शेयेर गर्नुहोस
झलनाथ खनाल, टीकापुर ०७ जेठ /
कैलालीको जानकी गाउँपालिकाले निर्माण गरेको संरचना मध्येको एक महत्त्वपूर्ण संरचना हो कभर्डहल । वडा नं. १ दुर्गौलीमा निर्माण सम्पन्न भएको कभर्डहल गाउँपलिकाले निर्माण सम्पन्न भएको दुई वर्षभन्दा बढी भयो । विशेषगरी ब्याडमिन्टन खेलाडीहरुलाई लक्षित गरेर निर्माण भएको कभर्डहलमा ब्याडमिन्टनका दुईवटा कोड निर्माण भएका छन् । खेल प्रेमीहरुका लागि बस्ने व्यवस्था पनि छ । उसरी भन्दा सबै सुविधा कभर्डहलमा भित्र छ । तर, निर्माण सम्पन्न भएको कभर्डहल अझै पनि पुर्ण रुपमा सञ्चालन आउन सकेको छैन ।
तत्कालीन गाउँपालिका अध्यक्ष प्रदिप कुमार चौधरीको पालामा भएको महत्त्वपूर्ण काम मध्ये त्यो पनि एक हो । केही समयसम्म सञ्चालनमा आएको कभर्डहल यतिबेला पुर्ण रुपमा बन्द भएको छ । गाउँपालिकाले करिब दुई करोड लगानी गरेको कभर्डहल प्रयोगविहीन भएपछि स्थानीयले गाउँपालिकाको विरोध समेत गर्न थालेका छन् । “करोडौं लगानी भयो तर त्यसको सदुपयोग हुन सकेन । त्यहाँ लगानी भएको पैसा अन्य खेलकुद मैदान व्यवस्थापनमा खर्च भएको भए गाउँपालिका भित्रका सबै खेलाडीहरुलाई राम्रो हुन्थ्यो होला ।” स्थानीय समाजसेवी बपल बहादुर रावत भन्नुहुन्छ, “अहिले संरचना छ त्यसको काम छैन । सञ्चालन नभएरै जिर्ण हुने अवस्थामा कभर्डहल पुगेको छ । खेलाडीहरुले पनि कभर्डहलको प्रयोग गर्न पाएका छैनन् ।”
कभर्डहल निर्माणका लागि गाउँपालिकाले निर्माण कम्पनीसँग एक करोड ८४ लाखमा सम्झौता गरेको थियो । निर्माण कम्पनीले कभर्डहल निर्माण गरेबापत गाउँपालिकाबाट एक करोड ८० लाख भुक्तानी लिएको गाउँपालिकाका इन्जिनियर योगेन्द्र शाहले बताउनुभयो । उहाँकाअनुसार कभर्डहलको निर्माण कार्य सम्पन्न भएर २०७८ मंसिरमा गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो । “निर्माणको लागि गर्नुपर्ने प्रक्रिया हामीले पुरा गरेपछि त्यसलाई सञ्चालनको प्रक्रियामा लैजाने काम जनप्रतिनिधिहरुले गर्नुपर्ने हो ।” इन्जिनियर शाहले भन्नुभयो, “अहिले प्रयोगविहीन भएको कभर्डहलमा सञ्चालन ल्याउनुपर्छ भन्ने मान्यता हाम्रो पनि हो । अब त्यसको लागि जनप्रतिनिधिहरु लाग्नुभएको होला ।”
कभर्डहललाई गाउँपालिकाले गाउँ सभाको समयमा प्रयोगमा ल्याउने गरेको थियो । गाउँ सभा तथा कार्यपालिकाको बैठकहरु पनि पहिले त्यहीँ कभर्डहलमा हुनेगरेको भएपनि अहिले सो क्षेत्रमा होटल सञ्चालन भएपछि त्यहाँ हुने सभा तथा बैठकहरु भाडा तिरेर होटल केन्द्रित पनि भएका छन् । त्यसले गाउँपालिकाको व्ययभार बढाएको छ भने भएको संरचनाको सदुपयोग हुन सकेको छैन । गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले कभर्डहलको विषयमा अध्ययन समिती नै बनेको बताउनुभएको छ । उहाँले संरचनालाई कसरी प्रयोगमा ल्याउने भन्ने बारेमा वडा नं. ७ का वडा अध्यक्षको संयोजकत्वमा तीन सदस्यीय समितीले अध्ययन गरिरहेको बताउनुभयो ।
“समितिले अध्ययन गरिरहेको छ । त्यो अध्ययनको प्रतिवेदनमा आएको सुझाव अनुसार कभर्डहल व्यवस्थापन हुन्छ ।” अध्यक्ष चौधरी भन्नुहुन्छ, “कभर्डहलकै रुपमा सञ्चालन गर्ने कि अन्य कुनै फरक रुपमा कभर्डहललाई प्रयोगमा लैजाने भन्ने छलफल भैरहेको छ । बरु थप बजेट खर्च गरेर भएपनि आउँदो आर्थिक वर्षमा त्यसलाई कार्यान्वयनमा ल्याउने छौं ।” उता, कभर्डहलको अध्ययनकानका लागि बनेको समितिका संयोजक कमल महतोले समितिले काम सुरु नगरेको बताउनुभयो । उहाँले कभर्डहलको व्यवस्थापनका लागि खेलाडीहरुसँग समन्वय गरेर सञ्चालनमा ल्याउने की भनेर सोच बनाएको भएपछि प्रक्रिया अगाडि नबढेको बताउनुभएको हो ।
“समिति बनेको छ । तर समितिले त्यसको अध्ययन सुरु गरेको छैन । अब केही दिनमा सुरु गर्छौं ।” संयोजक महतो भन्नुहुन्छ, “सकेसम्म खेलाडीहरुसँग समन्वय गरेर त्यसको संरक्षण र सञ्चालनमा रहने गरी छलफल चलाउछौँ । त्यो छलफलले एउटा निष्कर्ष निकाल्छ होला ।”