शेयेर गर्नुहोस
टीकापुर २२ असार /
टीकापुर प्रादेशिक अस्पतालको सार्वजनिक सुनुवाइ कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा अस्पताल सञ्चालन समितिका पदाधिकारी, मेडिकल सुपरिटेन्डेन्ट डा. रेमकुमार राई, विभिन्न शाखाका प्रमुख, जनप्रतिनिधि, सञ्चारकर्मी तथा सेवाग्राहीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा मेडिकल सुपरिटेन्डेन्ट डा. रेमकुमार राईले अस्पतालबाट प्रवाह भइरहेका स्वास्थ्य सेवा, उपलब्ध जनशक्ति, भौतिक पूर्वाधार, सेवा विस्तारका प्रयास तथा अस्पतालको वर्तमान अवस्था बारे विस्तृत जानकारी गराएका थिए । उनले सीमित स्रोतसाधनका बाबजुद नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल प्रतिबद्ध रहेको बतएका छन् ।
सार्वजनिक सुनुवाइका क्रममा सहभागीहरूले अस्पतालको सेवा प्रवाह, औषधि उपलब्धता, विशेषज्ञ चिकित्सकको व्यवस्था, सरसफाइ, उपकरण व्यवस्थापन, प्रयोगशाला सेवा, बिरामीमैत्री वातावरण तथा अन्य सेवासँग सम्बन्धित जिज्ञासा, गुनासा र सुझाव राखेका थिए । स्थानीय प्रकाश खड्काले पछिल्लो समय टीकापुर अस्पताल मा चिकित्सकको संख्या बढ्दै गएको र सेवा विस्तारमा सकारात्मक सुधार देखिएको उल्लेख गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन आग्रह गरेका छन् । साथै विशेषज्ञ सेवा, आवश्यक उपकरण, औषधिको नियमित उपलब्धता तथा कर्मचारी व्यवस्थापनमा थप सुधार गर्नुपर्ने सुझाव दिएका छन् ।
स्थानीय हरिसरा बुढाले अपांगता भएका व्यक्तिलाई अस्पतालमा सपाङ्ग सरह लामो समयसम्म लाईनमा बस्नुपर्दा समस्या भएको बताउँदै अस्पताललाई अपांगमैत्री बनाउन जोड दिएका छन् । उनले अस्पतालले आफूहरूलाई अपांगले पाउनुपर्ने सेवा सुविधा नपाएको गुनासो गरिन । स्थानीय महोनराज खनालले अस्पतालले पहिलो पटक सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गर्दै जनताको सहभता बढाउनु पर्नेमा जोड दिएका छन् । उनले अस्पतालमा कहिलेकाहीँ सामान्य औषधी समेत नपाईनु दुखद् भएको बताउँदै ल्याबको रिपोर्ट दिन अस्पतालले ढिलो गर्ने गरेको भन्दै सुधार गर्न आग्रह गरेका छन्
सार्वजनिक सुनुवाइ कार्यक्रम अम्मर रिमाल, नवीन अधिकारी , सीता चौधरी लगायतका सहभागीहरूले अस्पतालले सुधारगर्नुपर्ने सेवासुविधाको बारेमा सुझाव समेत दिएका थिए । कार्यक्रममा उठेका प्रश्न तथा गुनासाहरूको अस्पताल व्यवस्थापन पक्षले जवाफ दिँदै प्राप्त सुझाव लाई आगामी कार्ययोजनामा समेटेर सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र सेवाग्राही मैत्री बनाइने प्रतिबद्धता जनाएको छ ।
सार्वजनिक सुनुवाइले अस्पताल र सेवाग्राहीबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि नागरिकका सुझावलाई प्राथमिकता का साथ कार्यान्वयन गर्ने विश्वास व्यक्त गरिएको थियो ।
सुदूरपश्चिम प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय , प्रदेश तथा स्थानीय शासन सवललीकरण कार्यक्रम , प्रादेशीक कार्यक्रम सहयोग एकाईको सहकार्य तथा मिडिया नेपाल धनगढी कैलालीको सहजीकरणमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण पत्रकार भोजराज जोशीले गरेका थिए ।










