शेयेर गर्नुहोस
झलनाथ खनाल, टीकापुर १७ फागुन /
दुई दशकदेखि कैलालीको टीकापुरको एकतानगर सुकुम्बासी शिविरमा बस्दै आउनुभएका राजु विकको सपना एउटै छ लालपुर्जा सहितको जग्गा प्राप्ति । जग्गाजमिन नभएर वर्षौंदेखि घरबासको आशामा बस्नुभएका राजुको त्यो अशा अझै पूरा हुन सकेको छैन । पटकपटक लालपुर्जाको आश्वासन पाउँदै आउनुभएका राजुको सपना पूरा गर्न कसैले सकेको छैन ।
२०६४ सालदेखि हरेक निर्वाचनको बेला लालपुर्जा सहितको आवास उपलब्ध गराउने बताएका राजनीतिक दल, नेता तथा उम्मेदवारहरु हरेक निर्वाचनमा रित्तो वस्तीमा फर्किँदा राजु मन खिन्न हुने गरेको बताउनुहुँन्छ । हरेक निर्वाचनमा भोट बटुल्न सबै उम्मेदवारले प्रमुख एजेण्डा बनाए पनि पूरा गर्ने उम्मेदवार कोहि नभएको उहाँको धारणा छ । “अघिपछि सुनसान हुने सुकुम्बासी वस्तीमा यतिबेला निकै चहलपहल छ । एकपछि अर्को राजनीतिक दल र उम्मेदवार वस्तीमा आश्वासन बाढ्दै भोट माग्दै आउनुहुँन्छ ।” उहाँ भन्नुहुन्छ, “हामीले प्रश्न गर्दा उम्मेदवारसँग विश्वास गर्ने जवाफ हुँदैन । वर्षौंदेखिको जवाफ लालपुर्जा दिने मात्रै हो । त्यो जवाफले सार्थकता नपाउँदा कति वर्ष यसैगरी बस्नुपर्ने हो भन्ने चिन्ताले सताउँछ ।”
लालपुर्जा पाउने आशमा वर्षौदेखि भूमिहीन, सुकुम्बासी, दलित र अव्यवस्थित बसोकासीहरुले हरेक निर्वाचनमा मतदान गर्दै आउनुभएको छ । जिल्लाको तथ्यांक हेर्दा पनि झण्डै डेढ लाख परिवार भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीले उम्मेदवारले आश्वासन दिएकै भरमा आश्वासन दिने उम्मेदवारलाई जिताउँदै आउनुभएको विगतका निर्वाचनले पनि पुष्टि गर्दै आएको छ । घोषणापत्रमा भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा दिने एजेन्डालाई प्राथमिकतामा राखेर उम्मेदवारहरु कैयौं पटक चुनाव जिते पनि सुकुम्बासीकको पूर्जा पाउने सपना पूरा हुन सकेको छैन ।
दुई दशक अगाडि बाजुरामा पहिरोका कारण विस्थापित भएर टीकापुर सुकुम्बासी शिविरमा बस्दै आउनुभएकि बालीका सिंहलाई उम्मेदवारको आश्वासनमा कत्ति पनि भरोसा छैन । वर्षौंदेखि लालपुर्जाको आश्वासन दिएर गएका नेता चुनावको समयमा मात्रै मुख देखाउन आउने गरेको उहाँको भनाइ छ । “आजभोलि भोट चाहिने हुँदा एक आउने, एक जाने भएको छ ।” उहाँ भन्नुहुन्छ, “बर्खाको समयमा हिलाम्मे सडक बन्दा, माटोका घर डुब्न् लाग्दा कोहि आउँदैनन् । चुनाव सकिएपछि जनतालाई के समस्या छ भनेर कोहि आउउँदैन ।”
गर्मीयाम सुरु भएसँगै शिविर वस्तीहरुमा हावाहुरीले घरसँगैका सुकेका रुख कतिबेला घरमा बजारिन्छ्न भन्ने त्रासले रातभर जाग्राम बस्नुपर्ने पीडा जीवितै रहेको त्यस क्षेत्रका नागरिकहरूको गुनासो छ । “घरका अगाडि ठुला सुकेका रुख कतिबेला ढल्छन थाहा हुँदैन । हावाहुरी आएको बेला त्यसैगरी रुख ढलेर बर्सेनि मान्छेको ज्यान गैरहेको छ ।” बिन्द्रा चौधरी भन्नुहुन्छ, “पीडा सुनाउ भने कति छन् कति, सुनिदिने कोहि छैन । त्यो पीडा सम्बोधन गरिदिने कोहि छैन । सबैलाई आफ्नै स्वार्थ पूरा गर्नुछ ।”
गतवर्ष एकतानगर शिविरमा बस्दै आउनु भएकी जवारा बिकको घर अगाडिको रुख हावाहुरीले ढल्यो । धन्न दिउँसोको समयमा सुकेको रुख ढलेका कारण कुनै मानवीय क्षति भने भएन । घर माथी परेका रुखका हाँगा काटेपछि जवाराका श्रीमानले जेल जानपर्यो । “घरमाथी परेका रुखका हाँगा काट्दा मेरो श्रीमानले जेल जानुपरेको थियो । दुई लाख जरिवाना तिर्नुपर्यो ।” जवारा भन्नुहुन्छ, “त्यो पीडा आज पनि ताजै छ । हाम्रो पीडा सुनिदिने कोहि भए त त्यसबेला भन्न सक्थे होलान् । अप्ठ्यारो परेको बेला आफ्नो कोहि हुँदैनन् । स्वार्थ पूरा गर्ने बेला कोहि पराई हुँदैनन् ।”
टीकापुर नगरपालिका भित्र नौवटा सुकुम्बासी, मुक्तकमैया शिविर छन् । लगभग पाँच हजार घरधुरी त्यहाँ बसोबास गर्दै आएको छ । ती वस्तीमा यसभन्दा पहिलेका निर्वाचनमा उठाउँदै आएका चुनावी एजेण्डा यसपटक उम्मेदवारले फेरेका छन् । २०७९ को निर्वाचनमा बसोबास गर्दै आएकै क्षेत्रमा पाँच कठ्ठासम्म जग्गा उपलब्ध गराउने आश्वासन सहित सम्झौता गरेका राजनीतिक दलले यसपटक भने आवश्यक कानुन संशोधन गरेर सुकुम्बासी मुक्तकमैयालाई लालपुर्जा वितरण गर्ने रणनीति अपनाएका छन् । प्रमुख राजनीतिक दलका उम्मेदवारले आफ्नो चुनावी घोषणापत्रमा कानुनी प्रक्रिया पूरा गरेर सुकुम्बासी मुक्तकमैयालाई जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् ।
“विगतका निर्वाचन भन्दा यसपटक प्रायः उम्मेदवारले सुकुम्बासी मुक्तकमैया वस्तीका विषयमा फरक रणनीति बनाएर भोट माग्न आउनुभएको छ ।” सोही ठाउँका विजय चौधरी भन्नुहुन्छ, “पहिले चुनाव जिते लालपुर्जा दिने कुरा हुन्थ्यो, अहिले चुनाव जिते आवश्यक कानुन संशोधन गरेर सबै सुकुम्बासी मुक्तकमैयालाई लालपुर्जा वितरण गर्छौं भन्ने आएको छ ।” उम्मेदवारले लालपुर्जा दिने विषयमा रणनीति फेरे पनि पटकपटक विश्वास घात हुँदै आएकोले विश्वास लाग्न छोडेको उहाँ बताउनुहुँन्छ ।
भूमि समस्या समाधान आयोग कैलालीका अनुसार जिल्लामा एक लाख ४५ हजार पाँच सय ७२ परिवारले जग्गा दर्ताका लागि आयोगको निवेदन भरेका छन् । तीमध्ये २१ हजार पाँच सय ४५ जना भूमिहीन, एक लाख १८ हजार ८ सय १३ अव्यवस्थित बसोबासी र पाँच हजार दुई सय १४ जनाको निवेदन अधुरो रहेको आयोग कैलालीले जनाएको छ । वर्षौंदेखि आफूले भोगचलन गर्दै आएको जमीनको लालपुर्जा पाउनुपर्ने अडानमा सुकुम्बासी मुक्तकमैया छन् ।










