पहिचान जोगाउन होमस्टे सञ्चालन

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर १२ जेठ /
थारु समुदायको पहिचान सहितको कला, संस्कृति तथा मौलिकताको संरक्षण र प्रवर्द्धनका लागि भन्दै कैलालीको जानकी गाउँपालिका भित्र थारु होमस्टे सञ्चालनमा आउन थालेका छन् । बढ्दै गएको आधुनिकताले नयाँ पुस्तामा पुरानो मौलिकता प्रती ध्यान जान छोडेपछि हराउँदै गएका पुराना कला र संस्कृतिलाई पुस्तान्तरण गर्नका लागि भएपनि होमस्टे सञ्चालनमा आउन थालेका हुन ।
गाउँपालिकाको वडा नं. ६ मा रहेको जगतपुर होमस्टे सञ्चालनमा रहेको छ । त्यहाँ ७ वटा घरमा होमस्टे सञ्चालनमा रहेको होमस्टे व्यवस्थापन समितिकी अध्यक्ष धनकुमारी चौधरी बताउनुहुन्छ । उहाँका अनुसार महिनामा दुईसम्म पर्यटक होमस्टेमा पुग्छन् । “यहाँका होमस्टे सञ्चालकहरुले झण्डै ६० प्रकारका थारु परिकार तयार गर्न सक्छन् ।” उहाँ भन्नुहुन्छ, “हरेक साथ होमस्टेमा आएका पाहुनाको स्वागतमा थारु पहिचान झल्काउने प्रस्तुतिहरु पनि हुन्छन् ।”
त्यहाँ प्रस्तुत हुने हरेक प्रस्तुतिमा युवा पुस्तालाई जोड्न थालिएको छ । पुरानो पुस्ता र नयाँ पुस्तालाईसँगै राखेर प्रस्तुति दिँदा नयाँ पुस्तामा पुरानो संस्कृति हस्तान्तरण हुने विश्वास त्यहाँका नागरिकहरूको छ । त्यतिमात्र नभई नजिकै रहेको कर्णाली नदीसँगै जोडिएका सामुदायिक वनमा पर्यटकहरुलाई सफारी गराउने गरी योजना होमस्टे सञ्चालकहरुको छ ।
गाउँपालिकाको वडा नं. ५ अमौरीमा पनि थारु होमस्टे सञ्चालनमा आएको छ् । हराउँदै गएका थारु नाच, रैथाने उत्पादनलाई जोड दिँदै त्यसलाई आम्दानीको स्रोत बनाउने गरी होमस्टेको अवधारणा अगाडि ल्याइएको अमौरी होमस्टे व्यवस्थापन समितिका अध्यक्ष तुलाराम चौधरी बताउनुहुन्छ । “थारु परिकारमा त्यहीँ ढ्क्रीलाई मात्रै बुझ्ने गरिन्छ । सयौं थारु परिकार छन् ।” उहाँ भन्नुहुन्छ, “आलुबाट मात्रै कैयौं परिकार बनाउन सकिन्छ । विभिन्न परिकारको अर्गानिक स्वादमा थारु समुदायको रैथाने नाचबाट पर्यटकहरुलाई आकर्षण गर्न सकिन्छ ।”
उहाँका अनुसार थारु समुदायका कैयौं नाच लोप भैसकेका छन् । आजभोलि त्यहीँ झुम्रा, सखिया लगायतका सिमित नाच चलनमा रहे पनि पुराना हराउँदै गएका थारु संस्कृतिलाई जगेर्ना गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने माध्यम नै होमस्टे भएको तुलारामको भनाइ छ । होमस्टेले स्थानीयलाई रैथाने बाली प्रती आकर्षित बनाउँदै लगेको छ भने स्थानीयलाई रोजगारीमा जोड्न थालेको छ ।
जानकी गाउँपालिकाकै वडा नं. ९ स्थित बक्लौवाको थारु वस्ती पनि थारु होमस्टेमा रुपान्तरण हुँदै गएको छ । त्यहाँका आठ घरमा होमस्टे सञ्चालन हुँदै आएको छ । महिनाको झण्डै दुई सय भन्दा बढी पर्यटक होमस्टेमा आउने गरेको होमस्टे व्यवस्थापन समितिकी अध्यक्ष ऐमा चौधरीले बताउनुभयो ।उहाँका अनुसार त्यहाँ आउने पर्यटक विभिन्न थारु परिकार खान र सांस्कृतिक साझमा रमाउनको लागि आउने गर्छन् । “घरायसी वातावरण, अर्गानिक थारु परिकार, विभिन्न रैथाने लोकसंस्कृति, पर्यटकलाई गर्ने व्यवहार नै थारु होमस्टेको प्रमुख पहिचान हो ।” उहाँ भन्नुहुन्छ, “त्यहीँ पहिचानलाई जगेर्ना गर्दै आयस्रोतको माध्यमको रुपमा होमस्टे सञ्चालन हुँदा घरमै रोजगारी सिर्जना भएको छ ।”
गाउँपालिकाले स्थानीय उत्पादनलाई विशेष महत्त्व दिँदै आएको छ । होमस्टे सञ्चालन र व्यवस्थापनका लागि होमस्टे सञ्चालकहरुलाई तालीम लगायतका सहयोग गर्दै आएको गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले बताउनुभयो । “हामीले सुरु देखि नै हराउँदै गएको कला, संस्कृति, स्थानीय उत्पादनलाई जगेर्ना गर्नुपर्छ भनेर काम गर्दै आएका छौँ ।” उहाँ भन्नुहुन्छ, “त्यसको प्रबर्द्धन गर्दै स्थानीयलाई रोजगारसँग जोड्न होमस्टेको अवधारणालाई जोड दिइएको हो ।” उहाँका अनुसार थारु समुदाय मात्रै नभई अन्य समुदायले पनि आफ्नो पहिचान र उत्पादनलाई झल्काउने गरी होमस्टे सञ्चालन गर्दा लोप हुँदै गएका पहिचानहरु फर्किनेछन् । चालू आर्थिक वर्षमा मात्रै गाउँपालिकाले होमस्टे सञ्चालकहरुलाई थारु परिकार बनाउन र लोप भएका नाच सिकाउन तालिम सञ्चालन गरेको थियो ।
होमस्टे घरवास महासंघका महासचिव कृष्णलाल चौधरीका अनुसार देशभर ७ हजार भन्दा बढी घरमा होमस्टे सञ्चालन हुँदै आएको छ । उहाँले होमस्टेले समुदायको पहिचानसँगै पर्यटन प्रबर्द्धनमा ठुलो योगदान दिँदै आएको उल्लेख गर्दै राज्यबात आवश्यक सहयोग र सहकार्यको अपेक्षा गर्नुभएको छ । स्वाद र आधुनिकतालाई हेरेर पुर्खाले स्थापना गरेको भान्सा बिगार्न नहुने उहाँको भनाइ छ । “होमस्टेमा हरेक कुरा फरक हुनुपर्छ । होमस्टेको भन्सा पूरा अर्गानिक हुनुपर्छ ।” उहाँ भन्नुहुन्छ, “हामीले आएको पाउनालाई बाहिरको भन्दा फरक गर्न सकेनौ भने हामी सफल हुन सक्दैनौं ।”

ताजा खबर

पहिचान जोगाउन होमस्टे सञ्चालन

विश्वविद्यालय विधेयक टेबुल

Leave a Reply

Your email address will not be published. Required fields are marked *