ककसमा के भने उम्मेदवारले ?

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर १० फागुन/
टीकापुर जेसीजको आयोजनामा “जनताको प्रश्न, उम्मेदवारको जवाफ” सहितको ककस कार्यक्रम भएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नं. १ बाट उम्मेदवारी दिएकाहरुसँग उक्त ककस कार्यक्रम भएको हो । ककसमा सहभागी मतदाताहरुले उम्मेदवारहरुसँग विभिन्न प्रश्नको जवाफ माग गरेका थिए भने उम्मेदवारले सहजरूपमा प्रश्नको जवाफ दिएका थिए । क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका मध्ये सातजना उम्मेदवारको सहभागिता रहेको उक्त ककस कार्यक्रममा उनीहरूले कैलाली क्षेत्र नं. १ को विकास र समृद्धिका लागि साझा प्रतिबद्धता समेत जनाएका छन् । टीकापुर जेसीजले बनाएको साझा प्रतिबद्धता पत्रमा सातै जना उम्मेदवारले हस्ताक्षर समेत गरेका छन् । त्यतिमात्र नभई उनीहरूले आफ्ना चुनावी एजेण्डा समेत जनताको माझमा प्रस्तुत गर्न पाएका छन् ।
, जनकराज शाह : प्रगतिशिल लोकतान्त्रिक पार्टी
कैलाली क्षेत्र नं. १ मा विशेषगरी ११ वटा मुख्य समस्याहरुलाई उजागर गरेर यसक्षेत्रको विकास र समृद्धिको लागि मैले उम्मेदवारी दिएको छु । घोषणापत्र मार्फत सार्वजनिक गरेरा ती मुख्य समस्यालाई सम्भावनासँग जोडेर अगाडि बढ्ने दृढ संकल्प सहित निर्वाचनमा होमिएको छु । कुनै प्रतिनिधि परिवर्तन गरेर देशको समृद्धि अनि जनताले चाहेको परिवर्तन सम्भव नहुने हुँदा अब क्षमता भएको र नेतृत्व गर्न सक्ने व्यक्ति जनताको रोजाइमा पर्नुपर्छ ।
राजनीतिलाई पेशाको रुपमा आम्दानीसँग जोडेर हेर्न थालिएको स्थितिमा राजनीतिलाई सेवा र नेतृत्वसँग जोड्न आवश्यक छ । जेनजी आन्दोलनका उपलब्धिलाई आत्मसात गर्दै युवा र देशले खोजेको परिवर्तनका लागि म सक्षम छु । मैले चुनाव जितेको खण्डमा हरेक दुई महिनाको फरकमा जनताको घरदैलो गर्दै नयाँ समस्या पहिचान गरेर समाधानका लागि संसदमा जबर्जस्त रुपमा आवाज उठाउने मेरो प्रतिबद्धता हो ।
, जनकराज चौधरी : नेपाली काँग्रेस
देशले संविधान पाए पनि केही कानुनी जटिलताका कारण जनताले अपेक्षा गरेअनुसार काम गर्न सकिने स्थिति नहुँदा जनताका ती अपेक्षा कानुनी जटिलता हटाएर पूरा गर्न संसदमा जान खोजेको छु । साथै, कृषि र संस्कृतिलाई विशेष प्राथमिकता राखेर जनताको माझमा पुगिरहेको छु । कृषि क्षेत्र निकै लथालिङ्ग हुँदा व्यवसायमा जोडिएका कृषक पनि हतोत्साहित भएको बेला कृषिलाई आत्मनिर्भरतासँग जोड्नु मेरो पहिलो प्राथमिकता रहने छ । संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्दै संस्कृति एकेडेमी स्थापना गरेर त्यसलाई आयआर्जनमा जोड्ने योजना मैले अघि सारेको छु ।
विकासको आवश्यकता र मोडालिटी तथ्यका आधारमा हुन जरुरी हुन्छ । महत्वाकांक्षी योजना बनाउने तर कार्यान्वयन गर्ने योजना नहुँदा जनतामा निरासा छ । दीर्घकालीन योजनालाई योजनाबद्ध रुपमा अगाडि सार्दै युवाहरूलाई रोजगारीमा जोड्ने र कैलाली क्षेत्र नं. १ लाई सम्पन्नत क्षेत्र बनाउने मेरो दृढ़ संकल्प रहेको छ ।
, द्वारिका प्रसाद न्यौपाने : नेकपा एमाले
कैलाली क्षेत्र नं. १ पर्यटनको निकै सम्भावना भएको क्षेत्र भएको हुँदा मैले पर्यटनलाई विशेष प्राथमिकतामा राखेको छु । आवश्यकता र आम्दानीलाई जोड दिएको छु । आवश्यकतालाई आम्दानीसँग जोडेर विकासको योजना तय गरिनुपर्छ । देख्दा र सुन्दा मेरा चुनावी एजेण्डा बढी महत्वाकांक्षी देखिएलान, त्यो हाम्रो आवश्यकता हो, त्यसलाई आम्दानीमा रुपान्तरण गरेर आर्थिक क्षेत्रमा सशक्त बनाउने काममा म प्रतिबद्ध छु ।
जनता प्रती जनप्रतिनिधि सधै जवाफदेही बन्नुपर्छ । मैले भनेको छु, मैले चुनाव जितेर संसदमा पुग्यो भने मैले पाउने सबै सेवा सुविधा यसक्षेत्रका गरिब विपन्न बिद्यार्थीहरुको अध्ययनमा खर्च गर्नेछु ।
, राजेन्द्र बहादुर शाही : स्वतन्त्र उम्मेदवार
कुनै एक व्यक्तिले चाहेर देश जनताको भावनाअनुरूप बन्न सक्दैन । त्यतिमात्र होइन, यहाँ वर्षौंदेखि राजनीतिक दल तथा नेताहरूबाट देश बन्दैन, जनताको भावनाको भावनाको कदर हुँदैन भन्ने कुरा प्रमाणित भैसकेको छ । त्यसैको विकल्पमा म दल र दलका नेताहरू भन्दा राम्रो गर्न सक्छु भन्ने आत्मविश्वासका साथ जनताको माझमा आएको हु । मैले धेरै आश्वासन दिए भने त्यो काल्पनिक जस्तो लाग्न सक्छ त्यसैले धेरै बोल्नु भन्दा धेरै गर्नुपर्ने छ । म जनताले विश्वास गरेको खण्डमा त्यो विश्वास मर्न दिने छैन ।
५, रामबहादुर विश्वकर्मा : नेपाल कम्युनिस्ट पार्टी माओवादी
जनताको निरासाको प्रमुख कारण भैरहेको चरम भ्रष्टाचार, अनियमितता जस्ता विषय हुन । राजनीतिलाई आम्दानीसँग जोड्ने संस्कार जनताको निरासाको आधार हो । यहाँ पहिले आफू बदलिनु पर्ने छ, सोचाइ बदल्नुपर्ने छ । त्यसपछि हामीले जनताको भावनाअनुरूप विकासका मुद्दामा काम गर्न सक्छौं । त्यहीँ आत्मविश्वासका साथ मैले जनताको जनजीवनलाई सहज बनाउँदै नीतिगत तथा कार्यगत रुपमा काम गर्ने संकल्प लिएर निर्वाचनमा जनताको माझमा उभिएको छु ।
, रामलाल डगौरा थारु : नेपाली कम्युनिस्ट पार्टी
कैयौं कानुनी बाधा र अड्चन कारण मैले टीकापुर नगरपालिकाको नगर प्रमुखमा रहँदा सुरु भएका कामले नतिजा दिन सकेन । नीति निर्माणको तहमा पुगेर स्थानीय तहमा गर्नुपर्ने हरेक कामकारबाहीलाई सहजरूपमा कार्यसम्पादन गर्ने गरी ती नीति नियमलाई परिवर्तन गर्न म बीचमै कार्यकारी पद त्यागेर उम्मेदवार बनेको छु । काम धेरै गर्नुपर्ने छ । नीति र परिधिभित्र रहेर काम गर्नुपर्दा कैयौं कामहरू स्थानीय तहबाट गर्न असम्भव भएपछि ती कामहरू गर्नका लागि म केन्द्रको नेतृत्वमा जान खोजेको हु ।
यस क्षेत्रको आवाज आज पनि केन्द्रसम्म पुर्याउन कसैले प्रयत्न गरेका छैनन् । मैले पटकपटक केन्द्र सरकारका हरेक निकायमा गरेको हारगुहारले यो क्षेत्रको पीडा महसुस गराउन नसक्दा केन्द्रमा पुगेर आवश्यक जनताका मुलभुत कुराहरू, अपेक्षाहरु पूरा गर्ने गरी म प्रस्तुत भएको छु । यो क्षेत्र बनेपछि मात्रै यो क्षेत्रका जनता बन्ने छन्, म बन्ने छु । अनि मात्रै मैले टीकापुर लगायतको यस क्षेत्रका लागि देखेको सपना पूरा हुने छ ।
, लोकेन्द्र कुँवर : राष्ट्रिय प्रजातन्त्र पार्टी
देशको विकास र समृद्धिका लागि कुनै पात्र परिवर्तन गरेर त्यो सम्भव हुनेछैन । यहाँ पद्धति परिवर्तन गर्नुपर्ने छ । यहाँ देशको आवश्यकतालाई महसुस गर्ने नेतृत्व चाहिएको छ । देशको आत्मसम्मानलाई मासेर जुन राजनीति हुँदै आएको छ, त्यसले निर्वाचन गरेर मात्रै निकास दिन सक्दैन । देश धर्मनिरपेक्षको नाममा खोक्रो भैसकेको छ । पहिले देशको आत्मा जगाउन सक्नुपर्छ । देशले चाहेको हिन्दु राष्ट्र कायम गर्न सक्नुपर्छ । त्यसैको लागि राप्रपा आज जनताको माझमा देश र देशको स्वाभिमानको रक्षाको लागि उभिएको छ ।
मैले कैलाली क्षेत्र नं. १ बाट निर्वाचन जिते भने आम जनताको साझा जनप्रतिनिधि भएर उभिने छु । राप्रपाका सदस्यहरुको भोटले मैले चुनाव जित्न सक्दैन । मलाई आम मतदाताको मत चाहिएको छ । म त्यो मतको कदर गर्दै यस क्षेत्रले गर्भ गर्न लायक काम गरेर जनताको माझमा कटिबद्ध भएर उभिने मेरो प्रतिज्ञा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *