शेयेर गर्नुहोस
झलनाथ खनाल, भजनी २२ पुस /
कैलालीको भजनी नगरपालिका वडा नं. ७ मा रहेको ऐतिहासिक महत्त्व बोकेको पुरैना तालको अस्तित्व संकटमा पर्दै गएको छ । भजनी क्षेत्रका लागि छुट्टै महत्त्व बोकेको पुरैना ताल स्थानीयको अतिक्रमणमा परेपछि त्यसको अस्तित्व संकटमा पर्दै गएको हो ।
तालको पुरानो वस्तुस्थितिलाई डकुमेन्ट्रीमा सुरक्षीत राख्नुभएका प्रकृति संरक्षणकर्मी विजयराज श्रेष्ठले पुरैना ताल सुदुराश्चिमकै ऐतिहासिक ताल रहेको बताउनुभयो । उहाँले कुनै समय तालको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकहरु पुरैना ताल पुग्ने गरेपनि तालको अस्तित्व संकटमा परेपछि तालको इतिहासनै हराउने अवस्थामा पुगेको बताउनुभयो । “यहाँ बार्है महिना सारस पाइन्थ्यो । अन्य प्रजातीका चराहरुले तालको महत्त्वलाई अझै ऐतिहासिक बनाएको थियो ।” श्रेष्ठ भन्नुहुन्छ, “त्यो अवस्थामा देखेको तालको आज अस्तित्व खोज्नुपर्ने बेला आएको छ ।”
करिब पाँच सय बिघा क्षेत्रफलमा फैलिएको तालमा माछा, घडियाल, गोहि लोपोन्मुख जलचर जनावर उद समेत त्यस तालमा पाइन्थ्यो । जलचर जीव पाइने भएकै कारण त्यहाँ चराहरुको संख्यामा कहिल्यै कमि आउदैनथ्यो । “अझै अतिक्रमणमा परेको जग्गा खाली गराएर ताललाई पुनर्जीवन दिन सकिने स्थिति छ ।” प्रकृतिप्रेमी श्रेष्ठले भन्नुभयो, “त्यसलाई पुरानै अवस्थाका फर्काउन सक्यो भने भजनीको मात्रै नभई सिंगो सुदुरपश्चिममै पर्यटकहरूका लागि राम्रो गन्तब्य बन्न सक्छ ।”
बाह्रै महिना विभिन्न प्रजातीका चरा पाउने उक्त ताल पर्यटकीय हिसाबले पनि निकै महत्त्वपूर्ण भएपनि २०६४/०६५ सालमा कान्द्रा नदीमा आएको बाढीले पुरिएको थियो । ताल पुरिएपछि तालको आसपासमा जग्गा भएका जग्गाधनीले ताल अतिक्रमण गर्दै उपभोग गर्न थालेका छन् । स्थानीयको अतिक्रमणमा परेको ताललाई पुनर्जीवन दिनका लागि धेरै प्रयासहरु समेत भएका छन् । नगरपालिकाले यसभन्दा पहिले तालको जग्गा खाली गर्नका लागि ३५ दिने सूचना समेत जारी गरेको थियो । सूचनाको म्याद सकिए पनि अतिक्रमणमा परेको जग्गा भने खाली हुन सकेको छैन ।
पुरैना ताललाई पुनः संरक्षण गरेर पुरानै अवस्थामा फर्काउँदा भजनी क्षेत्रको सम्भावना बढ्ने स्थानीय वीरबहादुर हमाल बताउनुहुँन्छ । “स्थानीय सरकारले चासोका साथ काम गर्न सक्यो भने स्थानीयहरुलाई जग्गा छोड्न गाह्रो छैन । बरु उहाँहरुलाई जनचेतना फैलाउनुपर्ला ।” हमाल भन्नुहुन्छ, “भजनीको ऐतिहासिक महत्त्व बोकेको पुरैना ताल मात्रै नभई अन्य तालको पनि संरक्षण आवश्यक देखिएको छ ।”
अतिक्रमणमा परेको तालको जग्गा खाली गराउन कुनै समस्या नरहेको वडा नं. ७ का वडा अध्यक्ष अमर कठरिया बताउनुहुँन्छ । उहाँका अनुसार तालको उत्खननका लागि आवश्यक बजेट अभावका कारण ताललाई पुरानै अवस्थामा फर्काउन सकिएको छैन । “स्थानीय जग्गा छोड्न तयार छन् । बर्सेनि बाली लगाउँदा उहाँहरु नगरपालिकालाई पर्खेर अन्तिममा बाली लगाउँछन् ।” वडा अध्यक्ष कठरिया भन्नुहुन्छ, “समस्या बजेटको हो । बजेट भयो भने ताललाई पुनर्जीवन दिन कुनै समस्या छैन ।” उहाँले तालको जग्गा अतिक्रमण गर्ने ब्यक्ति त्यस आसपासको भएको बताउँदै स्थानीयका कारण तालको संरक्षणमा समस्या भएको भन्नू गलत भएको बताउनुभयो ।
२०३६ सालको नापीले त्यस क्षेत्रमा ६० घरधुरीले प्रती घरधुरी ८ कठ्ठाका दरले जग्गा प्राप्त गरेका थिए । आज तिनै ब्याक्तीहरुबाट त्यो ताल अतिक्रमणमा परेको वडा अध्यक्ष कठरियाको भनाई छ । त्यस बेलाको भुमी आयोगले सुकुम्बासीलाई उपलब्ध गराएको जग्गाको पनि हालसम्म लालपुर्जा छैन । उहाँहरुले भोगचलन भने गर्दै आएका छन् । ताल निर्माणका लागि केही वर्ष पहिले तराई भु परिधी कार्यक्रमले चासो दिएको भएपनि त्यो सफल नभएको वडा अध्यक्ष कठरियाको भनाई छ । पुरैना तालसँग जोडिएको बञ्जरिया ताल आज पनि जिवित छ । जुन तालले नेपाल भारत सिमाको काम समेत गरेको छ । ताल भारतको दुधुवा राष्ट्रिय निकुञ्जसँग जोडिएकाले पनि त्यसलाई फरक रुपमा हेर्ने गरिएको स्थानीय खोजराम चौधरी बताउनुहुँन्छ ।
तालको उत्खनन गरेर मानव निर्मित ताल निर्माणका लागि नगरपालिकाले प्रक्रिया अगाडि बढाइसकेको नगर प्रमुख केवल चौधरी हताउनुहुँन्छ । उहाँका अनुसार ताल क्षेत्रको नापजाँचको काम सुरु गर्ने तयारीमा नगरपालिका रहेको छ । “हामीले जसरी पनि पुरैना तालको अस्तित्व जोगाउनुपर्छ भनेर लागेका छौँ । त्यसमा हामी सफल हुन्छौं ।” नगर प्रमुख चौधरी भन्नुहुन्छ, “अब समस्या बजेटको छ । प्रदेश र संघ सरकारले सहयोग गर्न सक्यो भने पुरैना ताललाई पुनर्जीवन दिन समय लाग्ने छैन ।” उहाँका अनुसार तालको डिपिआर समेत नगरपालिकाले बनाइसकेको छ ।
उसो त भजनी नगरपालिकाको आन्तरिक स्रोतको प्रमुख आधार नै तालतलैया हुन । नगरपालिका क्षेत्र भित्र करिब २५ देखि ३० तालतलैया रहेका छन् । बर्सेनि नगरपालिकाले ती ताल ठेक्कामा दिने गरेको छ । ठेक्काबाट आएको रकमले नगरपालिकाको आन्तरिक स्रोत चल्छ । ठेकेदारहरुले माछा पालनका लागि ताल ठेक्कामा लिने गरेका छन् । नगरपालिकाले नदी तथा तालबाट चार करोड भन्दा बढी रकम ठेकेदारबाट उठाउनै बाँकी रहेको छ । २०७४ सालपछि नगरपालिकाले विभिन्न समयमा ठेक्का मार्फत सञ्चालन गर्न जिम्मा दिएका तालतलैयाको बक्यौता रकम तिर्नका लागि पटकपटक लिखित तथा मौलिक आग्रह गर्दा पनि राजनीतिक आडमा ठेकेदारले कबोल गरेको रकम नतिरेको गुनासो नगर प्रमुख चौधरीले गर्नुभएको छ ।