शेयेर गर्नुहोस
झलनाथ खनाल, टीकापुर ०५ असार /
कैलालीको टीकापुर नगरपालिका वडा नं. १ का गणेश शाही सात वर्ष वैदेशिक रोजगारमा बसेर घर फर्किनु भएको छ । उर्जावान उमेरको महत्त्वपूर्ण समय विदेशमा बिताउनुभएका शाही अब आफ्नै क्षेत्रमा केही गर्ने मनसायका साथ लाग्नुभएको छ ।
“विदेशमा कमाएर जिन्दगी भरीलाई नहुँदो रहेछ । काम सानै भएपनि आफ्नै देशमा गर्नसके त्यसले जिबनभरलाई हुन्छ ।” शाहीले भन्नुभयो, ” मेरो विदेश जाने मनसायमा अब छैन । आफ्नै क्षेत्रमा केही गर्न चाहान्छु ।” स्थानीय सरकार नजिकको सरकार भएको कारणले होला धेरै अपेक्षा युवाहरुको हुन्छ ।” उहाँले स्थानीय सरकारले आफ्नै क्षेत्रमा काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताउँदै आगामी आर्थिक वर्षको बजेटमा युवाहरूका लागि लोकप्रिय कार्यक्रम ल्याउन सक्नुपर्ने बताउनुभएको छ ।
टीकापुर नगरपालिका वडा नं. २ का पदम सापकोटा एक दशक भन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा आबद्ध हुनुहुन्छ । केही वर्षदेखि पत्रकारिता सँगसँगै व्यावसायिक कृषि खेतिमा लाग्नु भएका सापकोटालाई अहिले पछाडि फर्केर हेर्नुपरेको छैन । पत्रकारिताबाट सफलता हासिल गर्न नसक्नु भएका सापकोटाले कृषिबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ । स्थानीय दैनिक पत्रीका चलाउँदै आउनुभएको सापकोटा स्थानीय सरकारले आगामी आर्थिक वर्षमा युवाहरूका भावनालाई समेटेर निति तथा कार्यक्रम ल्याउनुपर्ने बताउनुहुँन्छ ।
नगरपालिकाले युवा परिचालन नीति ल्याउन आग्रह गर्दै क्षमताको आधारमा युवाहरूलाई नगरको विकासमा जोड्न सक्नुपर्ने र राम्रो काम गर्ने युवाहरूलाईलाई नगरबाट पुरस्कारको व्यवस्था समेत गर्न सापकोटाले माग गर्नुभएको छ । “युवाहरूलाई रोजगार चाहिएको छ । काम चाहिएको छ । उत्पादित बस्तुको बजारीकरण चाहिएको छ । त्यो वातावरण स्थानीय सरकारले बनाउन सक्नुपर्छ ।” सापकोटाले भन्नुभयो, “स्थानीय सरकारले आफ्नो पालिका भित्रका युवाहरूको संरक्षण गरेर काम गर्न सक्यो भने देखेको विकास र समृद्धिको यात्रा लामो छैन । विशेषगरी उत्पादन भएको बस्तुको बजारीकरणको जिम्मा मात्रै स्थानीय सरकारले लिन सके थुप्रै युवाहरू व्यवसाय तिर जोडिन सक्छन् ।”
टीकापुर नगरपालिका वडा नं. ३ का राजेन्द्र विश्वकर्मा सामाजिक अभियन्ताको रुपमा काम गर्दै आउनुभएको छ । विशेषगरी समाजका लागि एक घण्टा अभियानका अभियान्ता विश्वकर्मा स्थानीय तहको बजेटमा नयाँ पनको खोजिमा हुनुहुन्छ । विगतका वर्षमा बजेटले युवाहरूलाई कतै पनि समेट्न नसकेको बताउँदै स्थानीय सरकार र युवाहरूको संयुक्त लगानि रहने खालका कार्यक्रममा जोड दिनुपर्ने बताउनुभएको छ । “बजेटले स्थानीय युवाहरूलाई रोजगारसँग जोड्ने खालका कार्यक्रम बनाउनुपर्छ । त्यसका लागि स्थानीय सरकार र युवाको साझा लगानीमा थुप्रै काम गर्न सकिन्छ त्यसले रोजगारी पनि सिर्जना गर्छ भने नयाँ कामको सुरुवात पनि हुन्छ ।” विश्वकर्माले भन्नुभयो, “तालिम दिएर, सीप सिकाएर मात्रै रोजगारी पाउने सम्भावना छैन । पहिला स्रोतको पहिचान गरेर मात्रै सीपका लागि लगानी गर्दा राम्रो होला । विगतमा तालिम लिएर बसेकाहरूलाई व्यवस्थापनको बाटो स्थानीय सरकारले खोज्न सक्नुपर्छ ।
टीकापुरकै बबरजंग शाही लामो समयदेखि टीकापुरमा कराँते प्रशिक्षण गर्दै आउनु भएको छ । उहाँले अहिले पनि दुई सय भन्दा बढी युवा तथा बालबालिकालाई कराँते प्रशिक्षण गर्दै आउनुभएको छ । उहाँले पछिल्लो समयमा युवाहरू कुलतमा फस्दै गएको बताउँदै युवाहरूलाई खेलकुदको माध्यमबाट सहि मार्गमा ल्याउन सकिने भएकोले स्थानीय सरकारले खेलकुद क्षेत्रलाई महत्त्वका साथ हेर्नुपर्ने बताउनुभएको छ । “स्थानीय सरकारले प्रत्येक्ष युवाहरूलाई लाभ हुने खालका कार्यक्रम सञ्चालन गर्नुपर्छ । पालिकाको प्रत्येक विकासका काममा युवाको सहभागिता गराउन सक्नुपर्छ ।” शाहीले भन्नुभयो, “युवाहरूलाई काम चाहिएको छ । व्यवसायमा संरक्षण चाहिएको छ । युवाहरूको संरक्षण कर्ताको रुपमा स्थानीय सरकार अगाडि आउनुपर्छ ।”
टीकापुर नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा कस्ता नीति तथा कार्यक्रमहरुलाई प्राथमिकता दिने भन्ने विषयमा विभिन्न सरोकारवालाहरुसँग छलफल गर्दै आएको छ । नगरपालिकाका नगर प्रमुख रामलाल डगौंरा थारु आवश्यकताको आधारमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तय गरिने बताउनुहुँन्छ । उहाँले भएको स्रोतसाधनको समुचित प्रयोग गरेर नगरको समृद्धिको योजना तय गर्ने बताउनुभयो । “हामिसँग थुप्रै सम्भावनाहरु छन् । ती सम्भावनाहरुलाई पहिचान गरि युवाहरूलाई नगरको विकास र समृद्धिमा प्रत्यक्ष जोड्ने र उत्पादनलाई विशेष महत्त्वका साथ राखेको छ ।” नगर प्रमुख डगौंराले भन्नुभयो, ” युवाहरूले स्थान पाएका छैनन् । नीति निर्माण सरोकारका विषयमा युवाहरूलाई नगर सरकारले स्थान दिन्छ । हाम्रो समृद्ध नगरको परिकल्पना साकार पार्नको लागि युवाहरूलाई स्वयंसेवकको रुपमा साथमा लिएर अगाडि बढ्छौं ।”
त्यस्तै नगर उपप्रमुख खडकबहादुर शाहले नगरपालिकामा आन्तरिक स्रोतसाधनबाटै थुप्रै युवाहरूलाई समेट्न सकिने बताउँदै रोजगारीका अवसरलाई स्थापित गर्नकै लागि नगरपालिकाले लगानी सम्मेलनको तयारी गरिरहेको बताउनुभएको छ । “हामी छिट्टै लगानी सम्मेलन मार्फत नगरमा राष्ट्रिय मात्रै नभएर अन्तरास्ट्रिय लगानी भित्र्याउने योजनाका साथ अगाडि बढेका छौं ।” नगर उपप्रमुख शाहले भन्नुभयो, “त्यसको आर्थिक क्षेत्रको पाटो मजबुत हुनुको साथै रोजगारीका अवसरहरुको समेत सिर्जना हुने छ र युवाहरूलाई व्यवसायी तथा स्वरोजगार बन्न मद्दत पुग्ने छ ।”