शेयेर गर्नुहोस
सम्पादकीय
देश अहिले ७४औँ प्रजातन्त्र दिवसको उत्सवमय उत्साहमा छ । फागुन ७ गतेका दिन ७४ वर्ष पहिले नेपालीहरु रैतीबाट वास्तविक अर्थमा जनता बनेको इतिहास धेरै टाढा छैन । आजैका दिनबाट नेपालले एकतन्त्रीय जहानीय शासनबाट मुक्ति प्राप्त गरेर प्रजातान्त्रिक शासनको बाटोमा अग्रसर हुने अवसर प्राप्त गरेको थियो । देशमा हालसम्म जनताका अधिकार सुनिश्चितताका सन्दर्भमा जे जति आन्दोलन र क्रान्ति भए ती सबैको जग २००७ साल फागुन ७ मा प्राप्त भएको प्रजातन्त्र नै हो भन्दा फरक नपर्ला ।
आज पनि प्रजातन्त्र वा लोकतन्त्रको सर्वोत्तम विकल्प प्रजातन्त्र वा लोकतन्त्र नै हो भन्ने कुराबाट कोहि बिचलित छैनन् । विश्वमा यहीमात्र यस्तो शासन शैली हो जसले आफूमा रहेको कमजोरी स्वीकार गर्दै जनतालाई अधिकारसम्पन्न बनाउन तथा देशमा विकासको खाका कोर्न आफूलाई सच्याइउँदै आवश्यक परिवर्तन गर्दछ । नेपालको राजनीतिक विकासक्रमको लेखाजोखा गर्ने हो भने २००७ सालमा स्थापित प्रजातन्त्र राष्ट्र निर्माणका सन्दर्भमा महत्वपूर्ण प्रस्थानविन्दु भएको कुरामा दुईमत छैन । त्यतिमात्र नभई शासनका संरचनाहरु निर्माणको आधारशिला पनि २००७ साल नै हो । देशमा पहिलो पटक कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका गठनको औपचारिक प्रक्रिया सुरु भएको सन्दर्भ, कानुनी शासनको जग बसाउने कार्य, भौतिक पूर्वाधार निर्माणको आवश्यकता बोध हुन थाल्नु, शिक्षा र स्वास्थ पनि देशका लागि आवश्यक विषय हुन भन्ने बोध पनि २००७ सालले गरेको हो भन्ने कुराला दुईमत छैन । जनताका अधिकार र पहिचानका विषयले स्वर प्राप्त गर्ने अवस्थाको निर्माणका पक्षमा २००७ फागुन ७ गते महत्त्वपूर्ण दिन भयो ।
२००७ साल फागुन ७ को इतिहासलाई आज केलाउँदा धेरै कुरा देशले प्राप्त गरिसक्नुपर्ने स्थिति भने थियो । किनभने त्यसपछिका विभिन्न घटनाक्रमले धेरै परिवर्तनहरु भएको देखिन्छ । उसरी हेर्दा सात दशकको अवधीमा नेपाली जनताले सोचेको विकास हुन नसकेको भएपनि तुलनात्मक रुपमा धेरै कुराको विकास भएको पनि मान्न सकिन्छ । त्यसलाई जसरी प्रजातन्त्र हुँदै सशस्त्र जनयुद्ध, २०६२/०६३ को जनआन्दोलनको जगमा प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै अब जनताको आवश्यकता र देशको समृद्धिमा अगाडि बढ्नुको विकल्प छैन भन्ने कुरामा कसैको विमति नहोला । त्यसैले हामीले इतिहासलाई साक्षी राखेर आगामी दिनमा समृद्धिको यात्रा तय गर्दा विगतका उपलब्धिलाई पनि संस्थागत गर्दै लजान सकिने स्थिति देखिन्छ ।