कहिले सुल्झिन्छ फोहोरको समस्या ?

शेयेर गर्नुहोस


टीकापुर २३ असोज /
पछिल्लो केही समयदेखि टीकापुर नगरपालिकालाई संकलन भएको फोहोर व्यवस्थापन गर्न निकै सकस भैरहेको छ ।
अझैसम्म फोहोर व्यवस्थापनका लागि डम्पिङ क्षेत्र निर्धारण गर्न नसकेको नगरपालिकालाई वर्षातको समयमा हरेक वर्ष संकलन भएको फोहोर व्यवस्थापन गर्न सकस भैरहेको हो । जमिन सुख्खा हुने समयमा सार्वजनिक जग्गामा परेका खाल्डाखुल्डीमा फोहोर थुपारेर पुर्दै आएको नगरपालिकाले कहिलेसम्म अल्पकालीन समाधानको बाटो अवलम्बन गरिरहन्छ भन्ने प्रश्न उठ्दै आएको छ ।
अझै अहिले व्यवस्थापन गर्न सकस भएको नगरपालिकाले फोहोर संकलन भएका ट्याक्टर नगरपालिका परिसर भित्र राख्दै आएको छ । बजारका कतिपय स्थानमा फोहोर नउठ्दा दुर्गन्ध फैलिएको छ । डस्टविन भरिएर डस्टविन राखिएका क्षेत्र वरपर अस्तव्यस्त फोहोरको डंगुर देखिन थालेको छ । “कम्तीमा राज्यले नागरिकहरू प्रती जिम्मेवार हुनुपर्छ भन्ने कुरा बुझ्न जरुरी छ ।” स्थानीय पुर्णिमा थापाले भनिन्, “टीकापुर नगरपालिका कहिल्यै नागरिकहरू प्रती जिम्मेवार बन्न सकेन ।”
सुरुवातमा सस्तो लोकप्रियता कमाउनका लागि गर्ने अधिकांश कामहरूमा नगरपालिका असफल हुँदै गएको बताउँदै उनले फोहोर व्यवस्थापनमा बजार क्षेत्रमै असफल भएको नगरपालिकाले सबै वडाको फोहोर उठ्न थाल्यो भन्दै झुटो बोलेको बताइन् । “कुनै समयमा नगरपालिकाले सबै वडाबाट फोहोर उठ्न थाल्यो भनेर सार्वजनिक रुपमै बोलेको थियो । अहिले बजार क्षेत्रमै फोहोरका डंगुर देखिन्छन् ।” उनले भनिन्, “कार्यान्वयन गर्न केही नसक्ने, कुरा मात्रै गरेर सफल भएको देखाउने नगरपालिकाको नेतृत्व जनताको माझमा असफल भैसकेको छ ।”
उसो त नगरपालिकाले नगरपालिका भित्र प्लास्टिकको झोला प्रतिबन्ध समेत लगाएको थियो । प्रतिबन्ध लगाएको प्लास्टिकको झोला अझ त्यहीँ नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले प्रयोग गर्दै आएका छन् । त्यतिमात्र होइन केही जनप्रतिनिधिले त प्लास्टिकको झोलाको कारोबार समेत गरिरहेका छन् । “अरुलाई प्रयोग गर्न हुन्न भनेर निर्देशन दिनेहरू आफै प्लास्टिक बोकेर हिडेको भेटिन्छन् ।” स्थानीय शैलेश चौधरीले भने, “पहिले नीति बनाउँदा सबै पक्षलाई हेरेर बनाउँदा त्यसको प्रभावकारिता राम्रो हुन्छ । हचुवाको भरमा जे मन लाग्यो त्यहीँ गरेपछि त्यसको जवाफ सम्बन्धित निकायले दिन सक्नुपर्छ ।”
प्लास्टिकको प्रयोगमा प्रतिबन्ध लगाएर नगरपालिकाले फोहोर व्यवस्थापनमा नागरिकहरूई वर्गीकरणमा चेतना फैलाउन सके फोहोरको मात्रा निकै कम हुने विश्वास गरिएको छ ।

ताजा खबर

तीन हजार बढीले बनाए राहदानी

७ परिवारलाई राहत सामग्री वितरण

मुक्तकमैयालाई परिचयपत्र वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *