आजबाट मालपोतमा कुपन सिस्टम लागू

शेयेर गर्नुहोस


झलनाथ खनाल,
टीकापुर ०७ असोज
/ मालपोत कार्यालय टीकापुरमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन नसक्दा कार्यालयले सेवाग्राहीहरुका लागि कुपन सिस्टम लागू गरेको छ ।
कोरोना भाइरस नियन्त्रणका लागि यसअघि अपनाइएका सावधानीले सेवाग्राहीको भीड कम नभएपछि कार्यालयले कुपन सिष्टम लागू गरेको हो । मालपोत कार्यालयले दैनिक ४० जना सेवाग्राहीलाई मात्र सेवा दिने गरी कुपन सिस्टम लागू गर्न लागिएको मालपोत कार्यालय टीकापुरका प्रमुख दलबहादुर चन्दले जानकारी दिएका छन् । ‘यसअघि एक दिनमा एक स्थानीय तहका सेवाग्राहीको काम गर्दै आएका थियौं ।’ कार्यालय प्रमुख चन्दले भने, ‘त्यो सम्भव देखिएन । सेवाग्राहीको भीड थेग्न सक्ने सामथ्र्य नहुँदा कुपन सिस्टम सुरु गर्नु परेको हो ।’
कुपन सिस्टम सुरु गरेपछि सेवाग्राहीले पहिलेको जस्तो हप्ता दिनसम्म सेवा लिनका लागि पर्खनु पर्ने छैन । तर, दिनमा ४० वटा कुपन मात्र वितरण गरिने भएो हुँदा कार्यालयमा सामाजिक दुरी र स्वास्थ्य मापदण्ड कार्यान्वयन हुने मालपोत कार्यालयको विश्वास छ ।
गत भाद्र ४ गतेदेखि कैलालीमा भएको निशेधाज्ञा असोज १ गते खुलेसँगै मालपोत कार्यालयले हप्ताको ६ दिनमा एक स्थानीय तह रहने गरी समय निर्धारण गरेको थियो । आइतबार टीकापुर नगर–पालिका, सोमबार लम्कीचुहा नगरपालिका, मंगलबार जानकी गाउँपालिका, बुधबार बर्दगोरिया गाउँपालिका, बिहीबार जोशीपुर गाउँपालिका र शुक्रबार महुन्याल गाउँपालिका र भजनी नगरपालिकाका सेवाग्राहीलाई सेवा दिने गरी सूचना जारी गरेको थियो । आइतबारदेखि लागू हुने गरी जारी भएको मालपोत कार्यालयको सूचना तीन दिन पनि टिकेन । ‘हामीले एक हप्ताको लागि यो सूचना जारी गरेका थियौं । तर, यसले समस्या समाधान भन्दा झनै बल्झायो ।’ चन्दले भने, ‘तत्काल उक्त सूचनालाई परिमार्जन गरेका छौं । सेवा दिने हाम्रो कर्तव्य हो । तर, स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्र कार्यालय प्रवेश गरिदिन सेवाग्राहीलाई आग्रहसमेत गर्दछु ।’
पहिलेको सूचनाको चौतर्फी बिरोध र आलोचना हुन थालेपछि मालपोत कार्यालयले नयाँ शैली अपनाएको हो । कुपन बिहान १० बजेदेखि साढे १२ बजेसम्म मात्र वितरण गरिने भन्दै कार्यालय प्रमुख चन्दले उक्त कुपन दोस्रो कार्यान्वयन नहुने जानकारी दिएका छन् ।
‘कोरोनाका कारण सबैभन्दा जोखिमयुक्त क्षेत्र मालपोत पनि हो । देशैभरिका मालपोत कार्यलयहरुले आ–आफ्नो योजनाअनुसार स्वास्थ्य मापदण्ड अपनाई काम गर्दै आएका छन् ।’ कार्यालय प्रमुख चन्दले भने, ‘नेपाल सरकारको स्वास्थ्य मापदण्ड अपनाउन पनि आवश्यक छ भने भीडभाड बढी हुने भएका कारण कर्मचारीहरु जोखिममा छन् ।’
उनले कुपन लिनका लागि सेवाग्राही स्वयम् लिखित फाइल वा निवेदन ल्याएर आउनु पर्ने भन्दै भनसुन र फोन सम्पर्कबाट कुपन रोक्ने काम नहुने बताएका छन् । १३ वटा स्थानीय तह रहेको कैलाली जिल्लामा ७ वटा स्थानीय तहका सेवाग्राहीहरुले मालपोत कार्यालय टीकापुरबाट सेवा लिँदै आएका छन् । त्यसमा पनि टीकापुर नगरपालिका र लम्कीचुहा नगरपालिकाका सेवाग्राहीहरु भने अत्याधिक रहेको मालपोत कार्यालय प्रमुख चन्द बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *