शेयेर गर्नुहोस
टीकापुर १९ असोज /
टीकापुर अस्पतालले आ.व. २०८०/०८१ को सामाजिक परिक्षाणको प्रारम्भिक प्रतिवेदनमा छलफल तथा सुझाव संकलनको कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रेम कुमार राईले अस्पतालले नियमित रुपमा दिइरहेका न्युनतम सेवा मापदण्डअनुसार प्रथम पटक सामाजिक परिक्षाण कार्यक्रम गर्न लागेको बताउँदै त्यसैअनुसार सुझाव माग गरिएको बताएका छन् । उनले अस्पतालको नियमित मापदण्डअनुसार १०० मा मापन गर्दा अस्पतालले ८१ अंक प्राप्त गरेको बताउँदै अझै बढी मेहनत गरि आउँदा दिनहरुमा शतप्रतिशत अंक ल्याउनु पर्ने गरि काम गर्नुपर्ने बताएका छन् ।
“अस्पतालमा निकै समस्याहरु छन्, त्यसका बाबजुद पनि हामीले अस्पताललाई राम्रो बनाउन खोजीरहेका छौँ ।” उनले भने, “हामीसँग विभिन्न विशषेज्ञ डाक्टर छन् तर उपकरण छैनन् । बिरामीहरुका लागि प्रयाप्त शय्या छैन ।” उनले अस्पतालले विगतक भन्दा अहिले स्वस्थ्य क्षेत्रमा सकारात्मक लय लिइरहेको बताएका छन् । कार्यक्रममा परामर्शदाताका मीन बहादुर शाहीले सार्वजनिक परिक्षाण भन्दा सार्वजनिक सेवा प्रदान गर्ने संस्थाहरुले संस्थाका सम्पुर्ण क्रियाकलाप पारदर्शी गराउनु ती संस्थाहरुको दायित्व भित्र पर्ने बताएका छन् । सामाजिक परिक्षाण अस्पतालमा सेवा लिन आएका एक सय जना सेवाग्राहीबाट आएको परिक्षाणका आधारमा प्रतिवेदन तयार पारेको उनले बताएका छन् ।
टीकापुर अस्पतालको आयोजनामा भएको कार्यक्रमको परामर्शदाता सङ्कल्प रिसर्च एण्ड डेभलपमेन्ट सन्सल्टेन्सी टीकापुरले रहेको थियो भने अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष झपट सोडारीको अध्यक्ष्ातामा भएको कार्यक्रम सञ्चालन सुचना अधिकृत पदम राज भट्टले गरेका थिए ।
प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा अस्पतालबाट एक लाख ४५ हजार तीन सय ७३ जनाले बहिरंग सेवा लिएका छन् भने ३३ हजार चार सय ३२ जनाले आकस्मिक सेवा लिएका छन् । प्रतिवेदनको तथ्यांकलाई हेर्दा अस्पतालमा दिनप्रतिदिन बिरामीहरुको संख्या बढ्दै गएको पाइएको छ । १७ करोड ८८ लाख ९९ हजार एक सय २० रुपैयाँ आय तर्फ देखिँदा १६ करोड ८५ लाख चार हजार चार सय १६ रुपैयाँ खर्चमा देखिएको छ । साथै एक करोड तीन लाख ९४ हजार ७ सय तीन रुपैयाँ मौज्दात देखाएको छ ।










