फागुन २ गतेबाट गुलाफ रोपिने, सयौं शिक्षकले गरे जनश्रमदान

शेयेर गर्नुहोस


टीकापुर २६ माघ /
टीकापुर नगरपालिकाले नगरलाई गुलाफको शहर बनाउने योजनाअनुसार आउने फागुन २ गतेबाट गुलाफ रोप्ने अभियान सुरु गर्ने भएको छ ।
पहिलो चरणमा जमरा पुलदेखि बसपार्कसम्मको ६ लेन सडक खण्डको दुबै भागको डिभाइडरमा गुलाफ रोप्ने अभियान फागुन २ गतेबाट सुरु गरिने भएको हो । फागुन २ गते प्रणय दिवसको अवसर पारेर गुलाफ रोप्ने कामको थालनी गरिने नगर प्रमुख रामलाल डगौरा थारुले बताएका छन् । “हामीले माघ १८ गतेबाट नगरपालिकामा जनश्रमदान अभियान सुरु गरेका थियौं । त्यसैअनुसार अहिले गुलाफ रोप्ने क्षेत्रमा काम भैरहेको छ ।” नगर प्रमुख थारुले भने, “हामीले निश्चित क्षेत्र विभिन्न बिधालय, संघसंस्था, निजि कम्पनीलाई गुलाफ रोप्ने र त्यसको दिगो संरक्षणको जिम्मा दिएका छौँ । त्यसैअनुसार स्वस्फूर्त रुपमा अहिले काम भैरहेको छ ।
शुक्रवार मात्रै नगरपालिकाको गुलाफको शहर बनाउने योजनामा नगरपालिका भित्रका सामुदायिक बिधालयमा कार्यरत सयौं शिक्षकहरुले श्रमदान गरे । त्यहाँ बिधालयले श्रमदान मात्रै गरेर निश्चित क्षेत्रमा गुलाफ पुलाउने जिम्मेवारी पनि लिए । अब नगरपालिकाको निगरानीमा हरेक क्षेत्रको अपनत्व रहने गरी गुलाफको अभियान अगाडि बढेको छ । नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले शिक्षकहरु जिम्मेवारका साथ अभियानमा जोडिएको बताएका छन् । उनले हरेक बिधालय गुलाफ रोप्ने मात्रै नभई संरक्षण र सम्बर्द्धनसम्मको जिम्मा लिएको बताएका छन् । “नगरपालिकामा ३५ सामुदायिक बिधालयका झण्डै चार सय ६५ जना शिक्षक श्रमदानमा जोडिएका छन् । बिधालयले निश्चित एरियाको सबै जिम्मा लिएका छन् ।” उनले भने, “यो अभियानमा समग्र टीकापुरका नागरिकहरू जोडिने क्रम जारी छ । संस्थागत बिधालयहरुलाई पनि त्यसैअनुसारको जिम्मेवारी दिने गरी छलफल भैरहेको छ ।”
राष्ट्रिय माद्यामिक बिधालय बेलुवाका प्रधानाध्यापक रामप्रसाद चौधरीले अभियान टीकापुरको भविष्यसँग जोडिएको बताएका छन् । उनले अभियानका माध्यमबाट सामाजिक सद्भावको काम पनि भएको बताएका छन् । “यो नमुना काम हो । यसमा आफ्नो काम हो भन्ने अपनत्व लिएर सबैले लाग्नुपर्छ ।” उनले भने, “यो अभियानले सामाजिक एकताको सन्देश पनि दिएको छ ।”
उता शिक्षा समिती सदस्य रघुनाथ उपाध्यायले नगरपालिकाले दीर्घकालीन सोचका साथ अभियानलाई अगाडि बढाउन आवश्यक रहेको बताए । उनले राम्रो कामको सुरुवात भएको बताउँदै गुलाफ रोप्नुभन्दा पनि त्यसको संरक्षण प्रमुख चुनौती हुने बताएका छन् । “काम गर्न सबै उत्साहित छन् । केही क्षेत्रको जिम्मा लिएर त्यसको सबै रेखदेख स्वयमले लिने कुरा छ् । त्यो सम्भव नहुन पनि सक्छ ।” उनले भने, “रोपिएको गुलाफको संरक्षणका लागि नगरपालिकाले दीर्घकालीन योजना बनाएर अगाडि बढ्नुपर्छ । काम निकै राम्रो हो ।”
श्रमदानकै क्रममा खड्ग स्मृति माद्यामिक बिधालय टीकापुरका बिधालय व्यवस्थापन समिती अध्यक्ष तर्कराज रेग्मीले गुलाफको अभियानले टीकापुरलाई नयाँ स्वरुपमा लैजाने बताएका छन् । उनले अभियान सार्थक बन्न सके टीकापुरलाई चिनाउने नयाँ माध्यम पनि बन्ने उनको भनाई छ । त्यसैगरी मालिका ग्रुपका प्रबन्धक तथा समाजसेवी टीकाराम जैशीले पनि अभियानले टीकापुरको भविष्यलाई निर्धारण गरेको बताएका छन् । उनले समाजिक सद्भाव सहितको एकतामा समेत बल पुर्याउने काम अभियनले गरेको बताउँदै राम्रो काममा सबैले साथ दिनुपर्ने बताएका छन् । जैशीले बजारको आफ्नो पसल अगाडिको भागमा गुलाफ रोप्ने देखिको संरक्षण आफैले गर्ने बताए ।
नगरपालिकाले टीकापुरलाई गुलाफको शहर बनाउनका लागि थालेको अभियानमा अन्य विभिन्न निकायहरुले पनि एक्यवद्धता जनाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *