शेयेर गर्नुहोस
टीकापुर १८ फागुन /
आज राती १२ बजेबाट निर्वाचन सम्बन्धि मौन अवधी सुरु हुँदै छ ।
फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारले प्रचारप्रसार तथा मतदातासँग प्रत्यक्ष भोट माग्न पाउने समय आज राती १२ बजेबाट सकिँदै छ । त्यसपछि उम्मेदवारले मतदातासँग प्रत्यक्ष रुपमा भोट माग्न पाउने छैनन् । सामाजिक सञ्जाल मार्फत पनि कसैले कसैसँग भोट माग्न वा चुनावी प्रचारप्रसार गर्न पाउने छैन । निर्वाचनका लागि आवश्यक तयारी पूरा गर्ने काम भैरहेको छ । मतदान स्थलमा आजबाट कर्मचारीहरुको खटनपटन सुरु हुन्छ । देशले फागुन २१ गते नयाँ जनमत प्राप्त गर्दै छ । देश निर्वाचनमय बनेको छ । हरेक उम्मेदवारले आफुलाई बलियो रुपमा प्रस्तुत गर्दै आएका छन् । सबैले आफ्नो जित सुनिश्चित भएको अभिव्यक्ति दिँदै आएका छन् । एक सय ६५ वटा निर्वाचन क्षेत्रबाट एक सय ६५ जना उम्मेदवार निर्वाचित हुने छन् ।
कैलाली क्षेत्र नं. १ मा पनि सबै उम्मेदवारले आफ्नो जित सुनिश्चित भन्दै आएका छन् । खासगरी प्रमुख राजनीतिक दलहरु बीच कडा प्रतिस्पर्धाको अनुमान गरिएको छ । नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, उज्यालो नेपाल पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपालले समर्थन गरेका स्वतन्त्र उम्मेदवार फागुराम थारु बीचको प्रतिस्पर्धा रोचक हुन अनुमान गरिएको छ । २०७९ को निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले जित निकालेको कैलाली क्षेत्र नं. १ मा नागरिक उन्मुक्ति पार्टी नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि नेताहरु फरकफरक धारमा लाग्दा यसपटकको नजिता कता ढल्किन सक्छ भन्ने अनुमान लगाउन कठिन भएको स्थानीय भोज बहादुर चौधरी भन्छन् ।
विगतको निर्वाचनको परिणाम हेर्दा..
२०७९ सालको स्थानीय तहदेखि प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कैलाली क्षेत्र नं. १ बाट नागरिक उन्मुक्ति पार्टी बलियो देखिन्छ । तर अहिले नागरिक उन्मुक्ति पार्टीको अस्तित्व समाप्त भैसकेको छ । त्यसबेलाको नागरिक उन्मुक्तिमा भएका नेता फरकफरक पार्टीबाट उम्मेदवार बनेका छन् । उसो त त्यस बेला प्रतिनिधि सभामा तत्कालीन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले ३० हजार चार सय चार मत ल्याएकी थिइन । नेकपा माओवादी केन्द्रको समर्थन पाएका नेपाली काँग्रेसबाट चुनाव लडेका रामजनम चौधरी १८ हजार ८१ मतमा सिमित हुँदा नेकपा एमालेका तपेन्द्र बहादुर रावलले पाँच हजार ९ सय १० भोट पाएका थिए । राप्रपाका लोकेन्द्र कुँवरले तीन हजार ६ सय ४८, रास्वपाले एक हजार ८ सय ६९ मत ल्याएका थिए ।
समानुपातिकमा पनि नागरिक उन्मुक्ति पार्टीको मत सबैभन्दा बढी थियो । नाउपाले २७ हजार चार सय ६ मत ल्याउँदा काँग्रेसले ११ हजार तीन सय ९५ मत ल्याएको थियो । तत्कालीन माओवादी केन्द्रले ७ हजार ९ सय ९२, एमालेले पाँच हजार दुई सय १५, राप्रपाले चार हजार एक सय तीन, रास्वपाले दुई हजार पाँच सय १७ मत ल्याएको थियो । प्रदेश सभामा दुबै क्षेत्र जितेको नागरिक उन्मुक्तिले स्थानीय तहको निर्वाचनमा टीकापुर नगरपालिकामा तीन हजारको मतान्तरले जितेको थियो ।
उम्मेदवारका आआफ्नै दाबी :
नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका रामलाल डगौरा थारुको राजनीतिक पृष्ठभुमि माओवादी भए पनि २०७९ को स्थानीय तहको निर्वाचनमा उनी नागरिक उन्मुक्ति पार्टीबाट चुनाव जितेर टीकापुर नगरपालिकाको नगर प्रमुख बनेका थिए । उनले यसपटक पनि आफ्नो जित निश्चित भएको बताउँदै आएका छन् । नागरिक उन्मुक्ति पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीमा सबै भोट पाउने अपेक्षा थारुको छ । नाउपाका केही मत अन्त गए पनि त्यसैअनुसारका भोट माओवादी केन्द्र र एकीकृत समाजवादीबाट आउनेमा थारु विश्वस्त छन् । त्यसैमा स्वतन्त्र उम्मेदवारी दिएका सत्यनारायण भट्टराई र तपेन्द्र शाहले उम्मेदवारी निष्क्रिय पार्दै थारुलाई समर्थन गरेका छन् ।
नेपाली काँग्रेसबाट चुनाव लडेका जनकराज चौधरी पनि चुनाव जित्नेमा ढुक्क छन् । पार्टी भित्रको आन्तरिक कलहला कारण एक ठाउँमा आउन नसकेको काँग्रेस पछिल्लो समयमा रुपान्तरण सहितको काँग्रेसमा सबैको मन सहित मत मिलेकोले आफू बलियो उम्मेदवार भएको उनको दाबी छ । त्यसैमा पनि टुटफुट भएको नाउपाका असन्तुष्ट भोट पनि आफुलाई आउने र स्वतन्त्र उम्मेदवारी दिएका अरुण ठकुल्लाले समेत समर्थन दिएका कारण यसपटक कैलाली क्षेत्र नं.१ बाट काँग्रेसले नेतृत्व गर्नेमा चौधरी विश्वस्त छन् । काँग्रेस भित्र यसपटकको निर्वाचनमा यसअघिको जस्तो अन्तरघात नहुने विश्वास पार्टीको समेत छ ।
२०७९ को प्रदेश सभा क्षेत्र ख बाट चुनाव लडेका नेकपा एमालेका न्यौपाने पनि आफुले उठाएका चुनावी एजेण्डामा मतदाता साथ रहेकोले यसपटक माहोल राम्रो बनेको दाबी गर्दैआएका छन् । यस क्षेत्रको समृद्धिका लागि आफुले उठाएका एजेण्डा जनताले रुचाएको उनको दाबी छ । त्यतिमात्र नभई परिवर्तन चाहने मतदाता र सधैं भरी अस्थिरताबाट गुज्रिएको क्षेत्रलाई स्थायी नेतृत्व चाहिएकोले पनि जनमत आफ्नो पक्षमा रहेको न्यौपानेले बताउँदै आएका छन् ।
२०७९ को प्रतिनिधि सभाको निर्वाचनमा यसै क्षेत्रबाट चुनाव लडेका राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्र कुँवरले पनि यसपटक आफुलाई जनताले विश्वास गर्ने बताएका छन् । त्यसैगरी देशैभर चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीकी कोमल ज्ञवालीले कैलाली क्षेत्र नं. १ का जनताले पनि रास्वपालाई मत दिने बताइन् । उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बनेका प्रदीप कुमार चौधरी, नागरिक उन्मुक्ति पार्टी नेपालले समर्थन जनाएका स्वतन्त्र उम्मेदवार फागुराम थारुले पनि आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै आएका छन् । अन्य राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले पनि जनताको बहुमत पाउने विश्वासका साथ निर्वाचनमा होमिएको बताउँदै आएका छन् ।
कैलाली क्षेत्र नं. १ मा ५२ हजार ८ सय ५७ जना पुरुष, ५५ हजार ६ सय ३३ महिला र एकजना अन्य मतदाता गरी कुल एक लाख ८ हजार चार सय ९१ जना मतदाता रहेका छन् ।










