टीकापुर साहित्य महोत्सव हुने

शेयेर गर्नुहोस


टीकापुर ११ फागुन /
प्रत्येक वर्ष आयोजना गर्ने गरी २०७९ मा सुरु भएको टीकापुर साहित्य महोत्सव एक वर्षपछि पुनः हुने भएको छ ।
२०७९ सालमै टीकापुर साहित्य समाज नामक संस्था दर्ता गरेर सञ्चालन गरिएको टीकापुर साहित्य महोत्सव प्रत्येक वर्ष आयोजना गर्ने भने पनि २०८० मा आयोजना नभई २०८१ मा दोस्रो संस्करणको रुपमा आयोजना हुने भएको हो । महोत्सव यहीँ फागुन २४ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने समाजका अध्यक्ष महेशविक्रम शाहले जानकारी दिएका छन् । उनले महोत्सवको लागि आवश्यक तयारी भैरहेको बताए । शनिबार पत्रकार सम्मेलन मार्फत महोत्सवको तयारी बारे जानकारी दिएका अध्यक्ष शाहले महोत्सव विशेषगरी तीन विद्यामा सञ्चालन हुने बताएका छन् ।
“तीन दिनसम्म सञ्चालन हुने महोत्सवलाई २७ भागमा विभाजन गरिएको छ । त्यसमा पनि पहिलो दिन काव्य सन्ध्या, दोस्रो दिन गजल सन्ध्या र तेस्रो दिन संगित सन्ध्याको तयारी गरिएको छ ।” उनले भने, “त्यसका लागि देशका प्रतिष्ठित साहित्यकारहरुको जमघट टीकापुरमा हुने छ ।” शाहले यसवर्षको साहित्य महोत्सवलाई पहलमानसिंह स्वाँर विशेष संस्करण टीकापुर साहित्य महोत्सवको रुपमा लिइएको बताएका छन् । “महोत्सवमा पहलमानसिंह स्वाँरको जीवनीको विषयमा विशेष बहस हुनेछ । भने साहित्यसँगै अन्य विकासका सवालमा पनि बहस हुनेछन् ।” शाहले भने, “विकासका सवालमा नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका वक्तालाई समावेश गरिने छ ।”
टीकापुरका क्षमता भएका व्यक्तिहरुलाई महोत्सवले समेट्ने बताए । महोत्सवले खड्ग स्मृति राष्ट्रिय गौरवको एक लाख राशिको पुरस्कार शैक्षिक क्षेत्रमा योगदान पुर्याउने बलबहादुर रावल र धनन्जय तिमिल्सिनालाई संयुक्तरुपमा प्रदान गरिने बताइएको छ । त्यसैगरी ५० हजार राशिको टीकापुर साहित्य प्रतिभा पुरस्कार मदन पुरस्कार बिजेता साहित्यकार विवेक ओझालाई प्रदान गरिने अध्यक्ष शाहले बताए । २५ हजार राशिको टीकापुर साहित्य समाज जेहेन्दार बिद्यार्थी पुरस्कार कसलाई प्रदान गर्ने भन्ने विषयमा छलफल भैरहेको बताइएको छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष शाहले २०८० मा हुनुपर्ने दोस्रो संस्करण किन भएन भन्ने प्रश्नको जवाफ भने दिन चाहेनन् । पहिलो संस्करण निकै तामझामका साथ भएको महोत्सवले समग्र क्षेत्रले गरेको अपेक्षा पूरा गर्न नसकेको टीकाटिप्पणी अहिले पनि हुने गरेको छ । खासगरी स्थानीय क्षेत्रको स्रोतसाधनको सदुपयोग हुँदा त्यस क्षेत्रका सम्भावना भएका वर्गहरु त्यसबाट लाभान्वित हुनुपर्ने बुझाइ रहदै आएको छ ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *