शेयेर गर्नुहोस
टीकापुर ०७ चैत /
सुदुरपश्चिम प्राविधिक विश्वविद्यालय सञ्चालनका विषयमा टीकापुर नगरपालिकाले सर्वपक्षीय छलफल गरेको छ ।
पटकपटक टीकापुरमा प्राविधिक विश्वविद्यालय सञ्चालनका विषयमा आवाज उठ्दै आएको भए पनि अझै उक्त विषय बहसमै सिमित हुने गरेको छ । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले टीकापुरका हरेक कार्यक्रममा टीकापुरलाई प्राविधिक विश्वविद्यालय उपहार दिने भने पनि त्यो अझै सार्थक बन्न सकेको छैन । बर्सेनि विनियोजन भएको बजेट फ्रीज जाने गरेको छ । यसवर्ष पनि प्रदेश सरकारले पाँच करोड बजेट विनियोजन गरेको छ । विश्वविद्यालय स्थापनाका लागि ऐन बनेर लामो सयदेखि प्रदेश सभामा अड्किए पछि त्यसको निकासका लागि नगरपालिकाले सर्वपक्षीय छलफल गरेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले राजनीतिक दलहरूसँग आआफ्नो दलका सांसदलाई खबर पठाउन आग्रह गर्दै त्यसैअनुसार संसदमा अड्किएको ऐन पारित गरेर विश्वविद्यालय टीकापुरमा स्थापना गर्ने बाटो खोल्न आग्रह गरेका छन् । “नगरपालिका विश्वविद्यालय सञ्चालन गर्नुपर्ने कुरामा दृढ छ । त्यसको सहजीकरण राजनीतिक दलहरूले आआफ्नो क्षेत्रबाट गर्न पर्यो ।” उनले भने, हामी पनि अब बस्ने कार्यपालिकाबाट निर्णय गरेर प्रदेश सरकारलाई विश्वविद्यालयको अधुरो काम चाडो अगाडि बढाउन आग्रह गर्छौं ।”
प्रदेश सरकारसँग समन्वय गर्ने कुरामा राजनीतिक दल एक ठाउँमा उभिएका छन् । उनीहरूले संयुक्तरुपमा प्रदेश सरकारसँग समन्वय गरेर प्राविधिक विश्वविद्यालय टीकापुरमा स्थापना गर्नेको पहल गर्ने प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टीकापुर नगर सभापति रवीन्द्र विष्टले प्राविधिक विश्वविद्यालय स्थापना सँगसँगै त्यसलाई वर्तमान आवश्यकतामा परिमार्जन गर्दै प्रविधिसँग जोडिने गरी काम गर्नुपर्नेमा जोड दिए । नेकपा एमालेका नगर अध्यक्ष लक्ष्मण थापाले विगत लामो समयदेखि आश्वासन मात्रै दिने काम भएको बताउँदै विकासका साझा मुद्दामा सबै एक ठाउँमा उभिनु पर्ने बताएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका रंग अधिकारीले विश्वविद्यालय स्थापनाको काम प्रदेश सरकार आफैले अड्काएर राखेको उल्लेख गर्दै प्रदेशमा केही व्यक्तिको निहित स्वार्थले पटकपटक बहसको विषय मात्रै बन्न थालेको बताएका छन् । उनले विश्वविद्यालय स्थापनाको काम कहाँ रोकिएको छ, त्यो पत्ता लगाउनुपर्ने बताए । पत्रकार परमानन्द पाण्डेले विश्वविद्यालयको प्रक्रिया मुख्यमन्त्री र सभामुखकै कारण रोकिएको उल्लेख गरे । पत्रकार एकिन्द्र तिमिल्सिनाले टीकापुरमा प्राविधिक विश्वविद्यालय आवश्यक छ र चाहियो भनेर हरेक कार्यक्रमले एउटै आवाज प्रदेश सरकारसम्म पुर्याउने काम भएको बताएका छन् ।
जेनजी युवा विष्णु रोकायाले औचित्यका आधारमा विश्वविद्यालय स्थापना गरिनुपर्ने उल्लेख गर्दै विगतमा सञ्चालनमा रहेका कैयौं प्राविधिक शिक्षालय बन्द भएकोमा चिन्ता व्यक्त गरे । सुदुरपश्चिम विश्वविद्यालय कृषि बिज्ञान संकायका डिन प्राध्यापक डाक्टर विष्णु विलास अधिकारीले आवश्यकता र औचित्यका आधारमा विश्वविद्यालय सञ्चालन हुँदा ठिक हुने बताए । उनले प्राविधिक तर्फ पनि नयाँ संकायहरुलाई प्राथमिकता दिएर विश्वविद्यालय स्थापना हुँदा राम्रो हुने भन्दै बिद्यार्थीहरुको चापलाई पनि ध्यान दिन जरुरी भएको उल्लेख गरे । उनले अहिलेसम्म १९ वटा विश्वविद्यालय स्थापना भैसकेको भन्दै विश्वविद्यालयमा विद्यार्थीको संख्या खुम्चिँदै गएको बताएका छन् ।
टीकापुर नगरपालिकाका पुर्व नगर प्रमुख तपेन्द्र बहादुर रावलले विश्वविद्यालयका लागि टीकापुर भन्दा अन्य ठाउँमा उपयुक्त नहुने बताउँदै सबै संयन्त्र प्रतिबद्ध हुँदा पनि पटकपटक बहसको विषय बन्नुले अर्को शंका उत्पन्न गरेको बताएका छन् । उनले विश्वविद्यालयको विषयमा हरेक दलका नेताहरूको फरकफरक धारणा आउने गरेको बताउँदै सबैको एक स्वर बनाउन लाग्नुपर्ने बताएका छन् । पुर्व संविधान सभा सदस्य हरि ज्ञवालीले विश्वविद्यालयका विषयम संयुक्त रुपमा प्रदेश सरकारको ध्यानाकर्षण गराउन आवश्यक रहेको बताएका छन् ।
टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जीले राजनीति दलले चाहे असम्भव कुराहरू पनि सम्भव हुने बताउँदै विश्वविद्यालय स्थापनाको लागि पनि एकताबद्ध हुन आग्रह गरेका छन् । उनले एउटा काम सफल भएपछि मात्रै अर्को योजनालाई अगाडि बढाउनुपर्नेमा जोड समेत दिएका छन् ।










