शेयेर गर्नुहोस
झलनाथ खनाल, टीकापुर ११ फागुन /
राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गत निर्माण भैरहेको विद्युत हाइड्रोपावरको काम अन्तिम चरणमा पुगेको छ ।
जानकी गाउँपालिका वडा नं. ९ कटाक्षे क्षेत्रमा निर्माण भएको चार मेगावाट क्षमताको विद्युत हाइड्रोपावर आयोजनाको काम अन्तिम चरणमा पुगेको हो । आयोजनाले भवन निर्माण र नहरको सबै काम सम्पन्न गरिसकेको छ भने अहिले मेसिनरी सामानको जडानको काम हुँदै आएको छ । गतवर्ष असार मसान्तसम्म मुख्य नहरमा पानी छोड्ने लक्ष्य भएपनि कोरोना संक्रमणका कारण समयमै काम सम्पन्न हुन नसक्दा आयोजनाको काम लम्बिएको हो । आयोजनाले असार मसान्तसम्म सबै काम सम्पन्न गरेर मंसिर महिना भित्र विद्युत जलाउने लक्ष्य राखेको भएपनि अझै आयोजनाको काम सम्पन्न हुन समय लाग्ने भएको छ ।
रानी जमरा कुलरिया सिँचाइ आयोजनाका प्रमुख केदार श्रेष्ठले चालू आर्थिक वर्षको अन्तिमसम्म काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीले काम गर्दै आएको बताउनुभएको छ । उहाँले कोरोनाको कारण समयमै आयोजनाको काम सम्पन्न गर्न नसकिएको बताउँदै बाहिरी काम सम्पन्न भएपनि मेसिन जडानको काम सुरु भएको बताउनुभयो । “काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जानकारी दिएको छ । सम्भवत असार मसान्तभित्र काम सम्पन्न हुन्छ होला ?” आयोजना प्रमुख श्रेष्ठले भन्नुभयो, “गत कार्तिकमा आएको बाढीका कारण पनि आयोजनाको काम लम्बिएको हो । बाढीले आयोजनामा क्षति पुर्याउँदा त्यसको मर्मतसम्भारमा पनि समय लागेकोले आयोजनाको काम समयमै सम्पन्न हुन नसकेको हो ।”
तुदी कन्स्ट्रक्सनले हाइड्रोपावर निर्माणको जिम्मा पाएको छ । हाइड्रोपावरसँगै छ किलोमिटर नहर र ५ किलोमीटर कर्णाली नदीमा तटबन्धको जिम्मा पाएको कन्स्ट्रक्सनले तटबन्ध र नहरको काम सम्पन्न गरिसकेको छ । करिब दुई अर्बको लागतमा निर्माण भएको आयोजनाको ९० प्रतिशत काम सम्पन्न भैसकेको निर्माण कम्पनीले बताएको छ । हाइड्रोपावरबाट उत्पादन भएको विद्युत लम्की स्टेशनबाट राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ । ४ दशमलव ७६ मेगावाट विद्युत उत्पादन हुनेछ । राष्ट्रिय गौरवको आयोजनाले हाइड्रोपावरको आयोजनालाई विषेश महत्त्वका साथ लिएको छ ।
निर्माण कम्पनीका इन्जिनियर उदय पोख्रेलले असारसम्म विद्युत उत्पादन गरेर हस्तान्तरण गर्ने गरि आयोजनाको काम भैरहेको बताउनुभएको छ । उहाँले नहर र तटबन्धको ९९ प्रतिशत काम सम्पन्न भैसकेको र हाइड्रोपावरको ९० प्रतिशत काम सम्पन्न भएको बताउँदै कोरोनाको संक्रमणका कारण ढिलाई भएको बताउनुभयो । “हामीले गत आर्थिक वर्षको अन्तिमसम्म सबै काम सम्पन्न गरेर हस्तान्तरण गर्ने भनेका थियौं । कोरोनाको कारण समयमै काम सम्पन्न गर्न नसक्दा त्यो हुन सकेन ।” इन्जिनियर पोख्रेलले भन्नुभयो, “बैशाखसम्ममा हाइड्रोपावरको परिक्षण गर्ने तयारी गरेका छौं । असारमा सबै काम सम्पन्न गरेर हस्तान्तरण गर्छौं ।”
उहाँले अहिले मेसिनरी जडानको काम भैरहेको बताउँदै मेसिनरी जडानको काम सकिएपछि परिक्षण गरिने र त्यसपछि विद्युत लाइन जोडेर लम्की विद्युत स्टेशनबाट राष्ट्रिय प्रशारण लाइनमा जोडेपछि हस्तान्तरण गरिने बताउनुभयो ।