अबैध रुपमा नेपाल प्रवेश गर्ने भारतीय नागरिक बढे

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर ०१ चैत /
सरकारले भारतसँग सीमा जोडिएका सिनानाका खुला गर्ने निर्णय गरे पनि कैलालीको सत्ती भन्सार नाका अझै आवत–जावतका लागि खुला हुन सकेको छैन । भन्सार नाका नखुल्दा पनि अहिले दैनिक सयौं भारतीय नागरिकहरु लुकिछिपी नेपाल प्रवेश गर्ने गरेका छन् ।
खुला सीमानाका कारण नेपाली तथा भारतीय नागरिकहरु लुकिछिपी नेपाल–भारत प्रवेश गर्ने गरेको भए पनि सीमा प्रहरी प्रशासन मुकदर्शक जस्तै बनेको छ । पहिले सत्ती भन्सार कार्यालयमा मात्र सीमा सुरक्षा प्रहरीको क्याम्प रहँदा लुकिछिपी आउने क्रमलाई रोक्न चुनौती रहे पनि अहिले एक किलोमिटरको दुरीमा सीमा सुरक्षा प्रहरीको क्याम्प स्थापना भएको छ । तर, पनि अवैध रुपमा प्रवेश गर्नेहरुको क्रम भने घट्नुको साटो दिन प्रतिदिन बढ्दै गएको छ । सरकारले भारतीय नागरिक–हरुलाई गृह मन्त्रालयको अनुमती सहित कोरोना नेगेटिभ भएको सर्टिफिकेट अनिवार्य गरेको छ । त्यही गृह मन्त्रालय मातहत रहेको सशस्त्र प्रहरीले सीमाको पहरेदारी गर्दै गर्दा सयौं भारतीय नागरिकहरु निर्वाध रुपमा नेपाल प्रवेश गर्दा स्थानीयले प्रहरीमाथि नै प्रश्न गर्न थालेका छन् ।
भारतको तिकुनियाँका हरिश कुरेसीले प्रहरीको आँखा छलेर आफूहरु कामका लागि नेपाल प्रवेश गरेको बताउँदै प्रहरीले भेटाएको अवस्थामा एक सयदेखि सय रुपैयाँसम्म लिने गरेको समेत बताए । ” नेपाल नआएर घरमा चुलो बल्दैन । दिनभरी संकलन गरेको कवाडी सामान बेचेर घर चलाउछौ ।” कुरेसीले भन्नुभयो, ” प्रहरीलाई पैसा दिएर भएपनी नेपाल आउनु हाम्रो बाध्यता हो । दैनिक दुईसय भन्दा बढी दैनिक नेपाल आउछन होला ।”
खक्रौला बीओपीका प्रमुख पदमराज भट्टले भन्सारमा सामान आयात निर्यात भए पनि मानिसहरुको आवतजावत भने नभएको दाबी गर्नुभएको छ । उहाँले भारतीय नागरिकहरु नेपाल प्रवेश गरेको सूचना आफूहरुलाई पनि आएको बताउँदै लुकिछिपी प्रवेश गर्ने ती नाकाहरुमा आफ्नो कार्यक्षेत्र नपरेको बताउनुभयो ।
“पहिले खक्रौला बीओपीबाटै हेर्नुपर्ने अवस्था थियो । अहिले कौवाखेडा, कालाकुण्डामा बीओपी स्थापना भइसकेपश्चात् हाम्रो कार्यक्षेत्र घटेको छ ।” भट्टले भन्नुभयो, “हाम्रो क्षेत्रबाट कोही पनि प्रवेश गरेको छैनन । हामीले मातहतको निकायमार्फत् पाएको आदेशलाई पूर्णरुपमा कार्यान्वयन गरेका छौं ।”
उता, कालाकुण्डा बीओपी प्रमुख केशव गोइलाले भारतीय नागरिकहरुलाई रोक्नका लागि आफै लागिपरेको बताउँदै आफ्नो कार्यक्षेत्रभन्दा बाहिरबाट भारतीय नागरिकहरु प्रवेश गर्ने गरेको बताउनुभयो। “पथरैया र मोहना नदीको संगम स्थलबाट भारतीय नागरिकहरु नेपाल प्रवेश गरिरहेका छन् । पथरैया नदी तरेर जान सक्ने अवस्था छैन ।” गोइलाले भन्नुभयो, “नदीका कारण पनि अवैधरुपमा आवागमन बढेको छ । सबैभन्दा बढी नागरिकको आवागमन हुने अहिलेको मुख्य प्वाइन्ट जसबहादुर घाट हो ।”
चोरीका नाकाबाट भारतीय नागरिकमात्र नभई त्यही मात्रामा नेपालीहरु भारतीय बजार दैनिक उपभोग्य सामानका लागि जाने गरेका छन । “हामीलाई आवागमनका लागि निर्देशन त छैन । तर, केही व्यवहारिक रुपमा पनि काम गर्नुपर्ने अवस्था हुन्छ ।” गोइलाले भन्नुभयो।
तमरियाघाट बीओपी इन्चार्ज मुक्ति खड्काले प्रहरीले २४ सै घण्टा ड्युटी दिन नसक्ने भन्दै प्रहरीका आँखा छलेर नागरिकहरुको आवागमन हुने गरेको बताउनुभयो । “एक क्षेत्रमा गयो, अर्को क्षेत्रबाट प्रवेश गर्छन् । हामीले प्रयास भने गर्दै आएका छौं ।” खड्काले भन्नुभयो, “भारतीय नागरिकहरुसँग स्थानीयको पनि संलग्नता भएका कारण प्रहरी आएको खबर उनीहरुलाई पुर्याउने गरेका छन् ।” नदीकै कारण सीमा सुरक्षामा चुनौती थपिएको खड्का बताउनुहुन्छ ।
अहिले भारतसँग जोडिएका सीमा नाकाहरु खुकुलो हुँदै जाँदा र नागरिकहरुको आवागमन बढ्दा भन्सार कार्यालयको राजश्व संकलनमा समेत गिरावट आएको छ । भन्सार कार्यालयमा अघिल्ला ५ महिनाको तुलनामा पौष र माघ महिनामा राजस्वमा गिरावट आएको सत्ती भन्सार कार्यालय खक्रौलाका भन्सार प्रमुख बिमलकुमार शाहले बताउनुभयो । भन्सार कार्यालयले मंसिर महिनासम्ममा बार्षिक लक्ष्य पूरा गरिसकेको भएपनी पछिल्ला २ महिनामा राजस्व संकलनमा केही कमी देखिएको शाह बताउनुहुन्छ । भन्सार प्रमुख शाहका अनुसार मंसिरमा १ करोड ४८ लाख ४७ हजार, पौष महिनामा १ करोड ४२ लाख ४७ हजार र माघमा १ करोड ३४ लाख २५ हजार राजस्व संकलन गरिएको छ ।
अहिले कैलालीको सिमाक्षेत्रमा १४ बिओपी स्थापना भएका छन । भन्सार सिमाबाट आवागमन असहज हुनथालेपछि नागरिकहरुले चोरीका सिमानाको प्रयोग गर्दै आएका छन । यस्ले सिमावर्ती क्षेत्रमा चोरीका घटनमा समेत वृद्धि भएको छ । गाईभैसी, बाख्रा र अन्य घरायसी सामानहरु चोरी हुनथालेपछी स्थानिय त्रसित समेत बनेका छन ।

ताजा खबर

बैंकर्स क्लब गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *