गीत प्रतियोगितामा जैशी प्रथम, सहकारीको कुल सम्पत्ति १० करोड माथी

शेयेर गर्नुहोस


टीकापुर २९ असार/
सहकारी संस्थाको स्थापना दिवसको अवसरमा आयोजना गरिएको गित प्रतियोगितामा जगत कुमारी जैशी प्रथम भएकी छन् ।
जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको १५ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको गित प्रतियोगितामा जैशी प्रथम भएकी हुन । दोस्रो स्थान लक्ष्मण पाण्डे र तृतीय स्थान टीकाराम चौधरीले ल्याएका छन् । प्रथम हुने जैशीले नगद तीन हजार सहित प्रमाणपत्र प्राप्त गरेकी छन् भने दोस्रो हुने पाण्डेले दुई हजार र तेस्रो हुने चौधरीले एक हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।प्रतियोगितामा ७ जना प्रतियोगीको सहभागिता रहेको थियो ।
कार्यक्रमको प्रमुख अतिथि यज्ञ प्रसाद न्यौपानेले समाजप्रति जवाफदेही व्यक्ति सहकारीको शेयर सदस्य भएका कारण पनि जनकल्याण सफल भएको बताएका छन् । उनले शेयर सदस्य र सहकारी व्यवस्थापकीय पक्षको समन्वय र सदाचारिता रहे सहकारी सफल हुने बताएका छन् । नगरपालिकाले सहकारीलाई व्यवस्थित र मर्यादित बनाउन नियममा बाध्न लागेको उनले बताए । “हिजोकाले केही गरेनन् र आज सबै हुन्छ भन्नू गलत हो । हिजोका दिनमा पनि सबै बेठिक पनि थिएनन् । आजकाले पनि सबै राम्रो गर्छन् भन्नू बेकुफी हो ।” उनले भने, “१५ वर्ष पहिले जनकल्याणको परिकल्पना नगरे आज झण्डै एक हजार पाँच सय सदस्य एक ठाउँमा उभिने आधार बन्ने थिएन ।”
सिएमसी टीकापुरका संयोजक दिपक थापाले जनकल्याण छोटो समयमा देशमै उत्कृष्ट संस्था बनेको बताउँदै सहकारी प्रतिको नकारात्मक सन्देशले सहकारीले आर्थिक रुपमा असर पारेको बताएका छन् । त्यसैगरी पत्रकार एकिन्द्र तिमिल्सिनाले भविष्य सुरक्षीत गर्न सहकारीका सबै शेयर सदस्यलाई आग्रह गरेका छन् । समाजसेवी भुवनेश्वर अधिकारीले हरेक व्यक्ति, हरेक संघसंस्था भ्रष्ट भएको बेला अहिले पद्धति नै खतरामा पुगेको बताएका छन् । संस्था बलियो हुन पारदर्शिता आवश्यक हुने बताउँदै इमान्दारिताले संघसंस्थालाई मजबुत बनाउने गरेको अधिकारीले बताएका छन् । अधिकारीले कमाउने सोचाइले संघसंस्थाको नेतृत्व गर्दा संघसंस्था धराशायी बन्दै गएको बताए ।
कार्यक्रममा ईलाका प्रशासन टीकापुरका प्रशासन अधिकृत सर्वानन्द चपाईले पैसा हड्प्ने नियत समाजमा बढ्दै गएको भन्दै यस्ता गतिविधिले सहकारी पनि प्रभावित हुँदै गएको बताएका छन् । उनले बाहिर राम्रो भन्दा भन्दै पनि व्यवस्थापकीय कमजोरीका कारण कैयौं संघसंस्था भित्री रुपमा धराशायी बनिसकेका उदाहरणलाई आत्मसात गरेर चनाखो भएर काम गर्न सुझाव दिएका छन् । सहकारीका निवर्तमान अध्यक्ष बद्री प्रसाद भट्टराईले जनकल्याणको सफलता सहकारीका शेयर सदस्यको भुमिका रहेको बताएका छन् । उनले नेतृत्वमा बसेको व्यक्तिले संस्थाको उन्नतिका लागि मिहेनत गर्नुपर्ने बताए ।
संस्थाका संस्थापक अध्यक्ष गणेश साउँदले सहकारी स्थापना देखि आजसम्मको प्रगतिमा सबै शेयर सदस्यको भुमिकाको प्रशंसा व्यक्त गरेका छन् ।
सहकारीका उपाध्यक्ष मनोज कुमार साउँदको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन व्यवस्थापन छविलाल जैशीले गरेका थिए । सहकारीको शेयर पुँजी एक करोड ४३ लाख ५० हजार पाँच सय पुगेको छ । एक हजार चार सय २४ जना शेयर सदस्य रहेको सहकारीले ७ करोड ९९ लाख ८२ हजार ७ सय ९१ रुपैयाँ ऋणमा लगानी गरेको छ भने सहकारीको बचत निक्षेप ७ करोड ९२ लाख ९४ हजार ९ सय २१ रुपैयाँ रहेको व्यवस्थापक छविलाल जैशीले जानकारी दिएका छन् । उनका अनुसार सहकारीको कोषमा ४९ लाख ६६ हजार एक सय ५४ रुपैयाँ रहेको छ भने १० करोड ८४ लाख ८३ हजार पाँच सय ३५ रुपैयाँ सहकारीको कुल सम्पत्ति रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *