शेयेर गर्नुहोस
समाधान समाचार, टीकापुर १८ भदौ /
आउँदो मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभाको निर्वाचनका लागि कैलाली क्षेत्र नं.१ बाट नेकपा एमालेका सुदुरपश्चिम प्रदेशका उपाध्यक्ष कमल तिमिल्सिनाको उम्मेदवारीको चर्चा चुलिएको छ ।
बामपंथी आन्दोलनका एक कुसल नेताको पहिचान बनाएका तिमिल्सिनालाई नेकपा एमालेका आस्थावान युवाहरूले कैलाली क्षेत्र नं. १ बाट चुनाव लड्न आव्हान गरेका हुन । २०६४ को संविधान सभामा समानुपातिक सभासद समेत रहेका तिमिल्सिनाले पार्टी संगठन मजबुत भएको अवस्थामा पार्टीले दिएको जिम्मेवारी अनुसार आफू चुनाव लड्न तयार हुने बताएका छन् । “पार्टी एकताबद्ध भएको अवस्थामा, संगठन मजबुत भएको अवस्थामा पार्टीको निर्देशनलाई मैले मान्दैन भन्न मिल्दैन । पार्टीले जहाँबाट चुनाव लड्न सिफारिस गर्छ त्यहीँबाट चुनाव लड्छु ।” उपाध्यक्ष तिमिल्सिनाले भने, “पार्टी भित्र द्वन्द देखिने अवस्था भए, गुट उपगुटको राजनीति हुने अवस्थामा म चुनाव लड्दैन ।”
उनले आफ्नो भन्दा पनि युवाहरूले कैलाली क्षेत्र नं. १ बाट चुनाव लड्न सुझाव दिएको बताए । २०३८ सालदेखि बामपंथी राजनीतिमा सक्रिय रहेका तिमिल्सिना २०४६ सालको आन्दोलनमा जेलमा समेत परेका थिए । राष्ट्रिय युवा संघको सचिवालय सदस्य हुँदै पार्टीको अछाम जिल्लाको अध्यक्षमा समेत एक कार्यकाल बिताएका तिमिल्सिनाले २०६२/०६३ सालको जनआन्दोलनमा समेत महत्त्वपूर्ण भुमिका निर्वाह गरेका थिए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा बान्नीगढी जयगड गाउँपालिकाको अध्यक्षको उम्मेदवार समेत बनेका उनी नेपाली काँग्रेसका राजेन्द्र खड्कसँग पराजित भएका थिए ।
कैलाली क्षेत्र नं.१ लाई विषेश महत्त्वका साथ पनि हेरिने गरेको छ । अहिले नागरिक उन्मुक्ति पार्टीबाट पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ र गठबन्धनबाट नेपाली काँग्रेसका रामजनम चौधरीको नाम पनि चर्चामा रहेको छ । यसअघिको निर्वाचनमा २०७२ भदौ ७ गतेको घटनाका मुख्य आरोपी मानिएका रेशम चौधरीले चुनाव जितेका थिए ।