साविकको नाउपाका पाँच जना फरक पार्टीबाट उम्मेदवार

शेयेर गर्नुहोस


टीकापुर २४ माघ /
कैलाली क्षेत्र नं. १ मा तत्कालीन नागरिक उन्मुक्ति पार्टीका पाँच जना फरकफरक दलबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् । २०७९ सालमा स्थापना भएको नागरिक उन्मुक्ति पार्टीमा आबद्ध पाँचजना नेताले फरकफरक दलबाट उम्मेदवार बनेका हुन ।
नागरिक उन्मुक्ति पार्टी नेपाली कम्युनिस्ट पार्टीमा समाहित भए पनि नेता तथा कार्यकर्ता तितरबितर भएका छन् । पार्टीबाट २०७९ को स्थानीय तहको निर्वाचनमा टीकापुर नगरपालिकाको नगर प्रमुखमा विजयी हुनुभएको रामलाल डगौरा थारु नगर प्रमुख पदबाट राजिनामा दिएर नेपाली कम्युनिस्ट पार्टीबाट चुनाव लड्नुभएको छ । थारुलाई तत्कालीन पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले साथ दिनुभएको छ । नागरिक उन्मुक्ति पार्टीका तत्कालीन कैलाली जिल्ला अध्यक्ष प्रदिप कुमार चौधरी उज्यालो नेपाल पार्टीको तर्फबाट उम्मेदवार बन्नुभएको छ ।
उता, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकट पाएकी कोमल ज्ञवाली पनि २०७९ को निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीमै हुनुहुन्थ्यो । नागरिकका अर्का नेता विमल कुमार चौधरी श्रम संस्कृति पार्टीबाट उम्मेदवार बन्नुभएको छ । भने नागरिक उन्मुक्ति पार्टीबाट असन्तुष्ट हुँदै नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गर्नुभएका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेज गरे पनि उहाँले विकल्पको रुपमा स्वतन्त्र उम्मेदवार फागुराम थारु पनि २०७९ को निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीमै रहनुभएको थियो ।
कैलाली क्षेत्र नं. १ मा १८ जना उम्मेदवार चुनावमा सहभागी हुनुभएको छ । त्यसमा छ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । ११ राजनीतिक दल चुनावमा सहभागी छन् । उनीहरू सबैले आफ्नो जीतको दाबी गर्दै आउनुभएको छ । मतदातालाई रिझाउने काममा उम्मेदवारहरु लागिपरेका छन् ।
क्षेत्र नं. १ को अंक गणितीय हिसाब हेर्दा यसभन्दा पहिलेका दुबै निर्वाचनमा थारु उम्मेदवार निर्वाचित भएका छन् । २०७४ सालको प्रतिनिधि सभा सदस्यको चुनावमा २०७२ को घटनाको मुख्य दोषि ठहर मानिएका रेशमलाल चौधरीले छाता चुनाव चिन्हबाट चुनाव जित्नुभएको थियो ।उहाँले ३४ हजार तिन सय ४१ मत प्राप्त गर्नुभएको थियो । त्यसबेलाका उहाँका निकटतम प्रतिद्वन्दी तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका मदन कुमारी शाह (गरिमा) ले १३ हजार चार सय ६ मत, नेपालि काँग्रेसबाट इश्वरी न्यौपानेले ११ हजार दुई सय तिन मत पाउनुभएको थियो ।
२०७९ को निर्वाचनलाई हेर्ने हो भने रेशम संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रतिनिधि सभामा चुनाव जित्नुभएको थियो । उहाँले ३० हजार चार सय चार मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्दी नेपालि काँग्रेसका रामजनम चौधरीले १८ हजार ८१ मत प्राप्त गर्नुभएको थियो भने नेकपा एमालेबाट तपेन्द्र बहादुर रावलले पाँच हजार ९ सय १० मत, राप्रपाका लोकेन्द्र कुँवरले तीन हजार ६ सय ४८ मत प्राप्त गर्नुभएको थियो ।
२०७९ को समानुपातिक मत हेर्दा पनि नागरिक उन्मुक्ति पार्टी पहिलो पार्टी बनेको थियो । पार्टीले २७ हजार चार सय ६, नेपाली काँग्रेसले ११ हजार तीन सय ९५, नेकपा माओवादी केन्द्रले ७ हजार ९ सय ९२, नेपका एमालेले पाँच हजार दुई सय १५, राप्रपाले चार हजार एक सय तीन र राष्ट्रिय स्वतन्त्र पार्टीले दुई हजार पाँच सय १७ मत पाएका थिए ।
कैलाली क्षेत्र नं. १ मा निर्वाचनमा टीकापुर विमानस्थल र सुकुम्बासी समस्या समाधानको विषय प्रमुख एजेण्डा बन्दै आएको छ । टीकापुर विमानस्थल सञ्चालनमा ल्याउने एजेण्डामा सबै उम्मेदवारको एक मत रहेको स्थानीय राजेन्द्र विश्वकर्मा बताउनुहुन्छ । त्यसैगरी टीकापुर बहुमुखी क्याम्पसको जग्गा अतिक्रमण गरेर दुई दशक लामो समयदेखि बसोबास गर्दै आएका सुकुम्बासीलाई दीर्घकालीन व्यवस्थापन गर्ने एजेण्डा सबै उम्मेदवारले बोक्ने गरेको सोही क्षेत्रमा बसोबास गर्दै आउनुभएका प्रकाश टमट्टाले बताउनुभयो ।
“यसभन्दा पहिलेका हरेक निर्वाचनमा उम्मेदवारहरुले सुकुम्बासी वस्तीमा जग्गा उपलब्ध गराउने भन्दै लिखित सम्झौता समेत गर्दै आउनुभएको थियो ।” उहाँ भन्नुहुन्छ, “यसपटक भने उम्मेदवारको बोली फेरिएको छ । उहाँहरु नीति निर्माण तहमा पुगेर स्थायी बसोबासका लागि जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको छ ।” नौवटा शिविरमा झण्डै साढे पाँच हजार घरधुरी रहेको छन् ।
उम्मेदवारले कृषि सम्भावना, पर्यटन प्रवर्द्धन, सत्ती भन्सारमा क्वारेन्टाइन स्थापना, कर्णाली करिडोर निर्माण लगायतका विषयलाई महत्त्व दिएर मत मागिरहेको नागरिक अगुवाको भनाइ छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *