अब को बन्ला नगरपालिकाको कार्यवाहक नगर प्रमुख ?

शेयेर गर्नुहोस


टीकापुर ०५ माघ /
टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारु आसन्न फागुन २१ गतेको निर्वाचनमा प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिने भएका छन् ।
२०७९ बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा टीकापुर नगरपालिकाको नगर प्रमुखमा विजयी भएका थारु फागुन २१ गतेको प्रतिनिधि सभाको सदस्यका लागि नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवारी दिने भएका हुन । २०७९ मा स्थापना भएको नागरिक उन्मुक्ति पार्टीबाट नगर प्रमुखमा चुनाव जितेका थिए । कार्यकाल नसकिँदै राजिनामा दिएर थारु प्रतिनिधि सभाको निर्वाचनमा होमिएका हुन ।
नगर प्रमुख थारुले आज आइतबार नगरपालिकाको १८ औं नगर सभाको दोस्रो बैठकबाट राजिनामा दिने जानकारी दिएका छन् । “मैले प्रतिनिधि सभाको उम्मेदवारका लागि टिकट पाएपछि आज त्यहीँ नगर सभामा राजिनामा दिन्छु ।” उनले भने, “यदि उम्मेदवारी दर्ताको समय थप गर्ने कुरा आएको छ । त्यसो भएर समय थप भयो भने चाहिँ राजीनामा नदिन पनि सक्छु ।”
थारु प्रतिनिधि सभाको उम्मेदवार बन्ने भएपछि अब नगरपालिका नगर प्रमुख र उपप्रमुख बिहिन बनेको छ । नगर उपप्रमुख खडक बहादुर शाह यसभन्दा पहिले नै निलम्बित भएका थिए । नगर प्रमुख थारु प्रतिनिधि सभाको निर्वाचन लड्ने भएपछि नगरपालिका प्रमुख र उपप्रमुख बिहिन बन्ने भएको हो ।
नगर प्रमुख थारु प्रतिनिधि सभाको निर्वाचनको उम्मेदवारी दिने भएपछि यतिबेला नगरपालिकाको बाँकी कार्यकालको नेतृत्वका लागि आन्तरिक हानथाप सुरु भएको छ । अब नगरपालिकाको नेतृत्व कसले लिने भन्ने बहस र आकांक्षीले आन्तरिक रणनीति सुरु गरेका छन् । नगर प्रमुख नहुँदा उक्त पद उपप्रमुखमा जाने भए पनि नगर उपप्रमुख पनि नभएको खण्डमा जेष्ठ कार्यपालिका सदस्यले बाँकी समय जिम्मेवारीमा रहने वा कार्यपालिकाको बहुमतले नेतृत्व चयन गर्ने व्यवस्था रहेको छ ।
तर, कार्यवाहक नगर प्रमुख सहमतिको आधारमा टुंगो लाग्ने सम्भावना भने निकै न्यून देखिएको छ । अहिले जेष्ठताको आधारमा नेपाली काँग्रेसबाट कार्यपालिका पुगेका रामबहादुर नगार्जी पहिलो आकांक्षिको रुपमा छन् । उनी सहमतिको आधारमा भएमात्र कार्यवाहकको जिम्मेवारी पाउन सक्छन् ।
उता, वडा नं. ७ का वडा अध्यक्ष यज्ञप्रसाद न्यौपानेले आफू बाँकी कार्यकाल कार्यबाहक नगर प्रमुखको जिम्मेवारीमा रहने गरी तयारी थालेका छन् । उनले तत्कालीन नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा चुनाव जितेका थिए ।
नागरिक उन्मुक्ति पार्टीबाट चुनाव जितेका वडा नं. ४ का वडा अध्यक्ष लालबीर चौधरीले आफ्नो दाबी प्रस्तुत गरेका छन् । दुई कार्यकाल वडा अध्यक्ष भएका लालबीर सबै सम्भावनाले त्यो परिस्थिति आए आफू तयार रहेको बताउँछन् । यतिबेला नागरिक उन्मुक्ति पार्टी नेपाली कम्युनिस्ट पार्टीमा समाहित भैसकेको छ । यो स्थितिमा तत्कालीन नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टी एक ठाउँमा उभिन सक्ने स्थिति पनि छ । त्यसो हुँदा कार्यपालिका सदस्य बीच निर्वाचन हुँदा वर्तमान नेकपाबाट साझा उम्मेदवार कार्यवाहक नगर प्रमुखमा विजयी हुने निश्चित छ ।
कार्यपालिकामा अहिले १७ जना सदस्य छन् । अंकगणितका हिसाबले तत्कालीन नागरिक उन्मुक्ति पार्टीबाट कार्यपालिकामा सातजना सदस्य छन् । नेकपा माओवादी केन्द्रबाट चारजना कार्यपालिका सदस्य छन् भने नेपाली काँग्रेसबाट पाँचजना छन् । एकजना नेकपा एमालेबाट कार्यपालिकामा प्रतिनिधित्व गर्दै आएका छन् । उसरी हेर्दा नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीको एकताबाट नगरपालिकामा बहुमत प्रयाप्त हुन्छ । जहाँ १२ जना कार्यपालिका सदस्य हुनेछन् । साविककै दलअनुसार पदको दावी गर्दै चुनाव हुने स्थिति हो भने नागरिक उन्मुक्ति पार्टीको सम्भावना बलियो देखिन्छ ।
नेपाली काँग्रेसले सहमति हुन नसक्ने स्थितिमा कार्यवाहक नगर प्रमुखका लागि उम्मेदवार खडा गर्ने स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *