आन्तरिक पर्यटकको गन्तव्य बन्दै कैलालीको मुलपानी

शेयेर गर्नुहोस


झलनाथ खनाल / टीकापुर ११ साउन
कैलालीको टीकापुर नगरपालिका वडा नं. २ जनशक्ति सामुदायिक वनसँग जोडिएको मूलपानी आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।
कुनै समय सुनसान रहने सामुदायिक वनको सो क्षेत्रमा अहिले दैनिक एक हजारभन्दा बढी आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन् । सामुदायिक वनले खाली स्थानबाट सडक ग्राभेलका लागि ग्राभेल उठाएपछि उक्त ठाउँमा जमिनबाट पानी निस्किएर दुईवटा तलाउ बनेपछि अहिले गर्मी छल्न भन्दै सयौं आन्तरिक पर्यटकहरु मूलपानी पुग्ने गरेका छन् । पानी शुद्ध देखिने भएका कारण पनि सनिवार र सार्वजनिक बिदाको दिन सो क्षेत्रमा अत्याधिक भिड हुनेगरेको छ । दुईवटा तलाउ बनेपछि एकाएक लोकप्रिय बनेको मुलपानी राम्रो पर्यटकीय गन्तव्य बन्न सक्ने त्यहा पुगेका पर्यटकहरू बताउँछन् । आजभोलि दुईवटा तलाउमा नुहाउनेको भिड देख्न सकिन्छ । सामुदायिक वनले तलाउलाई व्यवस्थित बनाएको छ । एउटा तलाउ महिलाहरू र अर्कोमा पुरुषहरुको लागि व्यवस्था मिलाएको छ ।
जानकी गाउँपालिका वडा नं. ७ का नवराज बाब्लीले स्रोत र साधनको परिचालन गरी सो क्षेत्रलाई व्यवस्थित गर्न सके पर्यटकहरुका लागि अझै महत्वपूर्ण क्षेत्र बन्न सक्ने बताउउनुभएको छ । “अहिले यो क्षेत्रको प्रचार–प्रसार पनि हुन सकेको छैन । कर्णाली नदीको तटमा भएका कारण पनि यसको सम्भावना प्रचुर छ ।” नवराजले भन्नुभयो, “स्थानीय सरकार र वन व्यवस्थापन समितिले मूलपानी क्षेत्रलाई महत्वका साथ लिन सके नगरपालिकाको आम्दानीको स्रोत बन्न सक्ने निश्चित छ ।”
त्यस्तै, टीकापुर नगरपालिका वडा नं. १ का भरत भण्डारीले मूलपानी क्षेत्रको प्रचार–प्रसार हुन सके आम्दानीका लागि राम्रो माध्यम बन्ने भन्दै मुलपानीसंग टीकापुर पार्क र कर्णाली चिसापानीको पुललाई जोड्न सक्ने सडको बिस्तार गर्नसके त्यसको महत्त्व अझै थपिने बताउनुभयो। “अहिले मूलपानी पुग्ने आन्तरिक पर्यटकहरु टीकापुर आसपासका मात्रै छन् । भोलि यसको प्रचार–प्रसार भएको खण्डमा बाह्य पर्यटकहरुलाई पनि सो क्षेत्रमा भित्र्याउन सकिन्छ ।’ भण्डारीले भन्नुभयो, ” चिसापानी पुलदेखी कर्णालीको किनार हुँदै सडक बिस्तार गर्न सके अझै सम्भावना बढेर जाने निश्चितै छ ।”
राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिचाई आयोजनाले कर्णाली नदिमा तटबन्ध गर्दै आएको छ । त्यही तटबन्धसंगै चिसापानी हुँदै टीकापुर भएर सडक संजाल विस्तारको सम्भाब्यता समेत खोजी भैरहेको बेला मुलपानी पनि पर्यटकहरुका लागि राम्रो गन्तव्य हुने भण्डारी बताउँनुहुन्छ ।
मूलपानी घुम्न पुग्नुभएका टीकापुरका चन्द्रकान्त अधिकारीले मूलपानको संरक्षणमा संरचनागत विकास हुन सके भविष्यमा राम्रो उपलब्धी हासिल हुन सक्ने बताएका बताउनुभयो । “जंगलको छेउस्थित मूलपानी थुप्रै सम्भावनाहरुले पर्याप्त छ । तर त्यसको संरक्षण र सम्बर्द्धनमा सरोकारवाला निकायसम्म पुर्याउने भुमिका अहिले जरुरी देखिन्छ ।”अधिकारीले भन्नुभयो, “भोलिका दिनामा मूलपानीसम्म आउने पर्यटकहरुका लागि जंगल सफारीसमेतको व्यवस्था गर्न सके स्थानीय सरकारको आयस्रोत मात्र बढ्दैन थुप्रैका लागि रोजगारीको अवसर पनि हुनेछ ।”
अहिले मूलपानी क्षेत्रमा कर्णाली नदीसँगै जंगल अवलोकनका लागि जनशक्ति सामुदायिक वनले भ्युटावरको निर्माण गरिरहेको छ । त्योसँगै वनले आम्दानीका लागि मूलपानी क्षेत्रसम्म पुग्ने पर्यटकहरुबाट १० रुपैयाँ टिकटको समेत व्यवस्था गरेको छ । यसले पर्यटकहरुबाट संकलन भएको रकमले सामुदायिक वनले सो क्षेत्रमा अन्य संरचनागत विकास गर्न सक्ने वनका अध्यक्ष दीर्घबहादुर तिरुवा बताउँनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *