यातायात कार्यालय लम्कीमा खुल्यो

शेयेर गर्नुहोस


टीकापुर १२ वैशाख /
लामो समयदेखि टीकापुरमा यातायात कार्यालय स्थापनाका लागि निकै बहस चले पनि त्यसले सार्थकता नपाउँदा टीकापुरमा।स्थापना हुने भनिएको यातायात व्यवस्था सेवा कार्यालय लम्कीको बलियामा स्थापना गरिएको छ ।
लम्की क्षेत्रबाट प्रतिनिधित्व गर्ने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार एक विशेष समारोहबीच बलियामा स्थापना गरिएको यातायात व्यवस्था सेवा कार्यालयको उद्घाटन गरेका छन् । मुख्यमन्त्री शाहले नागरिकलाई घरदैलोमै सहज सेवा उपलब्ध गराउने उद्देश्यले कार्यालय सुरु गरेको बताएका छन् । “नागरिकको सुविधाका लागि सेवा कार्यालय सुरु भएको छ, आगामी दिनमा यहाँबाट प्रदान गरिने सेवाहरू थप विस्तार गर्दै लगिनेछ ।” उनले भने, “अब यातायातसँग सम्बन्धित कामका लागि धनगढी जानुपर्ने बाध्यता अन्त्य हुनेछ भने यसक्षेत्रका नागरिकहरुले सहजरूपमा सर्वसुलभ सेवा पाउनेछन् ।”
सङ्घीयता कार्यान्वयन हुनुअघि सुदूरपश्चिममा धनगढी र महेन्द्रनगरमा मात्र यातायात कार्यालय सीमित थिए । प्रदेश सरकार गठन भएपछि डडेलधुरा र डोटीमा कार्यालय यसअघि नै स्थापना भएका थिए । त्यसबेला अहिले लम्की स्थापना भएको यातायात कार्यालय टीकापुर कि लम्की भन्ने अन्योलले टुंगो लाग्न सकेको थिएन । तत्कालीन प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलले यातायात कार्यालय टीकापुर ल्याउन प्रयास गरे पनि त्यो सफल हुन सकेन । अन्ततः लम्की क्षेत्रबाट निर्वाचित भएका मुख्यमन्त्री शाहले आफ्नो क्षेत्रमै कार्यालय स्थापना गर्न सफल भएका हुन ।
प्रदेश मन्त्रिपरिषद्को २०८२ मङ्सिर २४ गतेको निर्णयअनुसार सेवालाई विकेन्द्रित गर्ने क्रममा यो कार्यालय सञ्चालनमा आएको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव विष्णु भण्डारीका अनुसार कार्यालयले गत चैत २४ गतेदेखि नै परीक्षणका रूपमा सेवा सुरु गरिसकेको थियो । त्यसयता बिलबुक नवीकरणको काम सुरु गरिएको थियो । जसबाट १३ लाख रुपैयाँभन्दा बढी राजश्व सङ्कलन भएको छ । उनका अनुसार हाललाई बिलबुक र लाइसेन्स नवीकरण सुरु गरिएको छ, मागअनुसार अन्य सेवा पनि थपिनेछन् ।
कार्यालय सञ्चालनका लागि स्थानीय झुप्रे रावतले पाँच वर्षका लागि सात कोठाको भवन र पार्किङ क्षेत्र निःशुल्क उपलब्ध गराएका छन् । त्यसबेला टीकापुरमा निर्माण व्यवसायी ज्ञानेन्द्र बहादुर शाहीले पनि नि:शुल्क घर उपलब्ध गराउने घोषणा गरेका थिए । उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रेमबहादुर बयक, प्रदेश सभा सदस्य रामेश्वर चौधरी, टीकापुर नगरपालिकाका कार्यवाहक प्रमुख रामबहादुर नगार्जीसहित विभिन्न गाउँपालिकाका अध्यक्ष तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *