शेयेर गर्नुहोस
टीकापुर ०९ भदौ /
दोस्रो कोरोना संक्रमणको बेला टीकापुर अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने उद्देश्यले नागरिकहरूबाट संकलन भएको पैसाको खोजी भएको छ ।
दोस्रो कोरोना संक्रमणको समयमा अक्सिजनको अभावबाट अधिकांशले ज्यान गुमाएको बेला टीकापुर सरोकार समुह, टीकापुर उद्योग वाणिज्य संघ र टीकापुर अस्पतालको संयुक्त प्रयासमा नागरिकहरूले स्वैच्छिक रुपमा दिएको पैसाको कुनै उपलब्धि नदेखिएपछी यतिबेला त्यसको खोजी सुरु भएको हो । संकटको बेला सकि नसकी पैसा दिएका नागरिकहरूले आफुले दिएको पैसा खोजी गरेपछि यतिबेला अक्सिजन प्लान्टको जडान गर्ने भन्दै उठाएको पैसा अक्सिजन प्लान्टमा खर्च नहुँदा सबैको चासोको विषय बनेको छ ।
टीकापुर सरोकार समुह त्यसबेला आधिकारिक बन्न सकेको थिएन । तर समाजका प्रबुद्ध व्यक्तिहरुको संलग्नताले संस्थाको मर्यादा माथी थियो । त्यसबेला समुहका महासचिव नवराज भट्टराई त्यो रकम संकलन गर्ने व्याक्ती मध्ये एक हुन । त्यस्तै टीकापुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष रामबहादुर भण्डारी र टीकापुर अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष दिपक रावलको नाममा संयुक्त बैंक खाता खोलेर रकम संकलन र जम्मा गर्ने काम भएको थियो । आज अस्पतामा र टीकापुर उद्योग वाणिज्य संघका नयाँ नेतृत्व आइसकेको छ । सरोकार समुहका महासचिव भट्टराई भने अहिले पनि महासचिव नै छन् ।
उनले त्यसबेला संकलन भएको रकम आज पनि समुहको नाममा बैंक खातामा सुरक्षीत रहेको बताएका छन् । “त्यो बेलाको स्थिति हेर्दा निकै संकटपुर्ण अवस्था थियो । मानिसहरू अक्सिजन नपाएर मर्नु पर्ने स्थितिमा थिए । हामीले अक्सिजनको सहज पहुँचका लागि अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने भनेर नागरिक स्तरमा सहयोगको अपिल गरेका थियौं ।” उनले भने, “पछि अक्सिजन प्लान्ट सरकारले जडान गरेपछि अस्पतालमा प्रयोगशाला भवन निर्माण गर्ने भनेर निर्णय गरेर शिलान्यास भएको थियो । पछि अस्पतालको नेतृत्व परिवर्तन भएसँगै त्यो प्रयोगशाला निर्माण हुन सकेन ।”
उनका अनुसार त्यसबेला संकलन भएको केही रकम अक्सिजन खरिदमा र केही औषधि खरिदमा पनि खर्च भएको थियो । बाँकी रहेको ५३ लाख रुपैयाँ समुहको खातामा दाखिला गरिएकोमा हाल उक्त रकम व्याज सहित ६४ लाख पुगेको महासचिव भट्टराईले बताए । “त्यो रकमबाट एक पैसा पनि अन्य काममा खर्च भएको छैन । पैसा सुरक्षीत छ ।” भट्टराईले भने, “अस्पतालको लागि संकलन भएको रकम अस्पतालमै खर्च गर्ने गरी प्रयोगशाला भवनको लागि खर्च गर्ने भनेका छौँ ।” उनले वास्तविक कुरा नबुझेर समाजिक संजालमा लेख्न हतार नगर्न पनि आग्रह गरेका छन् ।