शेयेर गर्नुहोस
टीकापुर २४ वैशाख /
गर्मी मौसममा हुने प्राकृतिक विपदको सामना गर्ने एउटा मात्रै आधार मध्येको एक हो दमकल ।
स्थानीय तहलाई अतिआवश्यक स्रोत हो । त्यसको व्यवस्थापनका लागि प्रायः स्थानीय तहले खासै चासो दिएको पाइँदैन । कैलालीको दक्षिण पुर्वी क्षेत्रमा चारवटा पालिका छन् । चारवटा पालिका मध्ये टीकापुर नगरपालिकासँग दमकल हुँदा अन्य भजनी नगरपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिका दमकल बिहिन छन् । टीकापुर नगरपालिका लगायत अरु स्थानीय तहको भरमा रहेका पालिका अन्य महत्वाकांक्षी वस्तुको खरिदमा भने अगाडि देखिएका छन् । प्रायः ती स्थानीय तहमा प्रमुख तथा उपप्रमुखका लागि गाडी छन् । महत्वाकांक्षीका सवारीसाधन खरिद गर्ने स्थानीय तहलाई पालिकाको लागि अत्यावश्यक दमकल खरिद गर्ने सोच आउन सकेन ।
भजनी नगरपालिकाले अहिलेसम्म दुईवटा गाडी खरिद गरिसकेको छ । जनप्रतिनिधि देखि कर्मचारीहरुका लागि मोटरसाइकल बर्सेनि खरिद गर्दै आएको छ । विपदबाट सबैभन्दा बढी जोखिममा रहेको भजनी नगरपालिकाले विपद पुर्व तयारीका लागि दीर्घकालीन सोचका साथ काम गर्न सकेको छैन । अझै केही दिन अगाडि नगरपालिकाको वडा नं.३ स्थिति हुलाकी सडकसँगै जोडिएको लिप्टिस बारीमा आगलागी हुँदा आगो निभाउनका लागि हारगुहार गर्नुपरेको नगरपालिकालाई आफ्नै दमकल भएको भए अरुको आस्रित बन्नुपर्ने थिएन ।
जानकी गाउँपालिकाले पनि अध्यक्ष र उपाध्यक्षका लागि दुई गाडी खरिद गरेको छ । गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीहरुलाई मोटरसाइकल पनि दिएको छ । वडा सचीवको रुपमा काम गरिरहेका कर्मचारी र शाखा प्रमुखहरु सरकारी गाडीमा सवार गर्छन् । महत्वाकांक्षीका सवारीसाधनका लागि करोडौं खर्च गर्न कन्जुस्याइँ नगर्ने गाउँपालिकालाई दमकल खरिदको सोच आउन सकेन । ठूलो धनजनको क्षति हुनबाट जोगाउनका लागि अरुको भर पर्नुपर्ने बाध्यतालाई गाउँपालिकाले सहजै लिएको छ । आज गाउँपालिका भित्र कतै आगलागी हुँदा टीकापुर र लम्कीचुहासँग हारगुहार गर्नुपर्ने बाध्यतामा गाउँपालिका छ ।
टीकापुर नगरपालिकाको भएको एकमात्र दमकल नगरपालिका भन्दा अन्य पालिकामा बढी प्रयोग भएको पाइन्छ । शुक्रबारसम्मको स्थितिमा जानकी गाउँपालिकामा भएका आगलागीका घटनामा पाँचपटक टीकापुरको दमकल प्रयोग भएको छ । जोशीपुर गाउँपालिकामा दुईपटक दमकल प्रयोग हुँदा भजनी नगरपालिकाले एकपटक टीकापुरको दमकल माग गरेको छ । लम्कीचुहा नगरपालिकासँग दमकल हुँदा पनि टीकापुरको दमकल तीनपटक लम्कीचुहा पुगेको छ । “जहाँ आवश्यक भयो त्यता नगरपालिकाको दमकल पठाउने गरेका छौँ । यदि त्यहीँ अवस्थामा आफ्नो क्षेत्रमा पनि त्यस्तै घटना भयो भने पहिलो प्राथमिकता आफ्नै क्षेत्रलाई हुन्छ ।” नगरपालिकाकी वन वातावरण तथा विपद शाखाकी प्रमुख निर्मला चौधरीले भनिन्, “त्यस्तै समस्या पर्यो भने हामीले पनि अन्य पालिकाबाट दमकल मगाउने गरेका छौँ ।”
उसो त टीकापुर नगरपालिकामा दुईवटा दमकल छन् । पुरानो दमकल मर्मतसम्भार नहुँदा प्रयोगविहीन अवस्थामा पुगेको छ । चौधरीका अनुसार नयाँ दमकल पनि पटकपटक बिग्रने गरेको छ । “दिनप्रतिदिन आगलागीका घटना बढिरहेका छन् । एउटै दमकल त्यहीँ पनि कतिबेला के हुने हो थाहा छैन ।” उनले भनिन्, “एउटा पालिकामा दुईवटासम्म दमकल भयो भने विपदका घटनाबाट हुने क्षतिलाई कम गर्न सकिन्छ ।” उनले छिमेकी पालिकाहरुमा पनि दमकल उपलब्ध भएको खण्डमा विपदका घटनाबाट हुने क्षति कम गर्न सकिने बताएकी छन् ।