शेयेर गर्नुहोस
टीकापुर २० कार्तिक /
उपभोक्ताको स्वास्थ्यलाई ध्यान दिँदै सचेतनामुलक कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
टीकापुर नगरपालिकाको “स्वच्छ बजार व्यवस्थापन, अनुगमन र उपभोक्ता अधिकारको संरक्षण” विषयक समिक्षा बैठकमा बोल्ने सरोकारवालाले उपभोक्तालाई सचेत गराउनका लागि सचेनामुलक कार्यक्रमको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको औल्याएका हुन । नागरिक समाज टीकापुरका संयोजक भीमराम चपाईले उपभोक्तासँग जोडिएका विषय मात्रै नभई हरेक विषय पद्धतिमा सञ्चालन हुन आवश्यक रहेको बताए । उनले पछिल्लो समय चोकचोकमा मासु पसल सञ्चालन हुनुले पनि नियम र पद्धति माथी गम्भीर प्रश्न उठेको बताए ।
टीकापुर बहुमुखी क्याम्पसका उपप्राध्यापक कृष्ण प्रसाद जैशीले उपभोक्तालाई सचेत गराउनका लागि बृहत जागरण अभियान बिधालय र क्याम्पस मार्फत सञ्चालन गर्न आवश्यक रहेको बताए । उनले अन्य उपभोग्य वस्तु भन्दा पनि तरकारी र फलफुलको गुणस्तर नियमित जाँच हुनुपर्नेमा जोड दिए । टीकापुर उद्योग वाणिज्य संघका सचीव प्रकाश शाहले सरकारले बनाएका कानुनको कार्यान्वयन पक्ष फितलो हुँदा समस्या हुँदै आएको बताए । नगरपालिका गैरसरकारी संघसंस्था शाखा प्रमुख अमृता रावलले टोल विकास संस्था मार्फत उपभोक्तालाई खाद्य वस्तु प्रती सचेत गराउन सकिने सजिलो उपायको बारेमा जानकारी दिएकी छन् ।
नगरपालिकाका राजश्व शाखा प्रमुख नन्द बहादुर केसीले उपभोक्तालाऊ जनचेतना सहित गुनसोलाई नियमन निकायसम्म पुर्यान र नियमन निकायले निगरानी नबढाएसम्म अखाद्य वस्तुको बारेमा उपभोक्तालाई अनि व्यापारीलाई सचेत गराउन चुनौती रहेको बताएका छन् । नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विकले टीकापुरमा उपभोक्ता हित संरक्षण मञ्चले उपभोक्ताको विषयमा राम्रो काम गर्दै आएको बताउँदै आगामी दिनमा स्थानीय उत्पादनको मूल्य निर्धारणका विषयमा सहजीकरणको भुमिका निर्वाह गर्न आग्रह गरे ।
वडा नं. ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपानेले उपभोक्ता बढी जिम्मेवार भएर अनुगमनलाई बढाउन सकिएको खण्डमा सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरे । नगरपालिकाका कार्यवाहक नगर प्रमुख लालबीर चौधरीले नियम कानुनको कार्यान्वयनका साथसाथै अभियानो रुपमा बजार अनुगमन र सचेतनाको कार्यक्रमलाई सँगै लैजानुको विकल्प नरहेको बताएका छन् । उनले अनुगमन प्रविधिमैत्री बनाउन आवश्यक रहेको भन्दै वस्तुको गुणस्तर नापजाँचका लागि प्रयोगशाला झन महत्त्वपूर्ण रहेको बताए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र प्रसाद चौधरीले सरकारका संयन्त्र निकै मजबुत रहेको बताउँदै विगतको तुलनामा अनुगमनको बिधि र दायरा बढ्दै गएको बताएका छन् । उनले कानुन बनाउन हतार गरिने भए पनि त्यसको कार्यान्वयन र समिक्षा नहुने गरेको बताए । “हामीले कैयौं कानुन बनाएका छौँ । ती कानुनको कार्यान्वयन कसरी गर्ने र त्यसका लागि आवश्यक स्रोतसाधनको विषयमा होस् वा कार्यान्वयन पश्चात् कहिल्यै समिक्षा गरेका छैनौं ।” उनले भने, “हामीले गर्ने योजनाको कार्यान्वयन पछि समिक्षा नहुँदा त्यसको परिणाम मापन गर्न सकिएको छैन ।”
संस्थागत रुपमा बलियो देखिए पनि मानसिक रुपमा निकै कम्जोर रहेको औल्याउँदै प्रमुख प्रशासकीय अधिकृत चौधरीले निश्चित बुदाहरु समेटेर कार्ययोजनाका साथ काम गर्न सके परिणाममुखी नतिजा ल्याउन सकिने बताए । नगरपालिकाले गत आर्थिक वर्षमा उपभोक्ता संरक्षण तथा बजार अनुगमनमा गरेका कामकारबाहीका बारेमा नगरपालिकाकी आर्थिक विकास शाखा प्रमुख रञ्जु आचार्यले जानकारी दिएकी थिइन ।
त्यसैगरी उपभोक्ता हित संरक्षण मञ्च टीकापुरका अध्यक्ष एकिन्द्र तिमिल्सिनाले मञ्चले गरेका कामकारबाहीको जानकारी गराउँदै आगामी दिनको योजनाको बारेमा सुझाव माग गरेका थिए ।










