आफ्नै नेतृत्वबाट ठगिएका मुक्तकमैया सुकुम्बासी

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर १६ साउन /
टीकापुरमा सबैभन्दा राजनीतिक थिचोमिचोमा परेको समुदाय भनेकै मुक्तकमैया सुकुम्बासी शिविरमा बस्दै आएको समुदाय हो ।
सुगम क्षेत्रमा पनि दुर्गम भन्दा बढी कष्टकर जीवनयापन गर्दै आएको त्यो समुदाय चौतर्फी घेराबन्दीमा छ । कुनै राजनीतिक दलको जुलिस निकाल्न पर्यो त्यहीँ शिविरको जनमानस चाहिन्छ । कुनै सभा समारोहलाई सभ्य अनि भब्य बनाउनका लागि त्यहीँ शिविरको नागरिक चाहिन्छ । त्यतिमात्र होइन निर्वाचनमा निर्णायक नतिजाको लागि पनि त्यहीँ शिविरको जनता चाहिन्छ । उसरी भन्दा राजनीतिक रुपमा सबैभन्दा बढी प्रयोग हुने जनता त्यहीँ शिविरको हो । जहाँ आफ्नो इच्छा भन्दा बाध्यतामा धेरै काम गर्नुपर्छ ।
त्यो बाध्यताले दुई दशक पूरा गर्न थालेको छ । नगरपालिका भित्र रहेका ९ वटा शिविरका सुकुम्बासीहरु दुई दशकदेखि उचित बासस्थानको प्रतीक्षा गरिरहेका छन् । त्यो प्रतीक्षामा पटकपटक आशाका किरणहरु झुल्कने गरेको भए पनि अन्ततः ती आशाका किरणहरुलाई पुनः कालो मडारिएको बादलले छेक्ने गरेको छ । कयौं दु:ख कष्टलाई झेल्दै अरुको जग्गामा बसेर आफ्नो अनि परिवारको सुनौलो भविष्य देखेका मुक्तकमैया सुकुम्बासीहरु अहिले पनि त्यहीँ आशामा दैनिकी बिताउन बाध्य छन् ।
“हामीलाई राज्यले उचित व्यवस्थापन गर्छ भन्दाभन्दै दुई दशक बितेको थाहै भएन । अझ कति समय यसरी बिताउनुपर्ने हो थाहा छैन ।” एकतानगर शिविरमा बस्दै आएकी सुमित्रा विक भन्छन्, “त्यहीँ शिविरमा बसेकै कारण हामी सबैको प्रयोगको साधन जस्तो बन्न पुगेका छौँ । कुनै आवश्यकता पर्यो शिविर ।” उनले त्यहीँ घर बासको आशामा दुखी बिरामी नभनी, घामपानी नभनी, आफ्नो घरको काम नभनी भनेको बेला पुगेकै बताइन् । फेरि शिविरमा जानकारी भएको ठाउँमा सहभागी नभएपछि तिर्नु जरिवानाले त्यस क्षेत्रका नागरिकहरू माथी झन ठूलो राजनीति हुँदै आएको छ ।
नगर प्रमुख माथीको आक्रोश बढ्दो
पछिल्लो समयमा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारु प्रती मुक्तकमैया सुकुम्बासी शिविरका नागरिकहरुको आक्रोश बढ्दै गएको छ । खासगरी मिडियामा नगर प्रमुखले दिएको अभिव्यक्तिले मुक्तकमैया सुकुम्बासी शिविर चिढिएको छ । निर्वाचनको समयमा बस्दै आएको स्थानमै प्रती परिवार पाँचपाँच कट्टा जग्गा दिने सम्झौता गरेका नगर प्रमुखले सुकुम्बासीलाई त्यहाँबाट लखेट्नुपर्छ भनेर अभिव्यक्ति दिएको भन्दै आन्दोलन थालिएको छ । “हिजो निर्वाचनमा निर्वाचित भएपछि पाँचपाँच कट्ठा जग्गा उपलब्ध गराउँंछु भनेर प्रतिबद्धता जनाउने अनि आज संघीय सरकार मार्फत सुकुम्बासीलाई हटाउनुपर्छ भनेर अभिव्यक्ति दिने ?” शिविरका अगुवा प्रकाश टमट्टाले भने, “यदि नगर प्रमुखले दिएकै अभिव्यक्ति अनुसार काम अगाडि बढ्यो भने त्यसबेला सबैभन्दा ठूलो मूल्य चुकाउनुपर्ने हुनसक्छ ।”
राजनीतिक दलबाटदलबाटै धोका
मुक्तकमैया सुकुम्बासी शिविरका नागरिकहरुलाई सबैबाट ठूलो धोका राजनीतिक दलहरूबाटै भएको स्पष्ट छ । हिजोका दिनमा तिनै राजनीतिक दलहरुले संरक्षण गरेर राखिएको भनिएका शिविरका नागरिकहरुबाट सबैभन्दा बढी फाइदा राजनीतिक दलले लिएका छन् । फाइदा मात्रै नभई उनीहरूको दोहोरो चरित्रले सुकुम्बासी व्यवस्थापनको टुंगो लाग्न नसकेको स्पष्ट छ ।
राजनीतिक दलहरूको दोहोरो चरीत्रले सुकुम्बासी अन्योलमा छन् । उनीहरू निर्वाचनको समयमा बसोबास गर्दै आएको जमिन दिने भन्दै प्रतिबद्धता गर्छन् । लिखित कागज गर्छन् । निर्वाचित भएपछि त्यहाँ पुग्ने विरलै होलान् । शिविरको भोट निर्णायक हुने भएकाले सबै राजनीतिक दल आफ्नो पक्षमा माहोल बनाउन शिविरकै पक्षमा बोल्ने गरेका छन् । उनीहरू सुकुम्बासीले जग्गा पाउनुहुँदैन भनेर भन्दैनन, तर जग्गा पनि दिँदैनन् ।
सुकुम्बासीको अहिलेको आन्दोलनकै क्रममा नेपाली काँग्रेसका क्षेत्रीय सचीव धनन्जय रिमालले राज्यले सुकुम्बासीको व्यवस्थापन गर्नुपर्ने बताए । उनले स्थानीय सरकारले त्यो काम गर्नुपर्नेमा जोड दिए । तर उनले हिजो त्यहीँ शिविरका मतदाताबाट नगरपालिकामा नगर उपप्रमुख अनि प्रदेशमा सांसद जिताएको कुरा । उनले अरुलाई दोष दिएर आफू पानी मुनिको ओभानो बन्न खोजे ।
उता माओवादी केन्द्रका टीकापुर नगर अध्यक्ष धनसिंह साउँदले पनि सुकुम्बासीलाई जग्गा दिने कुरामा राज्य चुकेको बताए । तर २०६४ सालमा त्यत्रो बहुमत दिएको कुरा भुले । पटकपटक सरकारको नेतृत्व गरेको कुरालाई स्मरण गर्न सकेनन् । कि त स्थानीय स्तरबाट त्यो केन्द्रसम्म सुकुम्बासीका आवाजलाई पुर्याउन सक्ने कोहि भएन कि ?
राजनीतिक दलका सबैका कुरा एउटै हुन । एमालेले एक कार्यकाल नगरपालिकाको नेतृत्व गर्यो । अहिले देशको नेतृत्व गरिरहेको छ । सुकुम्बासीका कुरा कसैले सुन्न सकेन । कसैले त्यो निकायम्म सुनाउन सकेनन् । नागरिक उन्मुक्ति पार्टीबाट त सम्बन्धित मन्त्रीको जिम्मेवारी समेत पाउँदा सुकुम्बासीलाई न्याय भएन भने अब त्यो भन्दा बढी अपेक्षा गर्ने ठाउँ र समय कहिले आउला ? राजनीतिक दल सुकुम्बासी शिविरलाई सधै प्रयोग गरेर स्वार्थ पूरा गर्ने मै सिमित भएको कुरा सबैलाई थाहा छ् ।
ठूलो कमजोरी शिविरका अगुवाहरूको
मुक्तकमैया सुकुम्बासी शिविरलाई निकास दिन नसक्ने स्थितिमा पुर्याउने काम त्यसै शिविरका अगुवाहरूको प्रमुख हात छ । उनीहरुले जुन शक्तिसँग आशा गरेका छन्, त्यो शक्ति नै शक्ति बिहिन बनिसकेको छ । किनभने सबैभन्दा बढी गाली गर्ने अनि धोका भयो भनेर राजनीतिक दलहरुको आलोचना गर्ने ती अगुवाहरू आफै कुनै न कुनै राजनीतिक दलको छाता मुनि छन् । त्यो कुरा ठिक छ । समस्या कहाँ हो भने, पटकपटक लिखित मौखिक सम्झौता गर्न लगाउने, प्रतिबद्धता जनाउन लगाउने, गर्नुपर्ने सबै गर्न लगाउने तर काम हुँदैन भन्ने थाहा हुँदाहुँदै पुनः तीनै राजनीतिक दललाई आन्दोलनको दौरानमा प्रतिबद्धता गराउन लगाउनु कति उचित हो ?
सबैलाई थाहा छन् राजनीतिक दलले शिविरका हरेक कार्यक्रममा एक्यवद्धता जनाउँदै आएका छन् । एक्यवद्धता जनाएकै भरमा सुकुम्बासीको उचित व्यवस्थापन हुने हो भने यो स्थिति यहाँसम्म पुग्नै हुन्थेन । होइन भने पटकपटक धोका दियो भनेर बोल्नु भन्दा पहिला आफ्नो आचरण सुधार गरेर वास्तविक सुकुम्बासीका लागि एकताबद्ध हुन जरुरी छ । अनि अरुको नामको जग्गा सहजै व्यक्तिको नाममा बनाइदिन्छु भन्दा पत्याउने हामी पनि उस्तै भएर यो समस्या यहाँसम्म पुगेको त होइन ?
नगरपालिकामा तोडफोड
मुक्तकमैया सुकुम्बासीहरुले आफुहरुको उचित व्यवस्थापनको माग गर्दै भैरहेको आन्दोलनका क्रममा बिहिवार नगरपालिकामा तोडफोड भएको छ । नगर प्रमुख थारु प्रती आक्रामक भिडले नगरपालिकाको बाहिरी परिसरमा रहेका फुलका गमला लगायत पोस्टरहरु च्यातेका छन् । त्यसैक्रममा नगर प्रहरी रिमा साउँद सामान्य घाइते भएको बताइएको छ । उनीहरुले नगरपालिका घेराउ गर्नुका साथै तालाबन्दीको प्रयास समेत गरेका थिए । नगर प्रमुख थारुले मिडियामा दिएको अभिव्यक्तिको खण्डन नगरेसम्म आन्दोलनका कार्यक्रम निरन्तर रहने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *