नगरपालिकाको अन्योलताको निकास गर्न जेनजीको पहल

शेयेर गर्नुहोस


टीकापुर २० साउन/

टीकापुर नगरपालिकामा देखिएको अन्योलतालाई निकास दिन टीकापुरका जेनजी युवाहरूले पहल सुरु गरेका छन् ।
नगरपालिकाको कार्यवाहक नगर प्रमुख, कर्मचारीको सरुवा र प्रमुख प्रशासकीय अधिकृतको विषयमा देखिएको अन्योलतालाई निकास दिन जेनजी युवाहरूले वडा अध्यक्ष सहित कार्यपालिका सदस्यलाई एकै ठाउँमा राखेर बहसको सुरुवात गरेका हुन । वडाका सबै वडा अध्यक्ष सहित कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जीसँग संयुक्त छलफलको योजना बनाएका जेनजी युवाहरूको छलफलमा तीन वडा अध्यक्षको मात्रै सहभागिता रह्यो ।
छलफलमा वडा नं. १ का वडा अध्यक्ष मोहन विक, वडा नं.८ का वडा अध्यक्ष दीर्घबहादुर ठकुल्ला र वडा नं. ९ का वडा अध्यक्ष लौटन चौधरी सहभागी रहे । साथै कार्यवाहक नगर प्रमुख नगार्जी सहित कार्यपालिका सदस्य दिपक निसानी, मञ्जु विकको पनि उपस्थिति रह्यो । वडा अध्यक्षहरुले नगरपालिकाको वर्तमान परिस्थितिका विषयमा आफुहरु गम्भीर भएको बताएका छन् । “नगरपालिका अनिर्णयको बन्दी बनेको छ । यो विषयलाई गम्भीरतापूर्वक लिएका छौँ ।” वडा नं. ८ का वडा अध्यक्ष ठकुल्लाले भने, “यसको निकासका लागि सबैले सकारात्मक सोचका साथ छलफल र संवादबाट अगाडि बढ्नुको विकल्प छैन ।”
उनले कार्यवाहक नगर प्रमुखको विषयमा आफू सुरुवातदेखि टाढा रहेको उल्लेख गर्दै सर्वोच्चमा मुद्दा परिसकेपछी त्यस्को अन्तिम सुनुवाइ नआउँदासम्म स्थिति सहज बनाउन चुनौती देखिएको बताए । “यहाँ व्यक्तिगत स्वार्थ हावी भएको छ । यसले दीर्घकालीन समाधान दिँदैन ।” उनले भने, “असहज परिस्थितिमा पनि नगरपालिकालाई बजेट शुन्यताको स्थितिबाट बाहिर ल्याउन सफल बएका छौँ । अब विनियोजन भएको बजेट कार्यान्वयनमा लैजान सक्यो भने पनि राम्रो हुन्छ ।”
वडा नं. १ का वडा अध्यक्ष मोहन विकले प्रमुख प्रशासकीय अधिकृतको थमौतिका लागि काठमाडौ गएको भन्ने विषय निराधार रहेको उल्लेख गर्दै कार्यवाहक नगर प्रमुख नगार्जीले हाकिमको सरुवाको लागि पेश गरेको निवेदनको बारेमा जानकारी दिन र यहाँको वस्तुस्थिति बुझाउनको लागि गएको बताएका छन् । “यहाँको वास्तविकता भन्नको लागि हामी काठमाडौं गएका हौं । अब आउने प्रमुख प्रशासकीय अधिकृतलाई कामकाज समस्या नहोस् भनेर छलफल गर्न गएका हौं ।” उनले भने, “यहाँ एउटालाई हाकिम मन परेन भने मन्त्रालयलाई पत्राचार गर्ने परिपाटीको अन्त्य हुनुपर्छ । जुन कार्यअवधीका लागि हाकिम आउँछ, त्यो अवधिसम्म बसोस भनेर भन्न गएका हौं ।” वडा अध्यक्ष विकले कार्यवाहकको मुद्दा विचाराधीन रहेको बेला नयाँ आउने हाकिमलाई भन्दा कायम रहेको हाकिमलाई त्यसको सहजीकरण र समन्वय गर्नका लागि सहज हुन्छ भन्ने हाम्रो बुझाइ रहेको बताए ।
छलफलमा कार्यपालिका सदस्य दिपक निसानीले विगत भन्दा आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा बहस हुनुपर्ने बताए । उनल अदालतको आदेशलाई केही जनप्रतिनिधि र कार्यालय प्रमुखले नमानेको आरोप लगाए । उनके नगरपालिकामा।राजनीतिक मात्रै नभई प्रशासनिक समस्या पनि उस्तै रहेको उल्लेख गर्दै बजेट ल्याउनु मात्रै ठूलो कुरा नभएको बताएका छन् । कार्यपालिका सदस्य मञ्जु विकले कर्मचारी नियुक्तिको विषयमा प्रश्न गरेकी थिइन् ।
जेनजी समुहले सोमबार मात्रै नगरपालिकाका सबै वडामा वडा अध्यक्षलाई समसामयिक विषयमा ध्यानाकर्षण पत्र बुझाएका थिए भने नगरपालिकाको अन्योलताको विषयमा गम्भीर हुन आग्रह गरिएको जेनजी अगुवा सरोज चपाईले जानकारी दिएका छन् ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *