राजनीतिक दलको नगर प्रमुखलाई ज्ञापनपत्र

शेयेर गर्नुहोस


टीकापुर ०१ असार /
आउने आर्थिक वर्षको बजेट विनियोजन जनमुखी बनाउन भन्दै टीकापुर स्थित राजनीतिक दलहरूले टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुलाई शुक्रबार ज्ञापनपत्र बुझाएका छन् ।
उनीहरूले विगतमा जस्तो भागबण्डाको आधारमा नभई जनताको मागअनुसार आवश्यकताको आधारमा बजेटको बाड्फाड गर्न भन्दै ज्ञापनपत्र बुझाएका हुन । नेपाली काँग्रेसका टीकापुर नगर सचीव प्रकाश शाह, नेकपा एमालेका नगर अध्यक्ष लक्ष्मण थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति रवीन्द्र बिष्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीका कैलाली क्षेत्र नं. १ प्रदेश २ का सभापति डम्मर बहादुर थापा, नेकपा एकीकृत समाजवादी पार्टीका नगर अध्यक्ष रंग प्रसाद अधिकारी र नेपाल समाजवादी पार्टीका कैलाली जिल्ला अध्यक्ष वीरेन्द्र साउँदले संयुक्तरुपमा नगर प्रमुख थारुलाई ज्ञापनपत्र बुझाएका हुन ।
ज्ञापनपत्रमा आगामी नगरसभाबाट १ नं. वडालाई विभाजन गरी ४ वटा वडामा कायम हुने गरी संघिय सरकारलाई समेत सिफारिस भइसकेको अवस्थामा एक वडा एक गौरवको कार्यक्रम अन्तर्गत १२ वडाको मापदण्ड बनाई १२ वटा गौरवका आयोजना कायम हुने गरी बजेट विनियोजन गर्नुपर्ने, चालु आर्थिक वर्षमा नगरप्रमुख/उपप्रमुखको नाममा गरिएको भागबण्डा प्रक्तिका योजनाहरुमा व्यापक जनगुनोस प्राप्त भएकाले यस्तो प्रकारको रकम विनियोजनका कार्यहरुलाई निरन्तरता नदिन, कोटेशन मार्फत गरिने विकास निर्माणका कामलाई निरुत्साहित गर्दै खुला प्रतिस्पर्धाबाट अगाडि बढ्न, समयमा आन्तरिक राजश्वको स्रोत पहिचान गरी नदीजन्य, घाट, कवाडी निकासी पैठारी, आंप बगैचा, घण्टाघर, कृषि बजार, आइल्यान्ड लगायतका विषय समयमा ठेक्का बन्दोबस्ती गर्न माग गरिएको छ ।
त्यसैगरी सीटी हललाई आयआर्जन हुने गरी व्यवस्थापन गर्न, सामुदायिक विद्यालयको स्वामित्वमा रहेको जग्गामा प्रत्येक वडामा पर्ने गरी एकएक वटा खेलमैदान निर्माण गर्न, बजेट विनियोजन गर्दा वडाको जनसंख्या र राजश्वलाई मुख्य आधार मानी बजेट विनियोजन गर्न र टीकापुर नगरपालिकामा कर्मचारी व्यवस्थापन गर्दा O&M को आधारमा गर्न गराउन पनि माग गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै नगर प्रमुख थारुले राजनीतिक दलहरूबाट आएका सुझावहरुलाई आत्मसात गर्दै आगामी आर्थिक वर्षको बजेटमा ध्यान दिने आश्वासन व्यक्त गरेका छन् । उनले एक वडा एक गौरवको आयोजनाको लागि १० योजना तयार गर्ने गरी छलफल भैरहेको बताएका छन् । “मैले वडा नं. १ लाई चार भागमा विभाजन गरेर चारवटा गौरवका आयोजना बनाउने प्रस्ताव लिएको थिए । अन्य वडा अध्यक्षहरुले त्यसलाई स्वीकार गर्नुभएन ।” उनले भने, “कम्तिमा वडा नं.१ मा दुईवटा गौरवको आयोजना हुने गरी १० गौरवका आयोजना तय गर्ने लगभग सहमति भएको छ ।”
उनले जनसंख्या र राजस्वको आधार हेरर बजेटको बाड्फाड गरिने बताउँदै यसवर्ष डल्लो बजेट राख्ने प्रचलनलाई अन्त्य गरिने बताए । “विगत देखि नै बजेटको विनियोजन जनसंख्या, भुगोल र राजस्व संकलनको आधार बाट हुने गरेको छ । यसवर्ष पनि त्यसैअनुसार हुनेछ ।” उनले भने, “विगतमा अवलम्बन गरेको नगर प्रमुख ६० र नगर उपप्रमुख ४० प्रतिशतको अवधारणालाई निरुत्साहित गर्नेछौं ।” नगर प्रमुख थारुले चालू आर्थिक वर्ष कार्यालय प्रमुखको कारण समयमा आयस्रोत भएका क्षेत्रको ठेक्का हुन नसकेको बताउँदै आउने वर्ष साउनबाटै प्रक्रिया अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *