सडककै कारण वर्षौंदेखि सास्ती खेप्दै हजारौं विद्यार्थी

शेयेर गर्नुहोस

टीकापुर २१ असोज/


टीकापुर बजारहुँदै मुनुवा जोड्ने खाद्य गोदामको सडक वर्षौंदेखि निर्माण नहुँदा हजारौं विद्यार्थी सहितका नागरिकहरूले सास्ती खेप्दै आएका छन् ।
पटकपटक सडक निर्माणका लागि स्थानीय सरकारदेखि प्रदेश तथा संघीय सरकारसँग आग्रह गर्दा पनि सडक निर्माण हुँन नसक्दा उक्त सास्ती नागरिकहरुले खेप्दै आएका हुन । गत आर्थिक वर्ष सोही सडक कालोपत्रेका लागि तीनै तहका सरकारले बजेट विनियोजन गरेका थिए । त्यसमध्ये सुदुरपश्चिम प्रदेश सरकारले केही भाग सडक कालोपत्रे गर्दा टीकापुर नगरपालिकाले सुरु गरेको सडक निर्माणाधीन अवस्थामा छ । पुस मसान्तसम्म उक्त सडक सम्पन्न गरिसक्नुपर्नेछ ।
संघीय सरकारबाट तीन करोड बजेट सडक कालोपत्रेका लागि विनियोजन भएको थियो । गतवर्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सो आयोजनाको बजेट सरकारले कटौती गर्यो । त्यो बजेट कटौती हुँदा चालू आर्थिक वर्षको बजेटमा अस्तव्यस्त सडक संघ सरकारको प्राथमिकतामा पर्न सकेन भने प्रदेश सरकारको बजेट अझै पारित भएको छैन । स्थानीय सरकारको प्राथमिकतामा पनि त्यो सडक परेको छैन ।
“सडकभरी ठुला ठुला खाल्डा छन् । ती खाल्डामा भरिएको पानीले आवागमनमा निकै सास्ती भैरहेको छ ।” स्थानीय प्रेम चौधरी भन्छन्, “सरकार सक्दैन भने अब हामी श्रमदान गरौ । बिहान विद्यार्थीले टलक्क पालिस गरेर स्कुलको जुत्ता लगाएर जान्छन स्कुल पुग्दा सम्मा दुई वर्ष पुरानो जस्तो देखिन्छ ।कपडा भरी हिलोको छिटा मत्रै हुन्छ ।” त्यही सडक भएर आरएमई स्कुल दैनिक हजारौं विद्यार्थी आवतजावत गर्छन् । त्यसैगरी गणेशबाबा इङलिस बोर्डिङ स्कुलमा पनि हजारौं विद्यार्थीको आवागमन त्यहीँ बाटोबाट हुन्छ भने अन्य नागरिकहरूको बाक्लो आवतजावत हुने सडक सरकारको प्राथमिकतामा पर्नुपर्ने चौधरीले बताएका छन् ।
टीकापुर नगरपालिकाको कृषि शाखा पनि त्यतै पर्छ । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गतको कृषि कार्यक्रम कार्यान्वयन इकाई त्यतै पर्छ । महत्त्वपूर्ण सडक भए पनि ध्यान कसैको पुग्न नसकेको स्थानीय सञ्जय चौधरी बताउँछन् । “टीकापुर बजार क्षेत्र भित्र यस्तो नाजुक अवस्थाको अर्को कुनै सडक छैन होला ।” उनले भने, “यत्रो हुँदा पनि सडक निर्माण नहुँदा जनप्रतिनिधिले लाज मान्नुपर्ने हो । कालोपत्रे नभए पनि परेका खाल्डाखुल्डी त ग्राभेल हालेर भर्न सक्ने ल्याकत नगरपालिकाको पनि होला ?”
राजनीतिक पहुँचका आधारमा विकास निर्माणको काम हुँदै आएको भन्दै स्थानीयले सरकारको कार्यशैली प्रती आक्रोश पोखेका छन् । राजनीतिक पहुँच भएकाहरुका घर आगन सम्म सडक कालोपत्रे हुँदा सबैका लागि महत्त्व बोकेको सडक वर्षौंदेखि नाजुक अवस्थामा रहँदा नेताहरू प्रतिको विश्वास सकिएको उनीहरूको भनाइ छ । अर्कोतिर सडकमा आवागमन असहज भएपछि मोटरसाइकल तथा साइकल यात्रीले नालीको भाग प्रयोग गर्दै आएका छन् । जसले अर्को दुर्घटनाको जोखिम बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *