इन्जिनियरको परिक्षा भएको छैन : आयोग

शेयेर गर्नुहोस


टीकापुर २१ साउन /
सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले आयोगबाट प्रदेशमा इन्जिनियर पदको कुनै पनि परीक्षा सञ्चालन नभएको जनाएको छ ।
आयोगको नाममा नक्कली सूचना जारी भएर परीक्षासमेत सञ्चालन भएको समाचार सञ्चार माध्यममा आएपछि आयोगले इन्जिनियर पदको कुनै पनि परीक्षा सञ्चालन नभएको स्पष्ट पारेको हो । आयोगका प्रवक्ता हिरालाल चौधरीले अहिलेसम्म आयोगले इन्जिनियर पदको परीक्षा सञ्चालन नगरेको जानकारी दिएका छन् । उनले कर्णाली प्रदेशको विज्ञापन तानेर त्यसमा सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगको नाम जोडी भ्रम फैलाइएको बताएका छन् ।
बाकेस्थित खजुरा गाउँपालिका वडा नं. २ का मनिष शर्माले सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगको नाममा जारी नक्कली सूचनाको आधारमा परीक्षा दिएर ठगीमा परेको समाचार गोरखापत्रमा प्रकाशित भएको थियो । उनले गोदावरी नगरपालिकाको अत्तरियास्थित जेके सेकेण्डरी स्कुल पुगेर साउन ७ गते इन्जिनियरको लिखत परीक्षा दिएको बताएका थिए । आयोगले पनि अत्तरियाका विद्यालयहरू लोकसेवा आयोगको परीक्षा सञ्चालनका लागि परीक्षा केन्द्र कायम नरहेको जनाएको छ।
समाचार अनुसार सुरेन्द्र डाँगी नामका व्यक्तिले लोकसेवा आयोगको परीक्षाको नाममा मनिष शर्मालाई ठगी गरेको देखिन्छ । कर्णाली प्रदेशको विज्ञापनमा सफल भएका उम्मेदवारको नामको ठाउँमा शर्माको नाम राखेर झुकाइएको पाइएको प्रवक्ता चौधरीले बताए। “सफल उम्मेदवार अमृत चौधरीले हाम्रो कार्यालयमा फोन गरेर आफू जागिर गरिरहेको र आफ्नो नामको ठाउँमा एडिट गरेर मनिष शर्माको नाम राखिएको जानकारी गराउनुभएको छ”, चौधरीले भने, “विज्ञापनमा नाम रहेको अरू व्यक्ति पनि जागिर गरिरहेका छन् ।”
सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले सहायक पाँचौँ तहको सब–इञ्जिनियर पदका लागि विज्ञापन निकालेको छ । तर, सो पदको प्रथम चरणको लिखित परीक्षा साउन २७ गते सञ्चालन हुने आयोगद्वारा जारी सूचनामा उल्लेख छ ।

ताजा खबर

भुकम्पका ठूलो धक्का

ऐंठनलाई मदन पुरस्कार

अब किस्तामा पनि धारा जडान हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *