सुदुरपश्चिम अझै औलोको जोखिममा

शेयेर गर्नुहोस


टीकापुर १२ वैशाख /
सुदुरपश्चिम प्रदेशमा आयातीत औलोको जोखिम अझै कायमै रहेको पाइएको छ । सरकारले २०३० सम्म देशभरबाट औलो निवारण गर्ने लक्ष्य राखेको भए पनि स्थानीय भन्दा आयातीत औलोको जोखिम कायमै देखिएको हो ।
गतवर्षको तथ्यांकअनुसार सुदुरपश्चिममा तीन सय ८७ जना औलोका बिरामी भेटिएको तथ्यांक छ । त्यो संख्या लुम्बिनी प्रदेशको भन्दा ३९ ले कम भए पनि प्रदेशमा अन्य प्रदेशको तुलनामा स्थानीय औलोका बिरामीको तथ्यांक १४ रहेको छ । गतवर्ष स्थानीय औलोको बिरामी सबैभन्दा कम पुष्टि भएको गण्डकी प्रदेश रहेको छन् । जहाँ एकजनामा मात्रै स्थानीय औलो पुष्टि भएको थियो । देशभर गतवर्ष ३९ जनामा स्थानीय औलो पुष्टि हुँदा आयातीत औलोका एक हजार एक सय २४ जना बिरामी भेटिएका थिए ।
सुदुरपश्चिममा औलोको सबैभन्दा बढी जोखिममा कैलालीमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट मीनबहादुर धामीले बताउनुभएको छ । उहाँका अनुसार गतवर्ष कैलालीमा दुई सय चारजना औलोका बिरामी फेला परेका थिए । त्यसमध्ये दुईजनामा स्थानीय औलो पुष्टि भएको थियो । प्रदेशको दार्चुला जिल्लामा सबैभन्दा कम दुईजनामा औलो पुष्टि भएको थियो । “भारतबाट आउनेहरुमा सबैभन्दा बढी औलोको जोखिम देखिने गर्छ । अहिले पुष्टि भएकोमा सबैभन्दा बढी भारतबाट फर्केकाहरु छन् ।” हेल्थ असिस्टेन्ट धामीले भन्नुभयो, “स्थानीय औलोको जोखिम बर्सेनि घट्दै गएको छ ।”
गतवर्ष कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा सबैभन्दा बढी ६७ जना औलोका बिरामी भेटिएका थिए । टीकापुर नगरपालिकामा २५ जना औलोका बिरामी भेटिँदा जोशीपुर र चुरे गाउँपालिकामा औलोका बिरामी भेटिएका थिएनन् । यसवर्षमा हालसम्म कैलालीमा दुई सय २१ जनामा औलो पुष्टि भएको टीकापुर नगरपालिकाका जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख बलबहादुर रावलले बताउनुभयो । उहाँका अनुसार पाँचजनामा स्थानीय औलो पुष्टि भएको छ भने बाँकी आयातीत रहेको छ । हालसम्म महुल्याल र चुरे गाउँपालिकामा औलोको बिरामी भेटिएका छैनन् ।
एनोफिलिज जातका संक्रमित लामखुट्टेको टोकाइबाट औलो रोग लाग्ने गर्छ । ज्वरो आउने, टाउको दुख्ने, शरीरमा कम्पन छुट्ने, असाध्यै थकित महसुस हुने, स्वास फेर्न गाह्रो हुने लगायतका लक्षण देखिएमा औलोको संक्रमण हुनसक्ने शाखा प्रमुख रावलले जानकारी दिनुभएको छन् । उहाँका अनुसार नेपालमा १० वर्षको तथ्यांक हेर्दा औलोको जोखिम ९० प्रतिशत कम भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *