो भएन । प्रशासन प्रमुख भएपछि अन्य समय पनि अस्पतालमा खट्नुपर्ने हो ।” अध्यक्ष भन्छन्, “कार्यालय समय सकियो भने निजिमा भाग्न हतार हुन्छ ।”
नेपालको कानुन र प्रचलित सरकारी अस्पताल व्यवस्थापनको आधारमा हेर्दा, मेडिकल सुपरिटेन्डेन्ट केवल कार्यालय समय (जस्तै बिहान ९ देखि साँझ ५ बजेसम्म) मात्र जिम्मेवार हुने पद होइन । यो अस्पतालको प्रमुख कार्यकारी तथा प्रशासनिक प्रमुखको जिम्मेवारी भएको पद हो । प्रशासन प्रमुखले कार्यालय समयमा नियमित प्रशासन सञ्चालन गर्ने तर अस्पताल २४सै घण्टा सञ्चालन हुने भएकाले आकस्मिक अवस्था, गम्भीर घटना, जनशक्ति व्यवस्थापन, कानुनी विवाद, विपद्, वा अन्य विशेष परिस्थितिमा कार्यालय समयबाहेक पनि आवश्यक निर्णय र समन्वय गर्नुपर्ने जिम्मेवारी हुन्छ ।
चिकित्सकीय जिम्मेवारी यदि मेडिकल सुपरिटेन्डेन्ट चिकित्सक पनि हुन् भने, प्रशासनिक जिम्मेवारीसँगै आवश्यकताअनुसार चिकित्सकीय सेवा पनि दिन सक्छन् । विशेषगरी आकस्मिक अवस्था, जटिल बिरामी, विशेषज्ञको आवश्यकता, वा अस्पतालको आन्तरिक व्यवस्थाअनुसार कार्यालय समयबाहेक पनि चिकित्सकीय संलग्नता आवश्यक पर्न सक्छ । धेरै सरकारी अस्पतालमा नियमित ओपीडी वा वार्ड राउन्डको समय तोकिन्छ, तर त्यसबाहेक अन-कल वा आकस्मिक सेवामा पनि जिम्मेवारी रहन सक्नुपर्छ । प्रशासन प्रमुखका लागि कार्यालय समयमै मात्र सीमित हुँदैन । डा.राईको भुमिका भने मेडिकल सुपरिटेन्डेन्टको नभई एउटा ड्युटीमा खटिएको चिकित्सकको जति मात्रै देखिएको युवा अगुवा सरोज चपाईले जानकारी दिए । डा. राई टीकापुर अस्पतालमा लामो समयदेखि काजमा काम गरिरहेका छन् ।
उता अस्पतालमा कार्यरत चिकित्सक पनि कार्यालय समयमा प्रायः अस्पतालमा भेटिँदैनन । सरकारले ९ बजेबाट कार्यालय समय कायम गरेको छ । अस्पतालमा ओपिडी सेवा ८ बजेबाट सुरु हुन्छ । अस्पतालमा पुग्ने चिकित्सकलाई कार्यालय समयमा आउन हतार नभए पनि कार्यालय समय सकिएपछि भने जान निकै हतार हुन्छ । बिहिवार हामीले अस्पताल प्रशासनसँग मागेको हाजिरी विवरणमा चिकित्सक समयमा उपस्थित देखिए पनि कार्यकक्षमा भने अधिकांश चिकित्सक थिएनन् । “चिकित्सक आएर राउन्डमा जानुहुन्छ, त्यहीँ भएर ओपिडी पुग्न समय लागेको हुनसक्छ ।” प्रशासनमा कार्यरत उपेन्द्र शाहले भने, “नभए केही चिकित्सक कहिलेकाही समयमा अस्पताल नपुगे पनि अधिकांश समयमा नै पुग्नुहुन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *