एमसीसीको विरोधमा आठ दलको विरोध सभा

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर २६ माघ /
मेलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को विरोधमा मंगलबार आठ दलित संयुक्त मोर्चाले विरोध सभा गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी लगाएतको आठ दलिय मोर्चाले एमसीसी नेपालका लागि निकै घातक सावित हुँदै गएको भन्दै विरोध सभा गरेको हो । विरोध प्रदर्शन कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी माओवादीका टीकापुर नगर इन्चार्ज हृदय बोगटीले अमेरिकाले विश्वलाई आफ्नो मुट्ठीमा लिनको लागि विभिन्न जालझेल गर्दै आएको बताउँदै नेपाल पनि त्यसैको सिकार हुने खतरा बढेको बताएका छन् ।
उनले एमसीसी नेपाल र नेपाली जनताको लागि निकै घातक सावित भैसकेको भन्दै त्यसलाई कुनै हालतमा पनि पास गर्न नहुने बताएका छन् । “नेपालको कानुन भन्दा माथी रहने एमसीसीले नेपालको प्रचुर सम्भावना माथी आँखा गाडेको हो । एक सच्चा देशभक्त नागरिकका लागि त्यो कदापि स्वीकार हुन सक्दैन ।” नगर इन्चार्ज बोगटीले भने, “नेपाललाई कुनै पनि देशको हस्तक्षेपकारी सम्झौता स्वीकार छैन । नेपालको संबिधान माथी रहेने भनिएको एमसीसीलाई खारेज गर्न नागरिकहरुले फेरि एकपटक सडकमा आउनुपर्ने अवस्थाको सिर्जना भैसकेको छ ।”
राष्ट्रिय जनमोर्चा कैलाली जिल्ला अध्यक्ष दयाराम संज्यालले अमेरिकाले एमसीसीको नाममा नेपालमा राजनीति गर्न खोजेको आरोप लगाएका छन् । उनले अहिले एमसीसीको नाममा नेपालको संबिधान भन्दा माथी रहेर आफ्नो पकड जमाउने र भोलिक दिनमा चिन माथी आक्रमण गर्ने योजना रहेको बताएका छन् । “नेपालको स्वाधीनता माथी भएको ठाडो हस्तक्षेपको विरुद्धमा हामी टाउकोमा कफन बाधेर लड्न तयार छौं । हामी नेपालमा एमसीसी कुनै हालतमा पनि पास हुन दिदैनौं ।” जिल्ला अध्यक्ष संज्यालले भने, “नेपाली भुमि बचाउनका लागि जस्तोसुकै बलिदान गर्न पनि तयार छौं । केही सिमित ब्याक्तीहरुको फाउदाको लागि अमेरिकन सैन्य रणनीति नेपालमा लागू गर्ने कुरा नेपाली जनताको पक्षमा हुने छैन ।”
अखिल शिक्षक संगठन कैलाली जिल्ला सदस्य नृप ओझाले ठुला राजनीतिक दलका नेताहरुबाटै देशको स्वतन्त्रता माथी ठाडो हस्तक्षेप भएको बताउँदै नेपाली जनताले नचाएको एमसीसी आफ्नो ब्याक्तिगत स्वार्थको लागि पास गर्न खोजिएको बताएका छन् । उनले देशको लागि एमसीसी निकै घातक रहेको बताउँदै त्यसको विरोधमा देशैभर नागरिकहरू एकपटक पुनः सडकमा उर्लनुपर्ने बेला आउन सक्ने भएकोले तयारीमा बस्न आग्रह समेत गरेका छन् ।
आठ दलित संयुक्त मोर्चाले मंगलबार टीकापुर लगायत सुखड, अतरिया लगायतका क्षेत्रमा विरोध सभा कार्यक्रम गरेको बताइएको छ । मोर्चाले एमसीसीको विरोधमा आज (बुधबार) धनगढीमा शक्ति प्रदर्शन गर्ने बताएको छ ।
सोही विषयमा नेकपा एमालेका कैलाली जिल्ला सदस्य दिपक रावलले एमसीसी राष्ट्रको हितमा नरहेको बताउँदै देशभक्त नागरिकहरूले राजनीतिक दलहरु भन्दा माथी उठेर राष्ट्र र राष्ट्रियताको बारेमा सोच्न आवश्यक रहेको बताएका छन् । उनले एमसीसीको नाममा अमेरिकाले नेपालको जल, जमिन र जंगलमा आँखा लगाएको बताउँदै नेपालको कानुन भन्दा माथी रहेर आफ्नो अधिकार जमाउन जमाउन खोजेको आरोप लगाएका छन् । “राष्ट्रियताको मुद्दामा पार्टी भन्दा ठूलो देश हो । अहिले जुन एमसीसीमा भएका कुराहरू छन् ती सबै राष्ट्र र राष्ट्रियताको पक्षमा छैनन् ।” रावलले भने, “त्यसैले पनि एमसीसी कुनै हालतमा पास हुनु हुँदैन । यदि पास गर्ने हो भने पनि अन्य देशहरूसँग भएका सन्धि सम्झौता अनुसार पास हुनुपर्छ । नेपालको संबिधान भन्दा माथी रहेर कुनै सम्झौता नेपाली जनताको लागि मान्य छैनन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *