शेयेर गर्नुहोस
टीकापुर ०८ असार /
पतंजलि योग समिति टीकापुरले विभिन्न योग सम्बन्धि प्रतियोगिताहरुका बिजेतालाई पुरस्कार वितरण गरेको छ ।
विभिन्न प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय स्थान हासिल गर्ने २७ जना तथा २२ जना योग शिक्षकहरुलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गरेको हो । आइतबार समितिपुर पतंजलि योग साधना केन्द्रमा भएको अन्तराष्ट्रिय योग दिवस विशेष कार्यक्रममा पुरस्कार वितरणका साथै अन्तराष्ट्रिय योग दिवसको प्रोटोकल अभ्यास, भजन सत्सङ्ग तथा शुभकामना आदान प्रदान कार्यक्रम समेत आयोजना गरिएको थियो ।
पतंजलि योग समिति टीकापुरका अध्यक्ष छबिलाल जैशीको अध्यक्षतामा भएको कार्यक्रममा पतंजलि योग समिति सुदूरपश्चिम प्रदेश सदस्य तारा खरेल प्रमुख अतिथि रहेकी थिइन भने टीकापुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष यज्ञ प्रसाद न्यौपाने विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा सम्बोधन गर्दै खरेलले योगलाई गाउँगाउँसम्म फैलाउन आवश्यक रहेको बताएकी छन् । शहरी क्षेत्रमा योगको विस्तार भएपनि ग्रामिण क्षेत्रमा अँझैसम्म योगको विस्तार गर्न नसकिएकोले यसलाई टीकापुरका सबै वडाहरुमा पुर्याउन पहल गर्नुपर्नेमा खरेलले जोड दिइन् ।
कार्यक्रममा वडा अध्यक्ष न्यौपानेले योगले मानिसलाई शारीरिक तथा मानसिक हिसाबले पनि स्वस्थ बनाउने भएकोले टीकापुर नगरपालिकाले पनि योगलाई उच्च प्राथमिकता दिएर अगाडि बढ्ने धारणा राखेका छन् । पतंजलि योग महिला समिति टीकापुरका महासचिव जगत कुमारी जैशीले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष उपेन्द्र प्रसाद खनालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमा पतंजलि योग समिति कैलाली जिल्ला उपाध्यक्ष सर्वनन्द चपाई, जिल्ला महिला समिति उपाध्यक्ष ज्ञानु पोख्रेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
हरेक वर्ष अंग्रेजी पात्रो अनुसार जुन २१ तारिखमा अन्तराष्ट्रिय योग दिवस मनाउने गरिन्छ । सन् २०१५ देखि मनाउन थालिएको अन्तर्राष्ट्रिय योग दिवस ११ वर्ष पुरा भएर १२ वर्ष लागेको छ । यस वर्ष अन्तर्राष्ट्रिय योग दिवसको नारा ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ रहेको थियो ।










