शेयेर गर्नुहोस
टीकापुर ०६ मंसिर /
स्थानीय तहले करको दर बढाउनुको साटो आन्तरिक स्रोतको दायरा बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८१ को अवसरमा टीकापुर नगरपालिकाले आयोजना गरेको आन्तरिक राजश्व अभिवृद्धिका लागि सम्भाव्य नयाँ स्रोतको खोजी, करको दायरा विस्तार र कर प्रशासनमा गर्नुपर्ने सुधार सम्बन्धमा सरोकारवाला बीचको अन्तरक्रिया कार्यक्रममा करको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिइएको हो । नागरिक समाज टीकापुरका संयोजक भीमराम चपाईले करका दर अस्वभाविक भएका कारण नागरिकहरू बर्सेनि मारमा पर्दै आएको बताएका छन् ।
उनले अस्वभाविक रुपमा नागरिकहरूले कर मात्रै तिर्नुपर्ने स्थिति आएका कारण बैंकबाट ऋण ल्याएर नागरिकहरू कर तिर्न बाध्य भएको बताएका छन् । “नागरिकहरूबाट प्राप्त करको सदुपयोग नभएकै कारण अहिले कर संकलनमा चुनौती आएको हो ।” उनले भने, “कम्तिमा नागरिकहरुमा कर तिर्नुपर्छ भन्ने भावनाको विकास गराउन जरुरी छ । उपलब्ध करको समुचित रुपमा सहि ठाउँमा प्रयोग हुनुपर्छ । अनि करको दर होइन दायरा फराकिलो बनाउन जरुरी छ ।” चपाईले कर संकलन गर्ने क्षमताको कुरा गर्दा नगरपालिका चुक्दै आएको बताए ।
पत्रकार एकिन्द्र तिमिल्सिनाले जनप्रतिनिधि र कर्मचारीहरुमा नैतिकता र नैतिक बल हराएकै कारण कर संकलन चुनौती बनेको बताए । आफुले खर्च गर्नेसम्मका स्रोतको सुनिस्चिता सबैले गर्न सक्नुपर्ने उनको धारणा छ । तिमिल्सिनाले कसैले म कर तिर्दैन भनेर उम्किन पाउने स्थिति नहुने भन्दै करको दायरालाई फराकिलो बनाएर दरमा हेरफेर गर्न आवश्यक रहेको बताएका छन् ।
टीकापुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष बलीराम चौधरीले सम्पत्ति करमा ठूलो कर छली हुँदै आएको बताएका छन् । कैयौंले कर तिर्नुपर्ने डरले करको छली गर्दै आएको बताउँदै त्यसको नियमन गर्न आवश्यक रहेको बताए । “आफ्नो सन्तान बाहिर जाँदा थोरैको पनि धेरै मुल्यांकन गरिदिन आग्रह गर्छन् । त्यो बेला जति पनि तिर्न समस्या हुँदैन ।” उनले भने, “भोली काम भैसकेपछि मेरो यति कर कसरी आयो भन्दै प्रश्न गर्छन् । समाजमा गएर ठुला कुरा गर्छन् । हाम्रा अगाडिको तितो यथार्थ यहीँ हो ।”
नगरकार्यपालिका सदस्य मञ्जु विकले आन्तरिक स्रोतलाई मजबुत बनाउनको लागि जनप्रतिनिधि र कर्मचारीहरुले जिम्मेवारीपूर्वक काम गर्न आवश्यक रहेको बताएकी छन् । उनले आफ्नो क्षेत्रलाई समृद्ध बनाउनुको साटो पावर सो गर्ने चलन हावी भएको बताइन् । अन्तरक्रिया कार्यक्रमको सहजीकरण गर्दै पत्रकार मातृकाप्रसाद तिमिल्सैनाले मुलुकले युवाहरूको वैदेशिक व्यापार गरिरहेको बताए । “जग्गा बाँझो छ, बाँझो जग्गाको कर तिर्नको लागि एउटा घरको व्यक्ति विदेश पुगेको छ ।” उनले भने,”त्यही जनताले तिरेको कर मोज मस्तिमा सकिन्छ, अनि जनताले किन कर तिर्ने भन्ने प्रश्न गर्दैनन् ?”
कार्यक्रममा बोल्ने अधिकांश वक्ताले सम्पत्ति करमा भएको अस्वभाविक वृद्धिलाई हेरफेर गर्दै घर जग्गाको मुल्यांकन सहि ढंगबाट हुनुपर्ने बताएका छन् । उनीहरूले जग्गाको मुल्यांकन निकै बढेको भन्दै कारोबारको मुल्यभन्दा सरकारी मूल्य निकै बढी हुँदा सेवाग्राहीलाई समस्या हुँदै आएको बताएका छन् । नगरपालिकाको राजश्व उपशाखा प्रमुख नन्द केसीले सञ्चालन गरेको कार्यक्रममा उपप्राध्यापक मीनबहादुर शाहीले पनि सहजीकरण गरेका थिए । उपशाखा प्रमुख केसीका अनुसार नगरपालिका चालू आर्थिक वर्षको कार्तिक मसान्तसम्म दुई करोड ५४ लाख २५ हजार ९ सय ६४ रुपैयाँ ६४ पैसा राजश्व संकलन गरेको छ । जुन वार्षिक लक्ष्यको ३३ दशमलव ७७ प्रतिशत हुन आउँछ । नगरपालिकाले चालू आर्थिक वर्षमा ७ करोड ५३ लाख २० हजार आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य लिएको छ ।