शेयेर गर्नुहोस
टीकापुर ०५ असोज /
टीकापुर नगरपालिका वडा नं. १ का लालबहादुर गुरुङ उमेरले ८७ पुगे ।
उमेरले ८७ पुगेका उनको समाजप्रतिको दृष्टिकोण भने अझै जवान छ । देख्दा सामान्य लाग्ने तर महत्त्वपूर्ण काममा समय खर्च गर्दै आएका लालबहादुर यतिबेला टीकापुरको खडक चोकमा रहेको स्वर्गीय खड्गबहादुर सिंहको सालिकको संरक्षणमा जुटेका छन् । बजारको मुख्य चोकमा रहेको टीकापुरको परिकल्पनाकारका रुपमा चिनिने स्वर्गीय खड्गबहादुर सिंहको सालिकलाई फुलबुट्टा भर्ने काम लालबहादुरले गर्दै आएका छन् । सिंहको सालिकको वरिपरिको सरसफाइमा उनको व्यस्तताले स्थानीय सरकारलाई खुला चुनौती दिएको छ ।
उनले महिनौं लगाएर सिंहको सालिक भित्रको भागको सरसफाइ गरेर फुल फुलाउन सफल भएका छन् । केही महिनामा सो क्षेत्र मनमोहक बन्न विश्वास उनको छ ।सालिकको मर्मतसम्भार लालबहादुरले गरेपछि त्यसको साख झन बढेर जाने विश्वास उनी बताउँछन् । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक विषयसँग जोडिएका विषयमा सबैको ध्यान पुग्न आवश्यक रहेको लालबहादुरले बताएका छन् । लगानी गरेर मात्रै ऐतिहासिक महत्त्व बोकेका क्षेत्रको संरक्षण नहुने बुझाइ उनको छ ।
“मठ मन्दिरहरुमा राज्यको ठूलो लगानी छ । त्यसको संरक्षण र सम्बर्द्धनमा कसैको ध्यान पुदैन ।” गुरुङ भन्छन्, “जुन हाम्रो इतिहाससँग जोडिएको कुरा हो त्यसको संरक्षण र सम्बर्द्धनमा हाम्रो निगरानी हुनुपर्छ ।” नागरिकहरूमा पनि आफ्नो कर्तव्यको बोध हुन नसकेको उनको बुझाई छ । त्यहीँ खडक चोकमा महिनैपिच्छे कार्यक्रम हुने भए पनि सिंहको सालिक रहेको स्थानको सरसफाइ र संरक्षणमा कसैको ध्यान पुग्न नसकेको लालबहादुर बताउँछन् ।
उनको खडक चोकमा मात्रै नभई टीकापुरमा रहेको गुम्बाको संरक्षण र सम्बर्द्धनमा पनि विशेष भुमिका रहेको छ । अहिले पनि अधिकांश समय बौद्ध गुम्बामा लालबहादुरको बित्ने गरेको छ । “हाम्रो संस्कृति र इतिहासलाई बचाउन सकिएन भने भोलिको पुस्ताले त्यसको महत्त्व समेत बुझ्ने छैनन् र इतिहास नै हराएर जानसक्ने स्थिति बन्न सक्छ ।” उनले भने, “त्यो इतिहास कायम राख्नका लागि त्यस क्षेत्रको संरक्षण र नयाँ पुस्तालाई ज्ञान दिन आवश्यक छ ।” उसो त उनी बिहानको समय टीकापुरको सडकमा बेथित गर्दै आएका छन् । आफ्नो शरीरले गर्न सक्ने काममा उनले वर्षौदेखि सरसफाइ लगायतका कामहरू गर्दै आएका छन् ।
टीकापुरको इतिहासलाई नजिकबाट चिनेका लालबहादुरको कामलाई कैयौंले प्रशंसा पनि गरेका छन् । बूढो शरीरले समाजप्रति देखाएको सहानुभूतिले स्थानीय सरकारलाई चुनौती थपेको चन्द्रकान्त अधिकारीले बताए । “एउता व्यक्ति समाजका लागि यतिसम्म गर्न र सोच्न सक्छ भने हाम्रो सरकारमा इच्छाशक्ति भए त कैयौं कामहरू हुन सक्ने रहेछन् ।” उनले भने, “एउटा सडक चिल्लो बनाएर त्यस क्षेत्रको गरिमालाई बचाउन सक्दैन । त्यसका लागि लालबहादुरबाट स्थानीय सरकारले धेरै कुरा सिक्न आवश्यक छ ।”
नागरिकहरुमा पनि समाजप्रतिको चिन्ता हुन आवश्यक सिकाइ लालबहादुरबाट सिक्नुपर्ने कैयौंले बताउने गरेका छन् ।










