शेयेर गर्नुहोस
भजनी ०८ कार्तिक /
भजनीको महेन्द्र माद्यामिक बिधालय पगियाप्रसारमा कक्षा ९ मा यस शैक्षिकसत्रमा दुईजना बिद्यार्थी मात्रै भर्ना भएको पाइएको छ ।
नगरपालिकाले गत शैक्षिकसत्रको कक्षा ८ को नतिजामा अनुत्तीर्ण बिद्यार्थीलाई माथिल्लो कक्षमा भर्ना नलिएपछि उक्त बिधालयमा अहिले दुईजना बिद्यार्थीले कक्षा ९ मा अध्ययन गरिरहेका छन् । कक्षा ९ मा दुईजना बिद्यार्थीहरु मात्रै अध्ययन गरिरहेका छन् । बिद्यार्थी संख्या कम भएको महेन्द्र माद्यामिक बिधालय मात्रै होइन भजनीकै राष्ट्रिय माद्यामिक बिधालय धुसीको अवस्था पनि त्यस्तै छ । धुसीमा पनि हाल कक्षा ९ मा तीनजना बिद्यार्थी मात्रै छन् । उसो त राष्ट्रिय माद्यामिक बिधालयले यसअघि आएको एसईईको नतिजामा पनि एकजना बिद्यार्थी उतिर्ण हुन सकेको थिएन । त्यो सँगै भजनीका पाँचवटा बिधालयको नतिजा निल भएको थियो ।
तुलनात्मक रुपमा कक्षा ८ मा अधिकांश बिद्यार्थी अनुत्तीर्ण भएपछि त्यसको असर कक्षा ९ मा देखिएको छ भने बिद्यार्थी प्रशासन र शिक्षकहरु माथी नैतिक प्रश्न उठेको छ । नगरपालिका भित्रका निजि तथा सामुदायिक बिधालयहरुमा कक्षा ९ मा चार सय १० जना विद्यार्थी अध्ययनरत रहेका छन् । कक्षा १० मा हाल ६ सय २८ जना बिद्यार्थी रहेका छन् । नगरपालिकामा रहेका कर्मेश्वर माद्यामिक बिधालय र महुन्याल माद्यामिक बिधालयमा भने कक्षा ९ मा एक सय भन्दा बिद्यार्थी अध्ययनरत छन् । अन्य बिधालयमा पनि बिद्यार्थी संख्या न्यून रहेको छ । बिद्यार्थीहरु उतिर्ण गराउन नसक्नुको जिम्मेवारी शिक्षक, बिद्यार्थी र अभिभावक तीन पक्षले लिनुपर्ने बिधालयका प्रधानाध्यापक बताउँछन् ।
तीनै पक्ष कम्जोर रुपमा प्रस्तुत हुँदा त्यसको परिणाम आएको राष्ट्रिय माद्यामिक बिधालय धुसीका प्रधानाध्यापक डम्बर बहादुर डीसी बताउँछन् । “हामी शिक्षक पनि गम्भीर हुन सकेनौं । बिद्यार्थीले विगतका परिक्षालाई लिएर परिक्षालाई सामान्य रुपमा लिए । अनि अभिभावकले आफ्नो बालबालिकाको निगरानी गर्न सकेन ।” उनले भने, “सबै ठाउँबाट कमीकमजोरी भएपछि त्यसको परिणाम परिक्षाको नतिजामा देखिएको हो ।” उनका अनुसार विद्यार्थी बिधालयमा नियमित नहुनु मुख्य चुनौती भएको छ ।
कक्षा ८ भन्दा माथीको बिद्यार्थी भर्ना हुने अनि कमाउन जाने, अन्तिममा परिक्षामा सहभागी हुन आउने गर्दा पनि बिद्यार्थी शिक्षामा कम्जोर भएको पाइएको छ । “बिद्यार्थी भर्ना हुन्छन्, कोहि कमाउन बाहिर जान्छन् त कोहि घरमै भएर पनि बिधालय आउँदैनन् ।” प्रधानाध्यापक डीसीले भने, “अभिभावकलाइ बोलाउँदा अभिभावक पनि बिधालय आउन आनाकानी गर्नुहुन्छ ।” अर्कोतिर शिक्षक दरबन्दी नहुँदा पनि शैक्षिक गुणस्तरमा प्रश्न उठेको उनको भनाई छ । २०७२ सालमा माद्यामिक तहको अनुमती पाएको बिधालयमा हालसम्म एउटा पनि माविको दरबन्दी छैन । दुई विषय संघीय अनुदानमा र बाँकी निजि स्रोतबाट व्यवस्थापन गर्नुपर्ने बाध्यता छ ।
शिक्षक दरबन्दीको समस्या अधिकांश बिधालयमा छ । माथिल्लो कक्षाको लागि अनुमति पाएका बिधालयमा दरबन्दी कायम हुन सकेको छैन । थोरै तलब भत्तामा शिक्षकले मिहेनत गरेर अध्यापन नगर्ने गरेको केही प्रधानाध्यापकको बुझाई रहेको छ । सामुदायिक बिधालयमा शैक्षिक गुणस्तर खस्किँदै गएपछि स्थानीय सरकार माथी पनि प्रश्न उठ्दै आएका छन् । राज्यको ठूलो लगानी हुँदाहुँदै पनि बिद्यार्थीको नतिजा अस्वभाविक आउन थालेपछि स्थानीय सरकार नाजवाफ बनेका छन् ।
भजनी नगरपालिकाले शैक्षिक गुणस्तर कायम सहित २०८० को बिधालयको नतिजा नदोहोर्याउन भन्दै बिधालयलाई परिपत्र गरेको छ । २०८१ को परिक्षामा पनि पहिलेकै परिस्थिति दोहोरिएको खण्डमा शिक्षकको तलब रोक्का गर्नेसम्मको चेतावनी दिएको छ । नगरपालिकाको परिपत्रले बिधालयको शिक्षा सुधार हुनेमा विश्वास गरिएको छ ।










