भजनीको आन्तरिक स्रोत बर्सेनि कम्जोर बन्दै

शेयेर गर्नुहोस


भजनी ०८ वैशाख /
भजनी नगरपालिकाको आन्तरिक स्रोत बर्सेनि कम्जोर बन्दै गएको छ ।
नगरपालिकाले बर्सेनि आन्तरिक स्रोतको लक्ष्य करोडौंमा राखे पनि आम्दानी लाखमै सिमित हुन थालेको हो । चालू आर्थिक वर्षमा नगरपालिकाले आन्तरिक स्रोत तर्फ दुई करोड ७५ लाख ८० हजार आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । वर्षको ९ महिना सकिँदा नगरपालिकाको राजश्व लाखमै सिमित छ । चैत मसान्तसम्म नगरपालिका ८५ लाख ८६ हजार ७ सय २७ रुपैयाँ राजश्व संकलन गरेको आर्थिक प्रशासन शाखामा कार्यरत रबिना चौधरीले जानकारी दिएकी छन् ।
उनका अनुसार नगरपालिकाको राजश्वको मुख्य स्रोत सम्पत्ति कर देखिएको छ । सम्पत्ति करबाट चैत मसान्तसम्म नगरपालिका ५१ लाख ६ हजार ९ सय ९६ रुपैयाँ संकलन गरेको छ । सबभन्दा कम भुमीकरबाट चार सय ५० रुपैयाँ राजश्व संकलन भएको छ । नगरपालिका चार लाख ५८ हजार दुई सय २४ रुपैयाँ वहाल कर संकलन गरेको चौधरीले बताइन् । व्यवसायले भुक्तानी गर्नुपर्ने करमा पाँच हजार, सरकारी सम्पत्तिको वहालबाट दुई लाख ५० हजार तीन सय ५०, अन्य सेवा शुल्क तथा बिक्रीबाट चार हजार ६ सय ५७, न्यायीक दस्तुरबाट ८ हजार ९ सय १०, शिक्षा क्षेत्रको आम्दानीबाट दुई हजार तीन सय, परिक्षा शुल्क ९ हजार तीन सय, अन्य प्रशासनिक शुल्कबाट दुई लाख ९१ हजार ९ सय ४० रुपैयाँ राजश्व संकलन भएको छ ।
त्यसैगरी, नक्सापास दस्तुरबाट ८ हजार एक सय ६२, सिफारिस दस्तुरबाट एक लाख ७३ हजार तीन सय, अन्य दस्तुरबाट एक हजार पाँच सय ५०, प्रशासनिक दण्ड जरिवानाबाट २० हजार एक सय, अन्य राजश्व ६३ हजार दुई सय ६५, व्यवसाय कर ९ हजार ९ सय, बेरुजु असुलबाट ८ लाख ५१ हजार दुई सय २३ रुपैयाँ र अन्य करबाट १३ लाख २१ हजार एक सय राजश्व संकलन भएको छ । गत आर्थिक वर्ष लक्ष्य अनुसार राजश्व संकलन नभएपछि चालू आर्थिक वर्षमा १४ लाख २० हजार घटाएर निर्धारण गरिएको थियो ।
करार तथा ज्यालादारी कर्मचारीको तलब नै पुग्दैन
नगरपालिकाको आन्तरिक आम्दानीबाट नगरपालिकाले आफ्नो स्रोतबाट व्यवस्थापन हुने गरी राखेका करार तथा ज्यालादारी कर्मचारीको सेवासुविधा नै नपुग्ने देखिएको छ । नगरपालिकामा ७२ जना करार कर्मचारी नियुक्त छन् । त्यसमध्ये केही करार कर्मचारीको केही सेवा सुविधा संघ सरकारबाट भुक्तानी हुने गरे पनि केही थप सुविधा स्थानीयले बोहोर्ने गरेको छ ।
नगरपालिकाले ज्यालादारीमा मात्रै पनि २६ जनालाई काममा राखेको छ । ज्यालादारीमा राखेका कर्मचारीहरुलाई पनि नगरपालिकाले राम्रै सुविधा उपलब्ध गराउँदै आएको छ । कतिपय ज्यालादारी कर्मचारीको तह निर्धारण गरेर नगरपालिकाले सेवा सुविधा दिने गरेको स्रोतको भनाई छ । उता सामुदायिक चौपाया व्यवस्थापनका लागि नगरपालिकाले २२ जनालाई चौपाया हेरालु भनेर राखेको छ । उनीहरूलाई नगरपालिकाले मासिक रकम भुक्तानी गर्दै आएको छ । “राजश्वको प्रमुख स्रोत मानिएको नगरपालिकाको तालरलैयाको बक्यौता साढे पाँच करोड भन्दा माथी छ । जनप्रतिनिधि गतिला भए त्यसको कुनै टुंगो लाग्थ्यो होला ।, स्थानीय कालुराम चौधरी भन्छन्, “पालिकाको दिगो सम्भावना र जनताको मर्मलाई बुझ्ने कुरा त कता हो कता आफ्ना नातागोतालाई जागिर खुवाउन सकेन भनेर अझै मरिहत्ते गर्छन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *