अपराधका विरुद्ध प्रहरी क्रूर भएर प्रस्तुत हुन्छ : अधिकारी

शेयेर गर्नुहोस


टीकापुर ०३ असोज /
इलाका प्रहरी कार्यालय टीकापुरको प्रमुखका रुपमा आएका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले लागुऔषध दुर्व्यसनी न्यूनीकरण र गुण्डागर्दी प्रति प्रहरी क्रुर भएर प्रस्तुत हुने बताएका छन ।
मंगलबार सञ्चारकर्मीहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै प्रहरी नायब उपरीक्षक अधिकारीले समाजको शान्ति सुरक्षा नै प्रहरीको प्रमुख दायित्व भएको बताउँदै बढ्दै गएको लागुऔषध दुर्व्यसन र गुण्डागर्दी प्रति प्रहरी क्रूर भएर प्रस्तुत हुने बताएका हुन । उनले झैझगडा र अवैध क्रियाकलाप भैरहेको बारेमा प्रहरीलाई सूचना दिन आग्रह समेत गरेका छन् । ‘जस्तो अवस्था आउँछ हामी त्यसरी नै प्रस्तुत हुन्छौं । प्रहरीको काम शान्तिसुरक्षा कायम गर्नु हो र हुनेछ ।” उनले भने, “ढुक्क भएर त्यस्तो कुनै सूचना भए हामीलाई उपलब्ध गराउनुस् । त्यसमा प्रहरीले खेल्नुपर्ने भुमिकामा सधैं अग्रपंक्तिमा रहेर काम गर्ने छ ।”
उनले बढ्दो लागुऔषध विरुद्ध समेत प्रहरी कडा रुपमा प्रस्तुत हुने गरी तयारी भैरहेको बताउँदै नेपाल प्रहरीले देशैभर लागु औषध नियन्त्रण महाअभियान सुरु गर्ने तयारी गरिरहेको जानकारी दिएका छन् । उनले सबै स्थानीय पालिकासँगको सहकार्यमा प्रहरीले महाअभियान सञ्चालन गरिने बताएका छन् । प्रहरी नायब उपरीक्षक अधिकारीले महाअभियान अन्तर्गत लागुऔषध कारोवारी र सेवनकर्तालाई पक्राउ गर्नुका साथै आमनागरिकसँग जनचेतनामूलक कार्यक्रम समेत अघि बढाईने बताए ।
प्रहरीको व्यवसायिक काममा सहयोग गरेर समाजको हितमा काम गर्न सञ्चारकर्मीहरुलाई आग्रह गर्दै उनले समाजको शान्ति सुरक्षाको जिम्मेवारी प्रहरी जत्तिकै पत्रकारहरुको पनि भएकाले व्यवसायिक अपेक्षा रहेको बताएका छन् । १६ वर्ष अघि प्रहरी निरिक्षक पदमा नेपाल प्रहरीको जागिर सुरु गरेका अधिकारी प्रहरी प्रधान कार्यालयबाट सुरुवा भएर आएका हुन । उनले यसअघि पर्वत जिल्लाको प्रमुखका रुपमा कार्य सम्पादन गरिसकेका छन ।
यसअघिका दुईजना प्रहरी नायब उपरीक्षक छोटो समयमै सरुवा भएपछि टीकापुरमा डिएसपी नटिक्ने चर्चा चुलिएको बेला अधिकारीको कार्यशैलीलाई चासोका साथ हेरिएको छ । यही चर्चाका बिच टीकापुर पुगेका अधिकारीका अघि थुप्रै चुनौती रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *