दुई लाख बढीले गरे पार्क अवलोकन, झुलुङ्गेमा पुलमा पर्यटक भरिभराउ

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर ३१ असार/
कैलालीको टीकापुर नगरपालिका वडा नं. ५ मा रहेको सुदुरपश्चिमकै प्रमुख पर्यटकीय गन्तब्य टीकापुर पार्कको यसवर्ष दुई लाख भन्दा बढी पर्यटनले अवलोकन गरेका छन् ।
सुदुरपश्चिम प्रदेशमै सबैभन्दा बढी पर्यटक पुग्ने टीकापुर पर्कले चालू आर्थिक वर्षमा एक करोड ३५ लाख भन्दा बढी राजश्व मात्रै संकलन गरेको छ । जुन राजश्व टीकापुर नगरपालिकाको आन्तरिक स्रोतको प्रमुख आधार हो । यसवर्ष टीकापुर पार्कको आन्तरिक तथा बाह्य गरेर झण्डै दुई लाख ३० हजार पर्यटकले अवलोकन गरेको पार्कमा कार्यरत कर्मचारी विनोद चौधरीको भनाई छ । उहाँका अनुसार अन्य समयको तुलनामा वर्षातको समयमा पार्क घुम्न आउने पर्यटनको संख्या उसै पनि कम हुने गरेको छ । दशै सुरु भएदेखि पार्कमा पर्यटकको संख्या बढ्न थाल्छ ।
टीकापुर दौलतपुरको कर्णाली नदीमा बर्दियाको राजापुर जोड्ने झुलुङ्गे पुल निर्माण भएपछि भने पार्कमा आउने पर्यटकमा निकै कमि आएको छ । झुलुङ्गे पुल निर्माण भएसँगै टीकापुर पार्क आउने पर्यटक पुल केन्द्रित हुँदा पार्क सुनसान देखिएको छ । प्रतिव्यक्ति ५० रुपैयाँ तिरेर पार्क अवलोकन गर्ने पर्यटकहरु नि:शुल्क पुलको अवलोकन गरेर फर्कन थालेका छन् । “आजभोलिको समयमा पनि दिनमा दुईतीन सयसम्म पर्यटक पार्क अवलोकन गर्न आउथे । यसपटक भने पुल बनेपछि पार्क आउने पर्यटन दैनिक एक सय पनि पुग नपुग हुन्छ ।” चौधरी भन्नुहुन्छ, “यहीँ पार्कको प्रवेशद्वारमा पुगेका पर्यटक भित्र नआएर पुलतिर मोडिन्छ्न ।”
वर्षातको समयमा बढ्दै गएको कर्णाली नदीको बहावसँगै नदीले बनाएका फाँटको अवलोकन तथा फोटो, भिडियो खिच्ने पर्यटकले भरिभराउ हुन थालेको हो । अझै सार्वजनिक बिदाको दिन हजारौं पुलको अवलोकन गर्न आउने गरेका छन् । “यो नयाँ ठाउँ, आकर्षक भ्यु देखिने भएको हुँदा घुम्न आएका हौं ।” बर्दियाको गेरुवा गाउँपालिकाकी सम्झना मगरले भन्नुभयो, “पुलबाट देखिने कर्णाली नदीको दृश्य निकै सुन्दर छ भने चिसो हावाको वेगले झन आनन्द महसुस हुन्छ् ।”
पुलको अवलोकन गर्न, फोटो भिडियो खिच्न कैलाली तथा बर्दिया जिल्लाका विभिन्न स्थानबाट नागरिकहरू आउने गरेका छन् । सुरुवाती चरण भएकोले पनि पुलमा सार्वजनिक बिदाको दिन थेग्न नसकिने भिड लाग्ने गरेको छ । “पुल राम्रो पर्यटकीय गन्तव्य गन्तव्य बन्न सक्छ । त्यसका लागि दीर्घकालीन सोचका सुरक्षा निगरानी बढाउनुपर्ने देखिन्छ ।” टीकापुर नगरपालिका वडा नं. ४ का कृष्ण चौधरी भन्नुहुन्छ, “स्थानीय सरकारले पर्यटकीय सर्किटको रुपमा विकास गरेर प्रचारप्रसार गर्न सक्नुपर्छ ।”
पुलमा फोटो, भिडियो खिच्नेहरुको भिडभाडले सवारीसाधनमा आवतजावत गर्ने यात्रुलाई भने निकै सास्ती हुने गरेको छ । मान्छेले पुल भरिभराउ हुँदा सवारी दुर्घटनाको जोखिम पनि बढेको छ । “साँघुरो पुलमा मान्छेको भिडभाडले मोटरसाइकल पास गर्न निकै कठिन हुने गरेको छ ।” बर्दिया राजापुरका सुशान्त चौधरीले भन्नुभयो, “पुकको बीच भागमा उभिएर भिडियो बनाउँदा मोटरसाइकलको हर्न बजाउँदा पनि कसैले सुन्दैनन ।” उहाँले यस्तै अवस्थामा अप्रिय घटना हुन सक्ने भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराउनुभएको छ ।
पुल क्षेत्रमा सुरक्षा कायम गर्न सुरक्षा निकायको माग स्थानीयले गर्न थालेका छन् । रातीको समयमा युवाहरूको पुलमा हुने जमघटले सुरक्षा चुनौती थपिएको उहाँहरुको धारणा छ । “पुल घुम्न आउने पर्यटकहरुका लागि निश्चित मापदण्ड बनाउन आवश्यक छ ।” स्थानीय सुनिर चौधरीले भन्नुभयो , “कम्तिमा रातको समयमा प्रहरीको गस्तीसम्म भए पनि जोखिम कम हुन सक्थ्यो ।” उहाँले सामुदायिक वनसँगै पुल जोडिएकाले लागुऔषध दुर्व्यसन सेवन गर्ने युवाहरूको जोखिम बढेको भन्दै प्रहरी बिटको आवश्यकता औल्याउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *