शेयेर गर्नुहोस
टीकापुर १८ साउन /
टीकापुर नगरपालिकाको कार्यवाहक नगर प्रमुखको विवादले नगरपालिका दिनप्रतिदिन अन्योलता थपिँदै गएको छ ।
एकातिर कार्यवाहक नगर प्रमुखको विवादले थलिएको नगरपालिका अर्कोतिर प्रमुख प्रशासकीय अधिकृतको विवादले झन लथालिङ्ग भएको हो । साउन १५ गतेका लागि तोकिएको कार्यवाहक नगर प्रमुखको पेसी स्थगित हुँदा जनप्रतिनिधिलाई एक ठाउँमा ल्याउन झन कठिन बन्दै गएको छ । अहिले कसैको नियन्त्रणमा कुनै जनप्रतिनिधि छैन ।
नगरपालिकाको बजेट अझै कार्यान्वयनमा जान सकेको छैन । विवादका बाबजुद नगर सभाका जेष्ठ सदस्य जयराम थारुको अध्यक्षतामा ल्याइएको बजेट कार्यान्वयनको अख्तियारी वडा लगायत मातहतका शाखाले पाउन सकेका छैनन् । साउन ७ गते प्रमुख प्रशासकीय अधिकृत सुमन धितालको सरुवा भैसकेको छ । धितालको सरुवा भएपछि सरुवा भएर आउने भनिएकी ममता बास्तोलाले नगरपालिका आउने मन नगरेको स्रोतको दाबी छ । धितालको सरुवा राजनीतिक प्रतिशोधमा भएको वडा अध्यक्षहरुले नै बताइरहेका छन् । विवाद दिनप्रतिदिन बढ्दै गएको अवस्थामा बास्तोला पनि कहिले नगरपालिकामा हाजिर हुन्छन् भन्न सकिने स्थिति छैन । गतवर्ष यस्तै प्रमुख प्रशासकीय अधिकृतको विवादले योजनाको कामकाज मंसिरमा मात्रै सुरु भएको नगरपालिकामा यसवर्ष पनि त्यहीँ स्थिति नदोहोरिएला भन्न सकिँदैन ।
सर्वोच्च अदालतले कार्यवाहक नगर प्रमुखको आधिकारिकताको फैसला नगर्दा लामो समयदेखि कार्यपालिका बैठक अनिश्चित बन्दै गएको छ । कार्यपालिकाले गर्नुपर्ने कैयौं कामहरू थन्किएका छन् । नीति निर्माणका कामहरू अगाडि बढ्न सकेका छैनन् भने विभिन्न रोगबाट ग्रसित बिरामीहरुले सरकारबाट पाउने स्वास्थ्य उपचार बापतको रकम प्राप्त गर्न सकेका छैनन् । “मेरो ससुराको मुटुको अपरेसन गर्नुपर्ने भयो । मुटुमा समस्या देखिँदा सरकारले एक लाखसम्म उपचार खर्च दिन्थ्यो, त्यो सहयोग अझै पाउन सकेकका छैनौं ।” टीकापुर नगरपालिका वडा नं. १ कि गंगा शाहले भनिन्, “पटकपटक नगरपालिका पुग्दा नगर प्रमुख नहुँदा काम नभएर फर्किनु परेको छ ।” उनले एकाअर्काको राजनीतिक प्रतिशोधको सिकार आम सर्वसाधारण नागरिकहरू हुनुपरेको गुनासो गरेकी छन् ।
सर्वोच्चमा पुगेको कुराको अन्तिम निर्णय नआएसम्म नगरपालिकाले निकास पाउने सम्भावना निकै कम छ । वडा नं. ८ का वडा अध्यक्ष दीर्घबहादुर ठकुल्लाले जनप्रतिनिधि बीचको आपसी मतभेदका कारण त्यसको असर जनतामा परेको बताएका छन् । “यहाँ कोहि कसैको ट्र्याकमा छैनन् । जसलाई जे मन लाग्यो त्यहीँ गरिरहेका छन् । भनेको सुन्ने कोहि छैन ।” उनले भने, “अब जो हाकिम आए पनि आएर बजेट कार्यान्वयनमा लियो भने विकासका कामहरू अगाडि बढ्छ्न । अरु अन्योलता सहजै सकिने स्थितिमा छैन ।”
उनले स्वास्थ्य सुविधा बापत उपचार खर्च प्राप्त गर्ने सेवाग्राही सबैभन्दा बढी मारमा परेको भन्दै त्यसका लागि पनि सर्वोच्चको फैसला छिटो आउनुपर्नेमा जोड दिएका छन् ।









