शेयेर गर्नुहोस
टीकापुर ०९ वैशाख /
टीकापुर नगरपालिकाले विभिन्न प्रयोजनको लागि प्रयोगमा रहेका सार्वजनिक स्थान खाली गर्न जारी गरेको सुचनाको कार्यान्वयन भएको देखिएको छैन ।
गृह मन्त्रालयको पत्रअनुसार नगरपालिका चैत २६ गते एक सुचना जारी गर्दै १५ दिनभित्र विभिन्न प्रयोजनको लागि प्रयोगमा रहेका सार्वजनिक स्थान खाली गर्न सुचना जारी गरेको थियो । त्यसको समयसीमा वैशाख ११ गते नजिकिँदै जाँदा कार्यान्वयन भने कतै नभएको पाइएको हो । अहिले पनि बजार क्षेत्रका चोक तथा चौराहमा र बजार क्षेत्रको सार्वजनिक स्थान व्यापारिक तथा अन्य प्रयोजनको लागि प्रयोग हुँदै आएको छ । त्यस्ता सार्वजनिक स्थानको खाली गर्न नगरपालिकाले निर्देशन दिए पनि त्यसको कार्यान्वयनमा शंका देखिएको छ ।
यसभन्दा पहिले निवर्तमान नगर प्रमुख रामलाल डगौरा थारुले पनि सार्वजनिक स्थान खाली गर्ने भन्दै ठुलै पहल कदमी गरेका थिए । उनको त्यो पहल कदमिका पहिलो पाइलामै ठेस लाग्यो र उक्त कार्य त्यसभन्दा पछि अघि बढ्न सकेन । तर अहिले भने सार्वजनिक स्थान खाली गराउने कुरामा कुनै शंका नभएको प्रमुख प्रशासकीय अधिकृत सुमन धिताल बताउँछन् । उनका अनुसार यसमा टीकापुर उद्योग वाणिज्य संघ पनि सकारात्मक देखिएको छ । “दिएको समयसम्म सबै व्यापारीहरुले अतिक्रमण गरेको ठाउँ खाली गर्नुहुन्छ भन्ने आशा छ ।” उनले भने, “अन्तिममा बल प्रयोग गरेर भए पनि नगरपालिकाले खाली गराउँछ ।”
उनले केही व्यक्ति समुहबाट नगरपालिकालाई सार्वजनिक जग्गाको विषयमा ज्ञापनपत्रसमेत आएको उल्लेख गर्दै नगरपालिकाले निर्धारण गरेको समय सकिएपछि एकपटक ती आएका ज्ञापनपत्रसमेत माथी आवश्यक छलफल र समन्वय गरेर सार्वजनिक स्थान खाली गर्ने निर्णयमा पुगिने उल्लेख गरेका छन् । सार्वजनिक स्थान खाली गर्न भन्दै व्यापारीहरुलाई पुर्व जानकारी अनुसार नगरपालिकाले बजार क्षेत्रमा सुचना समेत आव्हान गर्दै आएको छ ।
जताततै देखिने ठेलाले बजार क्षेत्रलाई कुरुप बनाउँदै आएको छ । न सरकारलाई कर तिर्नुपर्ने, न राज्यको नीति मान्नुपर्ने भएपछि बजारका अधिकांश क्षेत्रमा ठेलामा व्यापार गर्नेको संख्या बढ्दै गएको छ । त्यसमा पनि बजारका चोकचोकमा फलफुल व्यापारी पुग्ने गर्छन् । उनीहरूका लागि कुनै मापदण्ड छैन, मनलाग्दी छ । अर्को व्यापारीहरुले पनि बिक्रिको लागि सामग्री सडक किनार छोपिने गरी राख्ने गरेका छन् । यसले दुर्घटनाको जोखिम समेत बढाएको छ ।
कानुनको अधिनमा रहेर हुने हरेक काममा स्थानीय सरकारलाई सहयोग रहने टीकापुर उद्योग वाणिज्य संघका महासचिव प्रकाश तिमिल्सिना बताउँछन् । उनका अनुसार सार्वजनिक स्थान खाली गर्ने विषयमा पनि कानुन सम्मत कुरामा नगरपालिकालाई सहयोग गर्ने बताए । “सार्वजनिक जग्गा अतिक्रमण गरेर कसैले बस्न वा व्यवसाय गर्न पाउँदैन । यो कुरामा नगरपालिकालाई हामीले सहयोग गर्छौं ।” उनले भने, “तर, व्यापारीलाई दु:ख दिने नियतले कुनै काम भयो भने त्यसमा हाम्रो आपत्ति रहन्छ ।” महासचिव तिमिल्सिनाले कानुनको क्षेत्र अधिकार भित्र रहेर व्यापारीलाई व्यापार गर्न पनि आग्रह गरेका छन् ।










