शेयेर गर्नुहोस
टीकापुर ६ साउन/
टीकापुर अस्पताललाई कोइकाले दिएको एम्बुलेन्स झण्डै दुई वर्षदेखि अस्पताल परिसरमा थन्किएको छ ।
अस्पतालको से १ झ २२२ नम्बरको एम्बुलेन्स मर्मतसम्भारका लागि बजेटको सुनिश्चितता नहुँदा झण्डै दुई वर्षदेखि अस्पताल परिसरमा थन्किएको हो । सेवाग्राहीका लागि निकै महत्त्वपूर्ण एम्बुलेन्स लामो समयसम्म थन्किँदा त्यसको फाइदा अन्यले लिएका छन् । अस्पताल प्रशासनका अनुसार एम्बुलेन्स मर्मतसम्भारका लागि झण्डै साढे ९ लाख लाग्ने स्टिमेट आएपछि एम्बुलेन्स मर्मत गर्न सकिएको छैन । ” हामीले एम्बुलेन्स मर्मतका लागि स्टिमेट माग गरेका थियौं । त्यो निकै महंगो आयो । त्यत्रो साढे ९ लाख स्रोत जुटाउन सकिएन ।” अस्पतालका मेडिकल रेकर्डर अधिकृत पदम राज भट्टले भने, “फेरि सामान अनि सबै कोरियाबाट मगाउनु पर्ने हुँदा झन झन्झट देखिएको छ ।”
एम्बुलेन्सको सामान्य सामान पनि कोरियाबाट ल्याउनुपर्ने भएका कारण एम्बुलेन्सको मर्मतसम्भार खर्च बढी लाग्ने अनुमान गरिएको छ । १२ वर्ष सञ्चालनमा आएको सो एम्बुलेन्स पाँच लाख किलोमीटर चलेको चालक कृष्ण शाही बताउँछन् । उनका अनुसार सानो नट बोल्ड हराउँदा पनि दुईतीन महिना लगाएर कोरियाबाट ल्याउनुपर्ने बाध्यता रहेको छ । “अहिले इम्जिनमा समस्या छ । गेयर बक्समा समस्या छ । लगभग सबै मर्मतसम्भार गर्दा १५ लाखसम्म भेटाउँछ होला ।” उनले भने, “यत्रो खर्च गरेर फेरि कति दिन चल्ने भन्ने पनि हुन्छ । त्यसैले कोइकासँग अर्को एम्बुलेन्स माग गरेका छौँ ।”
एम्बुलेन्स चालक शाहीलाई अहिले शब बाहन चलाउने जिम्मेवारी दिइएको छ । अहिले प्रायः टीकापुर नगरपालिका वडा नं. १ ले सञ्चालनमा ल्याएको शब बाहन बढी प्रयोगमा आउन थालेपछि अस्पतालको शब बाहन खासै प्रयोगमा आउँदैन । अस्पतालको एम्बुलेन्स चालक शाही यतिबेला फुर्सदिला छन् । स्रोतका अनुसार उनी आफ्नो निजि गाडीमा भाडामा लगाएर चलाउने गर्छन् । प्रायः शाही आफ्नो गाडी भाडामा लगाएर टीकापुर नेपालगन्ज ओहोरदोहोर गर्ने गरेको बताइन्छ ।
अस्पतालसँग तीनवटा एम्बुलेन्स छन् । जसमध्ये अहिले सुदुरपश्चिम प्रदेशले दिएको एम्बुलेन्स मात्रै सञ्चालनमा छ । त्यो एम्बुलेन्स पनि भरपर्दो र विश्वसनीय छैन । त्यस्तै अस्पतालसँग एउटा शव बाहन छ । जुन अस्पताललाई टीकापुर सरोकार समुहले उपलब्ध गराएको थियो । त्यसैगरी एउटा जिप र तीनवटा मोटरसाइकल छन् ।
ती सवारीसाधन पार्किङका लागि बनाएको अस्पतालको पार्किङ यतिबेला चमेनागृहको रुपमा परिणत भैसकेको छ । अस्पतालले सवारी पार्किङलाई चमेनागृह बनाउँदा अस्पतालका सवारीसाधन खुला आकाश मुनि पार्किङ हुन थालेका छन् । पानी आउँदा भिज्ने, घाम लाग्दा घामको रापले तात्ने हुँदा सवारीसाधन कति दिन टिक्लान भन्ने अन्योलता सिर्जना गरिएको छ । पार्किङ मिचेर चमेनागृह बनाएको अस्पतालले अर्को पार्किङ स्थल निर्माण गर्न सकेको छैन । ट्रस सहितको पार्किङ निर्माण गर्नुपर्ने भएको हुँदा त्यसको निर्माणका लागि अस्पताल प्रशासन अहिलेसम्म बेखबर बनेका छन् ।










