८१ लाखभन्दा बढीको सामाग्री कोटेशन मार्फत खरिद

शेयेर गर्नुहोस


टीकापुर ३० साउन /
टीकापुर नगरपालिकाले गत आर्थिक वर्ष २०८१/०८२ मा ८१ लाख भन्दा बढी मुल्यको सामाग्री कोटेशन मार्फत खरिद गरेको छ ।
नगरपालिकाले गत आर्थिक वर्ष विभिन्न शिर्षकमा ८१ लाख ३६ हजार तीन सय ६८ रुपैयाँको सामाग्री कोटेशन मार्फत खरिद गरेको हो । जसमा रेनकोट देखि मोटरसाइकल समेत खरिद गरिएको छ । समाधान न्युज दैनिकले सुचनाको हक प्रयोग गरेर मागेको सूचना अनुसार उपलब्ध विवरणमा गत वर्ष चार लाख ६२ हजार ७ सय ३५ रुपैयाँका रेनकोट नगरपालिकाले खरिद गरेको छ । जसका लागि पाँच लाख १९ हजार एक सय २५ रुपैयाँ बजेट विनियोजन भएको थियो ।
मसलन्द तथा कार्यालय सामाग्री अन्तर्गत सरसफाइ सामाग्री मात्रै ६ लाख ६७ हजार तीन सय २१ रुपैयाँ खर्च भएको देखिन्छ । नगरपालिकाले उक्त कार्यका लागि ७ लाख विनियोजन गरेको थियो । ८ लाख विनियोजन गरेको मसलन्द तथा कार्यालय सामग्री अन्तर्गत स्टेसनरी सामग्री खरिदमा ७ लाख ६० हजार एक सय ६७ रुपैयाँ खर्च भएको देखाइएको छ । दुईवटा बिधालयका लागि नगरपालिकाले कोटेशन मार्फत दुई लाख २३ हजार ७ सय ९४ रुपैयाँको कार्पेट खरिद गरेको छ भने जहाँ तीन लाख बजेट विनियोजन भएको थियो ।
कार्यालयका लागि फर्निचर र फिक्सचर ८ लाख ११ हजार ६ सय ७९ रुपैयाँ खर्च भएको छ । नगरपालिकाले वडा कार्यालयको लागि गत वर्ष पाँच लाख ४० हजार एक सय ७३ रुपैयाँको मोबाइल खरिद गरेको छ । त्यसैगरी पोशाक खरिदमा चार लाख ६१ हजार तीन सय ११ रुपैयाँ खर्च भएको उपलब्ध विवरणमा उल्लेख छ । जनसेवा ग्रामीण विद्युत सहकारीका लागि नगरपालिकाले ६ लाख ३० हजार ९ सय ९२ रुपैयाँ खर्च गर्दा वडा नं. ४ ले एक लाख ४८ हजार दुई सयको एबिसी केवल कोटेशन मार्फत खरिद गरेको छ ।
नगरपालिकाले गत आर्थिक वर्षमा कोटेशन मार्फत मोटरसाइकल समेत खरिद गरेको पाइएको छ । जसमा ८ लाख ९६ हजार ७ सय रुपैयाँ खर्च भएको बताइएको छ । टीकापुर पार्कका लागि चार लाख २८ हजार ७ सय रुपैयाँमा स्मार्ट बोर्ड खरिद भएको देखाइएको छ भने वीरेन्द्र बिद्यामन्दिर बहुमुखी क्याम्पसको कार्यालय व्यवस्थापनका लागि चार लाख ९८ हजार एक सय चार रुपैयाँ खर्च गरेको छ । त्यसैगरी वडा नं. ५ को ७५ प्रतिशत अनुदानमा पाँच लाख ९७ हजार पाँच सय १० रुपैयाँको बोरिङ जडान गरिएको बताइएको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा भ्रमण खर्च पदाधिकारी शिर्षकको १५ लाखमा पाँच लाख ३३ हजार चार सय ५६ रुपैयाँ खर्च गरेको उपलब्ध विवरणमा उल्लेख छ ।

ताजा खबर

शुक्रबारदेखी भर्ना अभियान सुरु

एक वर्ष अगाडि सकिँदै पुलको काम

फेरि उठ्यो तालतलैया बक्यौताको विषय

Leave a Reply

Your email address will not be published. Required fields are marked *