कर्मचारीको चलाखी २५ गतेको हाँजिरी २४ गते नै

शेयेर गर्नुहोस


पदमराज जैशी, भजनी २५ वैशाख /
भजनी नगरपालिकाको वडा नं १ मा रहेको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा नगरपालिकाले अनुगमन गर्दा वैशाख २५ गतेको हाजिरी २४ नै गरेको भेटिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोजराज भट्ट सहितको टोलीले बैशाख २४ गते बिहीबार प्राथमिक स्वास्थ्य केन्द्रको आकस्मिक अनुगमन गर्दा त्यस्तो भेटिएको हो । अनुगमनको क्रममा अस्पताल प्रशासनको कामकारवाहीमा लापरवाही देखिएको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत दुई जना कर्मचारीले बैशाख २५ गतेको हाँजिरी एक दिन अगावै अर्थात २४ गते नै लगाएको पाईएको छ ।
कार्यालयका विपना कुमारी डँगौरा र एम्बुलेन्स चालक भोज राज केसीले एक दिन अगावै हाँजिरी गरेको फेला परेको हो । नाईट ड्युटी र २४ सै घण्टा प्रवाह गर्नुपर्ने खालका सेवा प्रवाह गरे वापत प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुले अतिरिक्त सुविधा पाउने गरेका छन् तर अनुगमनका क्रममा नर्सिङ्ग तर्फको बैशाख महिनाको नाईट ड्युटी रजिष्टर नै अस्पताल प्रशासनले देखाउन नसकेको बताइएको छ । “रेकर्ड र रजिष्टर मेन्टेन गर्नेजस्तो महत्वपूर्ण विषयमा कमजोरी देखिएको छ । प्रमुख प्रशासकिय अधिकृत भट्टले भने, “रेकर्ड व्यवस्थापन फितलो देखेपछी हामीले अस्पताल प्रशासनलाई तत्काल सुधार गर्न निर्देशन दिएका छौं । थप छलफलका लागि व्यवस्थापन टिमलाई नगरपालिकामा बोलाउने तयारी गरेका छौं ।”
अनुगमनका क्रममा अस्पतालमा विद्युतको समस्याले गर्दा X-Ray मेशिन र ल्याब तथा शब चिस्यान गर्ने मेशिन सञ्चालनमा समस्या आईरहेको समेत खुल्न आएको छ । नेपाल विद्युत प्राधिकरण भजनी वितरण केन्द्रले अस्पतालमा वितरण गरीरहेको विद्युतले लोड धान्न सक्ने अवस्था नरहेको हुँदा जेनेरेटरको भर पर्नु पर्दा सेवा प्रभावित हुन गएको र सो को कारण सञ्चालन खर्च बढीरहेको अस्पतालका स्वास्थ्यकर्मी एवं कर्मचारीहरुले गुनासो समेत गरेका छन् । भजनी नगरपालिकामा नेपाल विद्युत प्राधिकरणको सेवामा बारम्बार प्रश्न उठ्ने गरेको छ । हालसालै विद्युत प्राधिकरणको लापरवाहीका कारण नगरपालिकास्थित विभिन्न सरकारी कार्यालयहरुका विद्युतिय सरसामानहरुका साथै भजनी नगरपालिकाका विभिन्न स्थानमा विद्युतिय उपकरणहरुको क्षति भएको घटना सेलाउन नपाउँदै प्राथमिक स्वास्थ्य केन्द्रमा पनि विद्युत प्राधिकरणको लापरवाही रही आएको खुल्न आएको हो । ट्रान्सफर्मरको अभावमा प्राथमिक स्वास्थ्य केन्द्रको विद्युत व्यवस्थापन समस्याग्रस्त देखिएको अस्पतालका कर्मचारीहरुले बताएका छन् । यसअघि सिंचाईका लागि ग्रामिण विद्युतिकरण प्रयोजनार्थ नगरपालिका र विद्युत प्राधिकरणसंग भएको सम्झौता बमोजिम भजनी वितरण केन्द्रले अझै नगरपालिकालाई ट्रान्सफर्मर उपलब्ध गराउन सकेको छैन ।
प्रमुख प्रशासकिय अधिकृत भट्टले भने प्राथमिक स्वास्थ्य केन्द्र नगरपालिकाकै सबैभन्दा ठूलो एवं महत्वपूर्ण स्वास्थ्य संस्था भएको हुँदा यस विषयलाई प्राथमिकतामा राखी नेपाल विद्युत प्राधिकरण भजनी वितरण केन्द्रसंग समन्वय गरी समस्या समाधानका लागि पहल गरिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *