जनकल्याण उत्कृष्ट सहकारी मध्ये एक हो : जोशी

शेयेर गर्नुहोस


टीकापुर ०४ कार्तिक /
राष्ट्रिय सहकारी महासंघका सञ्चालक माधवप्रसाद जोशीले जनकल्याण बचत तथा ऋण सहकारी संस्था उत्कृष्ट सहकारीको रुपमा स्थापित भएको बताएका छन् ।
जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभामा बोल्दै जोशीले सहकारीको सञ्चालक समिती र कर्मचारीहरुको इमानदारिता र लगनशीलताले जनकल्याण जिल्लामा मात्रै नभई प्रदेशमै उत्कृष्ट सहकारीको रुपमा स्थापित भएको बताएका हुन । “संस्था उत्कृष्ट हुन त्यसमा आबद्ध सदस्यहरुको भुमिका महत्त्वपूर्ण हुन्छ । सञ्चालक तथा कर्मचारीहरुको भुमिका झन महत्त्वपूर्ण हुन्छ ।” उनले भने, “त्यो भुमिकामा जनकल्याणका सबै पदाधिकारीको योगदानले सहकारी अन्य सहकारीको सिकाइको एक आधार बन्न सफल भएको हो ।” उनले देशमा कैयौं सहकारी समस्याग्रस्त रहँदा त्यसले सफल र उत्कृष्ट सहकारीलाई पनि विश्वास दिलाइन चुनौती थपिँदै गएको बताएका छन् ।
कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विकले सहकारी प्रती वितृष्णा बढ्दै गएको अवस्थामा जनकल्याण सहकारीले सहकारी प्रती सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको बताएका छन् । उनले टीकापुर मै पनि कैयौं सहकारी संकटमा परिसकेको स्थितिमा सिमित सहकारीले राम्रो गरेको पाइएको बताएका छन् । “नगरपालिकाले आर्थिक विकास मार्फत ठूलो लगानी सीपमूलक क्षेत्रमा लगानी गर्दै आएकोमा अब दक्ष जनशक्तिमा व्यावसायिक लगानीमा सहकारीले ध्यान दिनुपर्छ ।” उनले भने, “त्यसका लागि सफल सहकारीले समन्वय र सहकार्य नगरपालिका गर्न तयार छ ।”
टीकापुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष यज्ञप्रसाद न्यौपानेले केही सहकारी राष्ट्रिय मुद्दाको रुपमा चिनिएको बताउँदै सहकारीका सञ्चालक र कर्मचारी एउटै हुँदा समस्या माथी समस्या थपिएको बताएका छन् । उनले नगरपालिकाको निगरानी तथा अनुगमनका क्रममा पनि कैयौं सहकारी झोलामा त कैयौं सम्पर्क बाहिर रहेको बताएका छन् । शेयर सदस्यलाई उद्यममा लगाउन आग्रह गर्दै उनले उत्पादनका क्षेत्रमा नगरपालिका पनि समन्वय गर्न तयार रहेको बताए । कार्यक्रममा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्दै सहभागिता जनाएकाहरुले जनकल्याण सहकारीको खुलेर प्रशंसा गरेका छन् ।
सहकारी संस्थाले गत आर्थिक वर्ष २०८०/०८१ मा तीन लाख ३३ हजार तीन सय ८० रुपैयाँ ८५ पैसा नाफा कमाउन सफल भएको छ । ४० जना शेयर सदस्यबाट सुरु भएको संस्थामा २०८१ असार मसान्तसम्म एक हजार तीन सय ९३ जना शेयर सदस्यबाट एक करोड ३१ लाख ७४ हजार ७ सय रुपैयाँ शेयर पुँजी रहेको प्रतिवेदनले देखाएको छ । सहकारीले पाँच करोड ३९ लाख १० हजार पाँच सय ८९ रुपैयाँ ७० पैसा गत वर्ष ऋण लगानी गरेको छ । गत वर्ष सहकारीले ७ करोड ८३ लाख ७२ हजार ९ सय ४३ रुपैयाँ ८८ पैसा बराबरको कारोबार गरेको प्रतिवेदनले देखाएको छ ।
१३ औं वार्षिक साधारण सभाबाट असल ऋणीको तर्फबाट बेलपुरा शाही र प्रेम प्रसाद जैशी सम्मानित भएका छन् । त्यसैगरी उत्कृष्ट बचतकर्ताको रुपमा बिरबहादुर थारु, निर्मला न्यौपाने धमला र रमित चौधरीलाई सम्मान गरेको छ । सहकारीले शेयर सदस्यका बालबालिकाहरु मध्येबाट कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने आशिष ढुंगाना र एसइईमा उत्कृष्ट अंक ल्याउने नितेश लम्साललाई पनि नगद सहित सम्मान गरेको छ ।
सहकारीका अध्यक्ष नृपराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष मनोजकुमार साउँदले गरेका थिए भने कार्यक्रमको सञ्चालन धनन्जय ढंगानाले गरेका थिए ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *